उपलब्धिमूलक साग

मुलुकका लागि अविस्मरणीय छाप छाड्दै १३औँ दक्षिण एसियाली खेलकुद प्रतियोगिता ( साग) मंगलबार सम्पन्न भएको छ । मंसिर १५ देखि १० दिनसम्म राजधानी काठमाडौं, गण्डकी प्रदेशको राजधानी पोखारा र प्रदेश २ को राजधानी जनकपुरमा सागका विभिन्न खेल सम्पन्न भए । अफगानस्थानबाहेक सार्क मुलुकमा आबद्ध सबै देशहरूको सहभागिता रहेको प्रतियोगिता नेपालका लागि विभिन्न दृष्टिकोणले उपलब्धिमूलक रहेको छ । पहिलो कुरा त नेपालले सफलतापूर्वक सागको आयोजना गरेको छ । केही अपवादबाहेक सहभागी विदेशी खेलाडीहरूले नेपालले प्रदान गरेको आतिथ्य तथा व्यवस्थापन प्रति सरहना गरेको छन् । दोस्रो कुरा नेपालले दोस्रो स्थान हासिल गरेको छ । अहिलेसम्म सम्पन्न भएका १३ वटा सागमध्ये नेपालले यति धेरै स्वर्णपदक प्राप्त गरेको पहिलो अवसर हो । ५१ स्वर्ण पदकसहित नेपालले दोस्रो स्थान हासिल गरेको छ । १३औं सागको आरम्भ हुँदै गर्दा राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव रमेश सिलवालले ५० वटा स्वर्णपदक पुर्याउने अपेक्षा गरेको बताइरहँदा धेरैले महत्वाकांक्षी भनेका थिए । नेपालले यसअघि साग आयोजना गर्दा राजधानी काठमाडौंबाहेक बाहिर लैजान सकेको थिएन, तर यसपटक राजधानी बाहिर पनि केही प्रतियोगिताहरू सम्पन्न भए । नेपाल भ्रमण वर्ष २०२० संघारमै आइरहेको सन्दर्भमा प्रचारप्रसारका लागि पनि १३औं सागले महत्वपूर्ण भूमिका निर्वाह गर्ने विश्लेषण गरिएको छ ।

साग आयोजनाका सन्दर्भमा केही व्यवस्थापकीय कमजोरी भएको छ । उपलब्धिलाई भन्दा व्यवस्थपकीय कमजोरीलाई कतिपय मिडियाहरूले प्रचारमा ल्याए । उपलब्धिलाई व्यवस्थापकीय कमजोरीले ओझेलमा पार्ने पो हो कि ? भन्ने चिन्ता पनि थियो, सौभाग्यवस् यस्तो हुन पाएन । आगामी दिनमा दोहोर्याउनै नहुने केही व्यवस्थापकीय कमजोरी भएका छन् । यस्ता कमजोरीलाई नेपाल खेलकुद परिषद्ले पाठका रूपमा लिनु जरुरी छ । १३औं सागको आयोजना गर्ने अवसर नेपालले अचानक प्राप्त गरेको होइन । नेपालले १३औं सागको आयोजना गर्ने कुरा आजभन्दा चार वर्ष अघि अर्थात् सन् २०१५ मै निक्र्योल भएको हो । यसअघि पनि केही प्रतियोगिता आयोजना गरिसकेका कारण यसपटक पूर्व तयारीका लागि पाएको चार वर्षको अवधि छोटो होइन । तर, पूर्वतयारीका धेरै काम अन्तिम अवस्थामा हतार हतार गरियो । उदाहरणका लागि उद्घाटनको मिति आउन तीन दिन बाँकी हुँदासमेत मुख्य खेल स्थान दशरथ रंगशालाको मर्मत सकिएको थिएन । अन्तिम अवस्थामा चीन सरकारलाई मर्मतको जिम्मा दिइएको थियो । पोखरा रंगशालाको हालत पनि त्यस्तै देखियो । राष्ट्रपति विद्या भण्डारीद्वारा उद्घाटन भएको दिनसम्मसमेत प्रतियोगिता हुने पौडी पोखरीमा पानीको व्यवस्था गरिएको थिएन । यस्तो अवस्थामा समेत नेपाली खेलाडीहरूले पौडी प्रतियोगितामा चार स्वर्णसहित धेरै पदकहरू दिलाए । आफ्नै थोत्रो साइकल र स्वीमिङ कस्टम लगाएर साइकलिङ प्रतियोगतामा भाग लिएकी सोनी गुरुङले स्वर्णपदक दिलाइन् । पेस्तोलकै आभावका कारण नेपाली सुटिङ खेलाडीहरूको महत्वपूर्ण समय तथा प्रयास खेर गयो । यस अघिका प्रतियोगितामा सुटिङमा पनि नेपाली खेलाडीहरूले स्वर्णसहित धेरै पदक दिलाएका थिए ।

उपलब्धिप्रति खुसी प्रकट गर्दै सरकारले पदक विजेता खेलाडीहरूलाई सम्मान तथा पुरस्कार प्रदान गरेको छ । खेलाडीहरूको हौसलाका लागि सरकारले देखाएको यो उदारता प्रसंसनीय छ । व्यवस्थापनमा कमजोरी नभएको भए नेपाली खेलाडीहरूले अझै धेरै स्वर्णपदक दिलाउने रहेछन् भन्ने कुरा पुष्टि भइसकेको छ । त्यसैले यो पाटोमा पनि सरकारले ध्यान दिनुपर्छ । जसरीपदक दिलाउनेहरूलाई पुरस्कारमार्फत हौसला प्रदान गरिएको छ । त्यसैगरी, व्यवस्थापकीय कमजोरी गर्नेहरूलाई दण्डित गर्दै निरुत्साहित बनाउनुपर्छ । त्यसका लागि छानबिन समिति बनाउनु आवश्यक छ । प्रतियोगितास्थलको मर्मत संभार समयमै किन हुन सकेन ? अभ्यास सामग्रीहरूको व्यवस्था समयमै किन हुन सकेन ? मन्त्रीहरूलाई दौरा सुरुवाल तथा कोटको प्रबन्ध गर्न सकिने तर खेलाडीहरूलाई मुलुकको नाम तथा राष्ट्रिय झण्डा अंकित ट्र्याक सुटको प्रबन्ध गर्न किन सकिएन ? भन्ने यथार्थ जानकारी सार्वजनिक गरिएन भने यस्ता कमीकमजोरी भावी दिनमा पनि दोहोरिन सक्छन् ।

प्रतिक्रिया