खेल-खेलाडी

२० वर्षपछि बक्सिङमा दुई स्वर्ण

सौर्य अनलाइन २०७६ मंसिर २४ गते ७:५९ मा प्रकाशित

काठमाडौं । सागअन्तर्गत बक्सिङ खेलमा नेपालले २० वर्षपछि स्वर्ण पदक जितेको छ । सातदोबाटोमा सोमबार भएको खेलमा मीनु गुरुङ र भुपेन्द्र थापाले नेपाललाई स्वर्ण पदक दिलाएका हुन् । मीनुले महिला ५४ केजी तौल समूहमा भारतीय खेलाडीलाई अंकका आधारमा पराजित गर्दै स्वर्ण जितेकी हुन् । अघिल्लो संस्करणमा कांस्य पदक विजेता मिनुले फाइनल प्रतिस्पर्धामा श्रीलंकन र भारतीय खेलाडीलाई हराएकी हुन् ।

यसैगरी ६४ केजी तौल समूहमा भारतीय बक्सरलाई पराजित गर्दै थापाले पनि स्वर्ण पदक जितेका हुन् । उनले भारतका मनिष कौशिकलाई हराएर स्वर्ण जित्न सफल भएका हुन् । सन् २०१८ को कमन वेल्थ गेम्समा रजत पदक जितेका मनिषलाई हराउन पावरले पेलेरै जानुपर्ने रणनीतिमा आफू उत्रिएको उनले बताए । यसअघि नेपालले सन् १९९९ काठमाडौंमा भएको आठौँ सागमा बक्सिङतर्फ दुईवटा स्वर्ण जितेको थियो ।

सन् १९९९ मा नेपालका लागि प्रकाश थापा मगर र रामचन्द्र थापा मगरले स्वर्ण जितेका थिए । त्यतिवेला नेपालले बक्सिङमा दुईसहित ३१ वटा स्वर्णपदक जितेको थियो । त्यसैगरी महिला ४८ केजी तौल समूहमा ललिता महर्जनले रजत पदक हात पारिन् । उनी भारतकी श्रीनिभासन कालाइभानीसँग पराजित भएपछि रजतपदक चित्त बुझाएकी हुन् ।

प्रतिक्रिया

पछिल्ला अपडेट्स

लोकप्रिय