जसरी खुले त्यसैगरी बन्द हुँदै

वीरगञ्ज । पर्साको ग्रामीण भेगमा फस्टाएको कुखुरापालन व्यवसाय अहिले संकटग्रस्त अवस्थामा छ । केही वर्ष पहिले धमाधम खुुलेका कुखुरा फार्म अहिले त्यसरी नै धमाधम बन्द हुँदै छन् । कुखुरापालन व्यवसाय संकटमा परेर बन्द हुन थालेपछि यो क्षेत्रमा अहिले भारतीय बोइलर कुखुराको वर्चस्व बढेको छ । लाखौँ रुपैयाँ लगानी गरी कुखुरापालन व्यवसाय गरेका किसानहरू चल्ला नष्ट हुने र भारतीय बोइलर कुखुराको अवैध आयात नरोकिएको कारण प्रतिष्पर्धा गर्न नसकी बन्द भएका हुन् ।

एक जना कुखुरा व्यवसायीले स्वदेशमा गुणस्तरीय चल्ला नपाउँदा पालिएका चल्लामध्ये ४०÷५० प्रतिशत नष्ट हुने गरेको र त्यसमा पनि भारतबाट अवैधरूपमा आयात भइरहेको बोइलर कुखुराको कारण सस्तोमा बिक्री गर्नुपर्ने अवस्था आएकोले घाटा बेहोरेर व्यवसाय गर्न नसक्दा बन्द गर्नुपरेको बताए । जिराभवानी गाउँपालिकाका कुखुरापालक गोविन्द महतो थारूले कमसल चल्ला र उत्पादित कुखुराको भाउ सधैँ उतारचढाव भइरहने कारणले किसानहरू मारमा परेको बताए ।

कुखुरा खरिद गर्ने दलालहरूको मोनोपोली रहेकोले लगानी अनुसारको आम्दानी नहुँदा घाटा बेहोर्नुपरेको बताए । सधैँ घाटा हुने गरेकोले व्यवसाय बन्द गरेको उनले बताए । जिराभवानी, ठोरी र जगरनाथपुर गाउँपालिकामा सञ्चालित कुखुरा फार्ममध्ये करिब ७५ प्रतिशत बन्द भइसकेको छ । तीन वर्ष पहिले चार लाख रुपैयाँ लगानी गरी कुखुरापालन गर्दै आएका किसान राजेश साह व्यवसायबाट घाटा भएर ऋणमा डुबेका छन् । उनले पीडा पोख्दै भने, ‘लगानी डुब्यो, दाना र चल्लाको तीन लाख रुपियाँ ऋण थाप्लोमा छ ।

’ तर, पर्साको एक मात्र चल्ला उत्पादक शिवम् ह्याचरीका मस्तकिम आलम चल्ला कमसल नभएको दाबी गर्छन् । उनले किसानहरूले चल्लालाई स्याहार गर्न नसकेको कारण मर्ने गरेको बताए । चल्लाको स्याहार राम्ररी नगर्दा नोक्सानी भएको उनको दाबी छ ।

पशुसेवा केन्द्र सेढवाका पशुचिकित्सक शिवचन्द ठाकुरले पनि लहडमा कुखुरा व्यवसाय गरिएको कारण घाटा बेहोर्नुपरेको बताएका छन् । उनले व्यवसायबारे अनभिज्ञ मानिसको सहभागिताले पर्साको कुखुरापालन व्यवसाय धराशयी भएको बताए । चल्ला र दानाको गुणस्तरीयता थाहा नहुनु, मात्राअनुरूपको पानी र औषधि नहुनु, खोर व्यवस्थापन नहुनु, आवश्यक तापक्रमको बारेमा व्यवसायीहरूलाई केही अनुभव नहुनु तर केवल उत्पादन बढी गरी मुनाफा खोज्ने प्रवृत्ति किसानहरूमा हावी रहेको उनले आरोप लगाए ।

ग्रामीण कुखुरा व्यवसायी संघका अध्यक्ष बालकृष्ण श्रेष्ठले केन्द्रीय सरकारले कृषिमा लगानी गर्ने नीति ल्याए पनि स्थानीय र प्रादेशिक सरकारले कुखुरापालन किसानहरूलाई कुनै किसिमको सहयोग तथा अनुदान नदिएका कारण पनि किसानहरू मारमा परेको बताए । उनले भारतीय कुखुराहरूको निर्वाध आयातको कारण अन्य जिल्लासरह पर्सामा किसानले नै मोल तोक्ने अवस्था नरहेकोले पनि व्यवसाय धरापमा परेको बताए । लगानी अनुसारको मोल किसानले तोक्ने र तोकेको दररेटमा कुखुरा बिक्री नहुन्जेल यो व्यवसाय सधैँ घाटामा गइरहने उनको तर्क छ ।

यसैगरी वीरगञ्जमा बोइलर कुखुराको मासु प्याजभन्दा सस्तो भएको छ । भारतले प्याज निकासीमा रोक लगाएपछि केही महिनादेखि अकासिएको प्याजको मूल्य अहिले खुद्रामा २ सय ५० रुपैयाा प्रतिकिलो पुगेको छ भने वीरगञ्जमा बोइलर कुखुराको मूल्य भने प्याजको मूल्यभन्दा कम भएको छ ।

एक सातादेखि बोइलर कुखुराको मूल्य निरन्तर घट्दैछ । दसैँताका ३ सय ६० रुपैयाा प्रतिकिलोसम्म पुगेको बोइलर कुखुरा एक सातादेखि २ सय ४० रुपैयाामा बिक्री भइरहेको छ । रानीघाट क्षेत्रमा भने १ सय ९९ रुपैयाा प्रतिकिलोमा बोइलर कुखुरा बिक्री भइरहेको छ । २१ मंसिरदेखि बोर्ड झुन्ड्याएर १ सय ९९ रुपैयाँमा बोइलर कुखुरा प्रतिकिलो बिक्री भइरहेको छ । यसैगरी, नगवामा २ सय २० र समग्र वीरगञ्जमा २ सय ४० रुपैयाँको दररेटमा बोइलर कुखुरा बिक्री भइरहेको छ ।

खुला सीमाको कारण भारतीय बजार इनर्वा, मैनाटाड, भंगहा तथा धुमाटाड जसौलीबाट नेपाली बजारमा भारतीय कुखुराहरूको खपत बढेको छ । दैनिक सयौँ साइकल, मोटरसाइकलबाट बोइलर कुखुरा र कटिङ मासु आयात भइरहेको छ । बढनियार, हरपुर, मनवा, रंगपुर लगायतका क्षेत्रमा अहिले भारतीय कुखुराको खपत बढी छ ।

प्रतिक्रिया