नेपालीको प्रतिव्यक्ति वार्षिक आयमा वृद्धि

काठमाडौं । शिक्षा, स्वास्थ्य एवम रोजगारीका क्षेत्रमा भएको सकारात्मक प्रयासले पछिल्ला २८ वर्षमा नेपालको प्रतिव्यक्ति कूल राष्ट्रिय आय १३० दशमलब पाँच प्रतिशतले वृद्धि भएको पाइएको छ । संयुक्त राष्ट्र संघीय विकास कार्यक्रम (यूएनडिपी)ले सार्वजनिक गरेको मानव विकास प्रतिवेदनअनुसार नेपालीको प्रतिव्यक्ति वार्षिक आयमा वृद्धि भएको पाइएको हो । उक्त प्रतिवेदन एक कार्यक्रमका बीच आज अर्थमन्त्री डा युवराज खतिवडाले सार्वजनिक गरे ।

उक्त प्रतिवेदनमा सन् १९९० देखि २०१८ बीचमा करिव १३०.५ प्रतिशत वृद्धि भएको उललेख छ । नेपालको मानव विकास सुचकाङ्क मूल्य र श्रेणी मानव विकास सुचकांक मूल्य सन् २०१८ का लागि ० दशमलव ५७९ छ । यसले देशलाई मध्यम मानव विकास सुचकाङ्क श्रेणीमा राखिदिएको छ जसमा १८९ देश र क्षेत्रमध्ये नेपाल १४७औँ स्थानमा रहेको छ । नेपालको हैसियत केन्याको बराबर रहेको छ । सन् १९९० देखि २०१८ सम्ममा, नेपालको मानव विकास सुचकाङ्क मूल्य ० दशमलव ३८० देखि ० दशमलव ५७९ वृद्धि भएको थियो । यूएनडिपीका अनुसार जुन समान ० दशमलव ५२ प्रतिशतले वृद्धि भएको देखिन्छ ।

सन् १९९० देखि २०१८ सम्ममा, नेपालमा जन्मदरको औसत आयु १६ दशमलव १, विद्यायल शिक्षाको मध्यम वर्ष २ दशमलव ८ वर्षले र विद्यालय शिक्षाको अपेक्षित वर्ष ४ दशमलव ७ वर्षले वृद्धि भएको छ । दक्षिण एशियाली मुलुकमध्ये भारत १२९औँ स्थानमा छ । भूटान १३४ स्थानमा रहँदा बङ्गलादेश १३५, पाकिस्तान १५२औँ स्थानमा रहेको छ । यूएनडिपीले अति उच्च मानव विकास सूचकाङ्क, उच्च मानव विकास सूचकांक, मध्यम मानव विकास सूचकाङ्क र न्यून मानव विकास सूचकाङ्कमा विभाजन गरेको छ । त्यसमध्ये नेपाल भने मध्यम मानव विकास सूचकाङ्कमा समावेश छ ।

मानव विकास सूचकाङ्कले मापन गरेझैं मानव विकास प्रगति दुई वा बढी देशबीचको तुलनाका लागि उपयोगी रहने देखिएको छ । सन १९९० देखि २०१८ सम्मको अवधिमा नेपाल, बङ्गलादेश र पाकिस्तानले आ–आफ्नो मानव विकास सूचकाङ्क वृद्धि गर्ने सन्दर्भमा छुट्टाछुट्टै तहको प्रगति हासिल गरेको प्रतिवेदनमा उल्लेख छ । नेपालको सन् २०१८ को ० दशमलव ५७९ को मानव विकास सूचकाङ्क मध्यम मानव विकास समूहका देशको औसत ० दशमलव ६३४ भन्दा न्यून छ र दक्षिण एसियाली देशको औसत ० दशमलव ६४२ भन्दा कम छ । दक्षिण एसियाको सन्दर्भमा, मानव विकास श्रेणी २०१८ र केही हदसम्म नेपाली जनसङ्ख्यासँग समानता राख्ने अफगानिस्तान र श्रीलङ्काको मानव विकास सूचकाङ्क श्रेणी १७० र १७१ मा समावेश छ ।

नेपालको औसत आयु साढे सत्तरी वर्ष रहँदा अफगानिस्तान ६५ दशमलव पाँच प्रतिशत र श्रीलङ्ककाको ७६ दशमलव आठ वर्ष रहेको छ । प्रतिव्यक्ति कूल राष्ट्रिय आय सन् २०११ मा प्रति व्यक्ति अनुपात अमेरिकी डलरमा नेपालको दुई हजार ७४८ रहँदा अफगानिस्तान एक हजार ७४६ र श्रीलङ्कका ११ हजार ६११ अमेरिकी डलर रहेको छ । असमानता समायोजन मानव विकास, सूचकाङ्क मानव विकास सूचकाङ्क र देशभित्रको मानव विकास उपलब्धिको आधारभूत गणना रहेको यूएनडिपीले जनाएको छ । सूचकाङ्कले देशको जनस्तरमा विद्यमान मानव विकास वितरणभित्र असमानताको अवस्था उजागर गर्छ ।

असमानता समायोजन मानव विकास सूचकाङ्क मुख्य गरी असमानता छुट दिने मानव विकास सूचकाङ्क हो । असमानताका कारण मानव विकासमा देखिने ‘नोक्सानी’ मानव विकास सूचकाङ्क र असमानता समायोजन मानव विकास सूचकाङ्कबीचको अन्तरले प्रस्तुत गर्ने प्रतिवेदनमा उल्लेख छ । असमानता समायोजन मानव विकास सूचकाङ्क १५० देशमा गणना गरिन्छ । श्रीलङ्काको असमानताका कारण १२.१ प्रतिशत नोक्सानी देखाएको छ । मध्यम मानव विकास सूचकाङ्क देशको औसत नोक्सानी २५ दशमलव ९ प्रतिशत रहेको छ, भने दक्षिण एसियाका लागि २५ दशमलव ९ प्रतिशत छ । नेपालको हकमा भने मानव असमानता गणाङ्क २४ दशमलव ९ प्रतिशत बराबर रहेको छ ।

बहुआयामिक गरिबी सूचकाङ्क मानव विकास सूचकाङ्क सन् २०१० देखि शुरु भएको हो । त्यसमा स्वास्थ्य, शिक्षा र जीवनस्तर समेटिन्छ । स्वास्थ्य र शिक्षाका आयाम दुई–दुई सूचकमा आधारित हुन्छन भने जीवनस्तरमा छ आयाम रहन्छन् । नेपालमा ३४ प्रतिशत जनसङ्ख्या बहुआयामिक गरिब छन् भने २२ दशमलव ३ प्रतिशत जनता बहुआयामिक गरिबीप्रति संवेदनशील भनेर वर्गीकरण गरिएको छ । नेपालमा अभावको आयातन ४३ दशमलव ६ प्रतिशत छ जो बहुआयामिक गरिबीमा रहेका व्यक्तिले अनुभूत गरेको औसत अभाव अङ्क रहेको यूएनडिपीको प्रतिवेदनमा समावेश छ । प्रतिदिन १.९० अमेरिकी डलर क्रय शक्ति अनुपातभन्दा न्यून अवस्थामा जीवनयापन गरिरहेका जनसङ्ख्यालाई बहुआयामिक गरिबीका रुपमा लिइन्छ । आय गरिबीको रेखाभन्दा माथि रहेका जनसङ्ख्याले स्वास्थ्य, शिक्षा र जीवनस्तरमा अभाव सामना गर्न पुगेका छन् ।

प्रतिक्रिया