सम्पादकीय

किन निरुत्साहित भए साइकल यात्री ?

सौर्य अनलाइन २०७६ मंसिर २५ गते ६:४४ मा प्रकाशित

साइकल यात्रीलाई प्रोत्साहित गर्ने ललितपुर महानगरपालिकाको योजना निराशाजनक देखिएको छ । बागमती पुलदेखि कुपण्डोल, पुल्चोक, जावलाखेल हुँदै लगनखेलसम्म जोड्ने पहिलो चरणको साइकल लेनको उद्घाटन यही मंसिर १५ गते महानगरप्रमुख चिरिबाबु महर्जनले गरेका थिए । दोस्रो चरणमा लगनखेलबाट मंगलबजार र पुल्चोकबाट मंगलबजारसम्म पनि साइकल रुट निर्माण गर्ने घोषणा उनले गरेका थिए । तर, पहिलो चरणको प्रयास कार्यान्वयनमै समस्या देखिएको छ । मूल सडकमा सेतो धर्सो तानेर साइकल यात्रीका लागि छुट्याइएको लेनलाई अन्य सवारीसाधनहरूले अतिक्रण गरेका कारण समस्या उत्पन्न भएको हो । दक्षिण एसियाली खेलकुद प्रतियोगिता (साग) सम्पन्न हुनासाथ लेन अनुशासनमा कडाइ गरिने महानगरप्रमुख महर्जनले जनाएका छन् । ललितपुर महानगरपालिकाले आरम्भ गरेको यो अभियान सफल भयो भने काठमाडौंलगायत राजधानी उपत्यकाका अन्य पालिकाहरूले पनि अनुसरण गर्नेछन् । काठमाडौं उपत्यकाको वातावरण प्रदूषण नियन्त्रणका लागि यो प्रयास कोसेढुंगा साबित हुनेछ । तर, यो प्रयास सार्थक होला भन्ने कुरामा आशंका जीवितै छन् । केह वर्ष पहिले काठमाडौं महानगरपालिकाले पनि माइतीघरदेखि तीनकुनेसम्म दुवैतर्फ साइकल लेन बनाएको थियो, तर कार्यान्वयनमा आएन ।

राजधानी काठमाडौं उपत्यकाभित्र साइकल यात्रीहरू प्रोत्साहित हुन नसक्नुको मुख्य कारण अन्य सावारीसाधनहरूको पेलान नै हो । गति कम हुने भएकोले अन्य सवारी साधनहरूले साइकल यात्रीलाई पेल्ने गर्छन् । यसरी पेल्नुको कारण भनेको सडकको क्षमताभन्दा सवारीसाधनको संख्या कयौ“ गुणा धेरै हुनु हो । अत्यधिक सवारीसाधनका कारण यसै त सडक सा“घुरो भइरहेको अवस्थामा साइकल लेनका लागि दुवैतर्फ ४–४ फिटका दरले छुट्याइदिँदा झन् साँघुरो हुन पुग्यो । जामका फसेका सवारीसाधनहरूले साइकल लेनको अतिक्रमण गरे । दुवै साइडमा घर भएकोले मुआब्जा दिएर सडक फराकिलो बनाउन सजिलो छैन । साविककै सडकमा साइकल लेन बनाउन के कसरी सम्भव हुन्छ ? भन्ने अध्ययन जरुरी देखिएको छ । सम्भाव्यता अध्ययन तथा व्यापक गृहकार्यविना चालिएको कदमले सार्थकता नपाउने सम्भावना बढी हुन्छ ।

केही वर्षअघि एक अन्तर्राष्ट्रिय संस्थाले मुलुकका एक सय ७८ सहरको अध्ययन गरेको थियो । त्यसमध्ये हावाको प्रदूषणका हिसाबले नेपालको राजधानी काठमाडौं दोस्रो खतरनाक सहर भएको औँल्याएको थियो । चारैतिर पहाडले घेरिएको काठमाडौं उपत्यकाको भौगोलिक संरचना नै प्रदूषित वायु निकास हुन नसक्ने खालको रहेको वातावरण विज्ञहरूले औ“ल्याएका छन् । पर्यटनबाहेक काठमाडौं सहरसँग अर्को सम्भावना छैन तर वातावरण प्रदूषणको हालत यस्तो छ । उद्योग कलकारखानाका कारण काठमाडौंको वातावरण बिग्रेको होइन, यहाँ कलकारखानाहरू खासै छैनन् । काठमाडौंको वातावरण प्रदूषित हुनुको मुख्य कारण भनेको पेट्रोलियम सवारीसाधनहरू नै हुन् । पेट्रोलियम सवारीसाधन नियन्त्रणविना उपत्यकाको वायु प्रदूषण नियन्त्रण गर्ने अर्को उपाय छैन । पेट्रोलियम सवारीसाधन नियन्त्रणका लागि सबैभन्दा सस्तो विकल्प भनेकै साइकल यात्रीलाई प्रोत्साहन गर्नु हो । कार र मोटरसाइकलको विकल्पमा साइकल प्रयोग गर्ने हो भने वातावरण प्रदूषण नियन्त्रणको मामिलामा मात्रै होइन, मुलकको ठूलो रकम विदेसिनबाट बच्न सक्छ । तर, मुलुकका नीति निर्माताहरूले समयमै नसोच्दा साइकल यात्रुलाई प्रोत्साहन गर्न सकिने अवस्था कम छ । यस्तो प्रयास उपत्यकाभित्रको कुनै एउटा पालिकाले गरेर सम्भव हु“दैन । सबै पालिकाले चरणबद्धरूपमा साझा प्रयास गर्नु जरुरी छ । पहिलो चरणमा कुनै एउटा रुट साइकलकै लागि बनाउन सकिन्छ । हाल विस्तार भइरहेको चक्रपथमा साइकल रुटको व्यवस्था गर्न सकिने ठाउँ छ । यसैगरी, साइकल यात्रुहरू प्रोत्साहित हुन नसक्नुको अवस्था चोरी पनि हो । पार्किङ गरेर राखिएका साइकलहरू चोर्ने गिरोह सक्रिय छ । त्यसैले, सुरक्षाको प्रत्याभूति पनि त्यतिकै जरुरी छ । बा“धेर राख्न मिल्ने गरी ठाउँ ठाउँमा निःशुल्क साइकल पार्किङस्थल निर्माण गर्नु पनि त्यतिकै जरुरी छ ।

प्रतिक्रिया

पछिल्ला अपडेट्स

लोकप्रिय