बन्यो शालिग्राम संग्रहालय

बागलुङ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले कालीगण्डकी नदीमा मात्र पाइने दुर्लभ एवं बहुमूल्य शिला संकलन गरी बनाइएको शालिग्राम संग्रहालयले विश्वको ध्यान तान्ने बताएका छन् ।

बागलुङ नगरपालिका–४ कुँडुलेस्थित श्रीरंंवेंकटेश मुक्तिनारायण मन्दिर परिसरमा भूमिगत ‘स्वामी श्रीधराचार्य शालिग्राम संग्रहालय’ को उद्घाटन गदै उनले अलौकिक शिला जम्मा गरी निर्माण थालिएकाले यसले विश्वको ध्यान तान्ने जिकिर गरे । उनले भने, ‘संग्रहालयले विश्वका धार्मिक पर्यटक आर्कषण गर्ने र लोप हुने अवस्थामा रहेका शालिग्रामको संरक्षण विश्वमै उदाहरणीय कार्य हो ।’ उनले सवालाख शालिग्राम एकै साथ दर्शन गर्न मिल्ने संरचना अन्त कतै नभएको दाबी गरे ।

‘कालिगण्डकी नदीमा मात्र पाइने शालिग्रामलाई संरक्षण आवश्यक थियो’, पूर्वप्रधानमन्त्री देउवाले भने, ‘निकै नौलो गरी संरक्षण थालिएकोमा म गौरवान्वित छु ।’ ६ करोडको लागतमा डेढ वर्ष लगाएर संग्रहालय बनाइएको हो । शालिग्राम संरक्षणसँगै पर्यटन प्रवद्र्धनको उद्देश्यले संग्रहालय निर्माण गरिएको मन्दिरका अध्यक्ष स्वामी ऋषि प्रपन्नाचार्यले बताए । निर्माण नसकिँदै संग्र्रहालय अवलोकनका लागि आन्तरिक पर्यटकको घुइँचो नै लाग्ने गरेको थियो ।

संग्रहालयमा सवा लाख शालिग्राम, गण्डकी सभ्यताको प्रतिरूप, धार्मिक पुस्तकालय, ध्यानस्थल र वृत्तचित्र प्रदर्शनी कक्ष बनाइएको छ । एक सय मिटर लामो सुरुङको प्रवेशद्वार नजिकै कृत्रिम भू–बनोटमा दामोदरकुण्डदेखि त्रिवेणीसम्मका धार्मिक तथा सांस्कृतिक सम्पदाको नमूना देखाइएको छ । संग्रहालयभित्र मुक्तिनाथ, मन्दिर, देवस्थल, हिमाल, नदीसँगै अन्य भौतिक संरचना निर्मित छन् । मुस्ताङमा पर्ने दामोदरकुण्ड कालीगण्डकी नदीको उद्गमस्थललाई समेत संग्रहालयमा सजाइएको छ ।

शालिग्राम र गण्डकी सभ्यता देखाउने नक्सांकनलाई सिसाभित्र सजाइएको छ । ६ करोडमध्ये एक करोड मात्र सरकारी निकायको सहयोग हो भने अन्य रकम व्यक्तिगत सहयोगबाट जुटाइएको हो । सुरुङको दायाँपट्टि एक सय १२ मानिस अट्ने वृत्तचित्र प्रदर्शनी कक्ष निर्माण गरिएको छ । त्यहाँ गण्डकी सभ्यताको महिमा झल्काउने र गण्डकी सभ्यतामाथि पछिल्लो समय भइरहेको अतिक्रमण देखाउने वृत्तचित्र प्रदर्शन गरिनेछ । संग्रहालय घुमेको सय रुपैयाँ शुल्क तोकिएको छ । विद्यार्थीले ५० को टिकटमा संग्रहालय घुम्न पाउनेछन् । उद्घाटनपछि औपचारिकरूपमा सर्वसाधारणका लागि संग्रहालय खुला गरिएको छ ।

प्रतिक्रिया