तुन्जीले जितिन् मिस युनिभर्स

एटलान्टा । यस वर्षको ब्रह्माण्ड सुन्दरी ‘मिस युनिभर्स’ को ताज दक्षिण अफ्रिकाकी २६ वर्षीया जोजिबिनी तुन्जीले हात पारेकी छन् । एटलान्टामा आइतबार सम्पन्न विश्व सुन्दरी प्रतियोगिताको फिनालेमा महिला सशक्तीकरणलाई मुख्य विषयवस्तु बनाएर उनले दिएको प्रस्तुतिका आधारमा तुन्जीले मिस युनिभर्सको ताज जितेकी हुन् ।

पुएर्टो रिको र मेक्सिकोका सुन्दरी पनि फाइनलमा पुगेका थिए । तुन्जीले आफ्नो समापन भाषणमा युवायुवतीलाई आत्मविश्वास महसुस गर्न सशक्त बनाउने बताएकी थिइन् । उनले भनेकी थिएन्, ‘म यस्तो संसारमा हुर्कें जहाँ मेरो जस्तो छाला र मेरो कपालको बनावट भएकी एउटी महिलालाई कहिल्यै सुन्दर मानिँदैन । मलाई लाग्छ, अब यस्तो समय रोकिएको छ ।’

एटलान्टाको टायलर पेरी स्टुडियोमा आयोजित प्रतियोगितामा तुन्जीले मिस युनिभर्सका लागि भेला भएका ९० भन्दा बढी प्रतियोगीलाई पछि पार्दै उपाधि सुरक्षित पारेकी थिइन् । फिलिपिन्सकी क्याट्रिओना ग्रेले तुन्जीलाई युनिभर्सको ताज लगाइदिएकी थिइन् । सन् २०१८ मा ग्रेले मिस युनिभर्सको उपाधि जितेकी थिइन् ।

प्रतिक्रिया