व्यावसायिक फुटसलको स्थापना

इलाम । इलाममा पहिलोपटक व्यवसायिक फुटसलको स्थापना भएको छ । युवा व्यवसायी रोशन राई र सुरेन्द्र राईले स्थापना गरेको इलाम स्पोर्ट सेन्टरद्वारा सञ्चालित फुटसलको मंगलबार औपचारिक उद्घाटन गरिएको हो ।  इलाम नगरपालिका प्रमुख महेश बस्नेतले एक समारोहकाबीच जिल्लामै पहिलो पटक स्थापित फूटसलको उद्घाटन गरे । उद्घाटनपछि संक्षिप्त मन्तव्य राख्दै नगरप्रमुख बस्नेतले जिल्लामा नयाँ खेललाई व्यवसायको रूपमा अगाडि बढाएको भन्दै व्यावसायिक सफलकताको कामना गरे । उनले फुटसललाई व्यवसायिक बनाउन आगामी दिनमा नगरपालिकाको तर्फबाट समेत आवश्यक सहयोग गर्ने प्रतिवद्धता जनाए ।

व्यवसायिक फुटसलका लागि इलाम नगरपालिका ९ काफ्ले गाउँमा सुविधासम्पन्न फुटसल कोर्ट निर्माण गरिएको छ । करिब एक करोड रुपैयाँको लागतमा सुविधासम्पन्न फुटसल कोर्ट निर्माण गरिएको इलाम स्पोर्ट सेन्टरका सञ्चालक रोशन राईले जानकारी दिए ।

२ रोपनी जग्गा १० वर्षका लागि लिजमा लिएर ट्रस्ट र कार्पेट लगाएर फुटसल कोर्ट निर्माण गरिएको छ । रातको समयमा समेत खेल्न सकिने गरी व्यवस्थापन मिलाइएको सञ्चालक राईले बताए । ‘इलाममा इन्डोर गेमको विकास र खेल पर्यटन प्रोत्साहनका लागि व्यवसायिक फुटसलको सुरुआत गरेका हौँ’ राईले भने, ‘बिजुलीको समेत उचित व्यवस्थापन गरिएको हुनाले २४ सै घण्टा खेल्न सकिनेछ ।’

प्रतिक्रिया