१३ लाखसहित बाबुछोरा पक्राउ

बाँके । सुन कारोवार गर्दै आएका बाबुछोरालाई प्रहरीले नेपालगन्ज–२, घरबारी टोलबाट पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय बाँकेले रु १३ लाखसहित सौरभ सोनी र विनोदकुमार सोनी पक्राउ गरेको हो ।

जिल्ला प्रहरी कार्यालय बाँकेका मुद्दा फाँट इन्चार्ज एवं प्रहरी निरीक्षक दीपक मल्लले उनीहरुका साथमा रहेको रकम अवैध भएको र उक्त रकमको स्रोतको खोजी भइरहेको बताए । प्रहरी निरीक्षक मल्लले सुन कारोवारमा संलग्न बाबुछोराको गतिविधिप्रति प्रहरीले पहिलेदेखि नै निगरानी गरिरहेको बताए । उनले भने, ‘शंका लागेपछि आज प्रहरी पिछा गरेका थियौँ, सोही क्रममा रु १३ लाख नगद रकमसहित बाबुछोरालाई प्रहरीले पक्राउ गरेका छौँ ।’

प्रहरी निरीक्षक मल्लले कुन स्रोतबाट रकम आएको भन्ने अनुसन्धानपछि मात्र खुल्ने बताए । यसअघि पनि नेपालगञ्जमा स्रोत नखुलेको रकमसहित केही व्यक्ति पक्राउ परिसकेको उनले जानकारी दिए । नेपाल र भारत सीमा क्षेत्रका सुन, हुण्डी जस्ता कारोवारमा संलग्नहरुले नेपाली तथा भारतीय अवैध रकम ओसापसार गर्दै आएका छन् ।

प्रतिक्रिया