राष्ट्रपति भण्डारीद्वारा प्रज्ञा कविता महोत्सव पुरस्कार

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीद्वारा वाङ्मय शताब्दी पुरुष सत्यमोहन जोशी सम्मानित भएका छन् । नेपाल प्रज्ञा प्रतिष्ठानद्वारा ४ वर्षमा अर्पण गरिने राज्यकै सर्वाधिक गरिमामय पुरस्कार पृथ्वी प्रज्ञा पुरस्कारद्वारा वाङ्मय शताब्दी पुरुष जोशी सम्मानित भएका हुन् ।

पुरस्कारको राशि चार लाख रुपैयाँ नगदसहित दोसल्ला र सम्मानपत्र रहेको थियो । राष्ट्रपति भवन शीतल निवासमा आयोजित समारोहमा राष्ट्रपति भण्डारीले जोशीलाई सरकारी स्तरबाट प्रदान गरिने देशकै सर्वाधिक राशि र गरिमाको पृथ्वी प्रज्ञा पुरस्कार अर्पण गरिन् । उक्त समारोहमा नेपाल प्रज्ञा सामाजिक शास्त्र÷संस्कृति÷दर्शन पुरस्कार प्रा.डा. त्रिरत्ननारायण मानन्धरलाई प्रदान गरियो । प्रत्येक दुई वर्षमा अर्पण गरिने सो पुरस्कारको राशि एक लाख रुपैयाँ नगदसहित दोसल्ला र सम्मानपत्र रहेको थियो । नेपाल प्रज्ञा भाषा पुरस्कार प्रा.डा. टंकप्रसाद न्यौपानेलाई अर्पण गरियो ।

प्रत्येक दुई वर्षमा दिइने उक्त पुरस्कारको राशि रु. एक लाख, दोसल्ला र सम्मानपत्र रहेको थियो । नेपाल प्रज्ञा नेपाली साहित्य पुरस्कार (०७५) मदन रेग्मी, नेपाल प्रज्ञा नेपाली साहित्य पुरस्कार (२०७६) भागीरथी श्रेष्ठ, नेपाल प्रज्ञा मातृभाषा साहित्य पुरस्कार (०७५) पहाडी र हिमाली क्षेत्रमा बोलिने मातृभाषा साहित्यका लागि अमर तुम्याहाङ, नेपाल प्रज्ञा मातृभाषा साहित्य पुरस्कार (०७५) तराई–मधेसमा बोलिने मातृभाषा साहित्यका लागि अयोध्यानाथ चौधरी, नेपाल प्रज्ञा मातृभाषा साहित्य पुरस्कार (०७६) पहाडी र हिमाली क्षेत्रमा बोलिने मातृभाषा साहित्यका लागि अमृत योञ्जन तामाङ तथा नेपाल प्रज्ञा मातृभाषा साहित्य पुरस्कार (०७६) तराई–मधेसमा बोलिने मातृभाषा साहित्यका लागि अशोक थारूलाई अर्पण गरियो । उक्त पाँचवटै पुरस्कारको राशि रु एक लाख नगद, दोसल्ला र सम्मानपत्र रहेको थियो ।

सोही समारोहमा राष्ट्रपति भण्डारीले नेपाल प्रज्ञा प्रतिष्ठानद्वारा आयोजित राष्ट्रिय कविता महोत्सव– ०७६ का विजयी कविहरूलाई पुरस्कृत गरिन् । त्यस्तै, महोत्सवमा प्रथम स्थान हासिल गर्नेे धादिङका हेमप्रभासलाई रु ३० हजार, द्वितीय स्थान हासिल गर्नेे डोटीका सुभाषचन्द्र भण्डारीलाई रु २५ हजार, तृतीय स्थान हासिल गर्ने लमजुङका प्रज्वल अधिकारी, सोलुखुम्बुकी शान्ति शर्मा र काठमाडौंका प्रकाश बस्नेत गफाडीलाई जनही नगद २० हजार, सम्मानपत्र र पदक अर्पण गरिएको थियो ।

सो सम्मान पुरस्कार अर्पणपछि समारोहलाई सम्बोधन गर्दै राष्ट्रपति भण्डारीले वाङ्मय क्षेत्रको उननयनका लागि सम्मान र पुरस्कारले सहयोग गर्ने बताइन् । ‘प्रकृति र संस्कृतिसँग एकाकार गरी साहित्य सिर्जना गरेर राष्ट्रियतालाई मजबुत बनाउन सकिन्छ’ उनले भनिन्, ‘राजनीतिक परिवर्तनलाई कला र साहित्यले ऊर्जा प्रदान गर्नुपर्छ, प्राचीन संस्कृति बोकेको स्वाधीन मुलुकमा सुदृढ सहिष्णुता छ, त्यसलाई कायम राख्न साहित्य क्षेत्रले योगदान गर्नुपर्छ ।’

सोही क्रममा संस्कृति, पर्यटन तथा नागरिक उड्ययन मन्त्री योगेश भट्टराईले पूर्वीय सभ्यताले एकताको सन्देश दिएकोले अनेकौँ अप्ठ्याराबाट मुलुक जोगिँदै आएको बताए । एक सय २३ भाषा, अनेकौँ धर्म र संस्कृति भएको नेपाली राष्ट्रियताबाट संगठित भएको उनले उल्लेख गरे ।

नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति गंगाप्रसाद उप्रेतीले यसै साताभित्र महाकवि लक्ष्मीप्रसाद देवकोटाको निवासलाई संग्रहालयको रूपमा रूपान्तरण गर्ने अभियान सुरु हुने जानकारी दिए । उनले प्रज्ञा पुरस्कार र कविता महोत्सव पुरस्कारको गरिमाबारे उल्लेख गरेका थिए ।
सो समारोहमा प्रज्ञा प्रतिष्ठानका उपकुलपति डा. जगमान गुरुङले स्वागत मन्तव्य व्यक्त गरेका थिए ।

सदस्य सचिव प्रा. जगतप्रसाद उपाध्यायले प्रज्ञा पुरस्कार सम्बन्धी र प्राज्ञ परिषद् सदस्य, काव्य विभाग प्रमुख एवं कविता महोत्सवका संयोजक प्रा.डा. हेमनाथ पौडेलले राष्ट्रिय कविता महोत्सव–०७६ सम्बन्धी प्रतिवेदन प्रस्तुत गरेका थिए ।

त्यस्तै, वाङ्मय शताब्दी पुरुष जोशीले पुरस्कार प्राप्त गर्दाको अनुभूति व्यक्त गरेका थिए । पुरस्कृत कविहरूले आ–आफ्ना कविता सुनाएका थिए ।

प्रतिक्रिया