मुख्यमन्त्री पौडेलद्वारा सोमेश्वरगढीको अवलोकन

भरतपुर । प्रदेश नं. ३ का मुख्यमन्त्री डोरमणि पौडेलले चितवन माडीस्थित सोमेश्वरगढी क्षेत्रको आज बिहान अवलोकन गरेका छन् । सो क्षेत्रमा कुँदिएका मूर्ति र निर्माणाधीन गोलपार्कको उहाँले अवलोकन गरेका हुन् । मुख्यमन्त्री पौडेलले नेपाल भारत सिमाना सोमेश्वरगढीस्थित रहेका स्तम्भ र त्यहाँको अवस्थाका बारेमा पनि जानकारी लिए ।

सो अवसरमा उनले माडी पर्यटकीय हब बन्ने बताए । उनले सोमेश्वर क्षेत्रमा कुँदिएका मूर्तिले पर्यटकलाई आकर्षित गर्ने भन्दै विश्वभर प्रचारप्रसार गर्नुपर्ने धारणा राखे । उनले प्रदेश सरकारले माडीको पर्यटन क्षेत्रको विकासका लागि सहयोग गर्ने प्रतिबद्धता पनि व्यक्त गरे ।

‘माडीमा निर्माण भइरहेका योजनाले विकासको गोरेटो कोरिएको छ, यसले दीर्घकालसम्म उत्तिकै महत्व राख्दछ’, उनले भने । पर्यटन प्रवद्र्धनका लागि प्रदेश सरकारका तर्फबाट माडीमै विशेष कार्यक्रम गर्ने प्रतिबद्धता पनि मुख्यमन्त्री पौडेलले जनाए ।

यसैगरी उनले माडीमा सुरु गरिएको सामूहिक खेती, मदन बाटिका पार्क, तटबन्धन र माछापोखरीको समेत अवलोकन गरे । सो क्रममा माडी नगरपालिकाका नगरप्रमुख ठाकुरप्रसाद ढकालले माडीमा निर्माण भइरहेका योजनाका बारेमा मुख्यमन्त्री पौडेललाई जानकारी गराएका थिए ।

प्रतिक्रिया