रोकियो कानुनको भर्ना

काठमाडौं । त्रिभुवन विश्वविद्यालयअन्तर्गत नेपाल ल क्याम्पसको शैक्षिक सत्र २०७५÷०७८ का लागि स्नातक तह प्रथम वर्ष (एलएलबी) को भर्ना प्रक्रिया पुनः रोकिएको छ ।

क्याम्पसले कोटा प्रणाली निर्धारण गरेर भर्ना प्रक्रिया सुरु गरेको भन्दै अनेरास्ववियु (क्रान्तिकारी), नेपाल विद्यार्थी संघलगायत विद्यार्थी संगठनले कानुन संकाय डीन कार्यालय, क्याम्पस प्रमुख, लेखा शाखामा ताला लगाएपछि प्रक्रिया रोकिएको हो ।

क्रान्तिकारीका क्याम्पस एकाइ अध्यक्ष दीपक थापाले सबै विद्यार्थीले पढ्न पाउनका लागि कोटा प्रणाली खारेजीको माग गर्दै तालाबन्दी गरिएको बताए । क्याम्पसले यही मंसिर १० गतेदेखि उक्त शैक्षिक सत्रका लागि भर्ना प्रक्रिया सुरु गरेको थियो ।

विद्यार्थी संगठनले यही मंसिर १५ गतेदेखि ताला लगाएका हुन् । क्याम्पस प्रमुख डा दिनानाथ पराजुलीले विद्यार्थीले तालाबन्दी गरेपछि भर्ना प्रक्रिया रोकिएको जानकारी दिए ।

‘सर्वोच्च अदालतको आदेश र त्रिवि कार्यकारी परिषद्ले ३ सय जना पढाउने गरी भर्ना प्रक्रियाको निर्देशन दिएपछि हामीले भर्ना प्रक्रिया सुरु गरेको हौ’, उनले भने, ‘तर विद्यार्थी संगठनले तोकिएको कोटाको विरोधमा ताला लगाएका छन् । हामीले कोटा तोकेका होइनौँ । आदेशलाई मात्र कार्यन्वयन गरेका हौँ ।’ त्रिवि कार्यकारी परिषद्ले कात्तिक २४ गते ल क्याम्पसलाई पत्र पठाउँदै ३ सयमा २ सय ४० खुला र ६० समावेशी कोटामा भर्ना गर्न निर्देशन दिएको थियो ।

उहाँले पटकपटक लाग्ने तालाबन्दीका कारणले शैक्षिक सत्र २०७५÷०७८ को पढाई अझै सञ्चालन हुन नसकेको बताए । अनेरास्ववियुका क्याम्पस एकाइ अध्यक्ष हरि पंगेनीले कोटा प्रणाली नभई प्रवेश परीक्षामा उत्तीर्ण सबै विद्यार्थीलाई भर्ना गर्नुपर्ने बताए । पछिल्लो समयमा एलएलबी पढ्ने विद्यार्थीको आकर्षण भएदेखि क्याम्पसमा विद्यार्थीको संख््या बढेको छ । शैक्षिक सत्र २०७४÷०७७ का लागि पनि क्याम्पसले ८ सय भर्ना गर्ने भने पनि पछि विद्यार्थी संगठनको दबाबका कारण करिब १० हजार ८ सय विद्यार्थी भर्ना गरेको थियो ।

प्रतिक्रिया