डिएसपीको सरुवा ! अवैध कारोबारीमा खुसीयाली

लहान । इलाका प्रहरी कार्यालय लहानका डिएसपी भेषराज रिजालको सरुवाको हल्लाले तस्करहरू खुसियाली मनाउन थालेका छन् । डिएसपी रिजाल आएपछि सात महिनादेखि सीमाक्षेत्रमा हुने तस्करी तथा अवैध कारोबार बन्द भएको छ ।

तेस्रो मुलुकको मटर, मरिच, छोहरा, अखरोट, स्याउलगायत विभिन्न मालसमान नेपालबाट भारत लैजान प्रहरीले अवरोध गरेको छ । उता, भारतबाट भन्सार छली गरी नेपाल ल्याउने मालसमान रोकिएपछि तस्करहरूको एक समूहले जिल्ला प्रहरी कार्यालय सिरहाका एसपी उमाप्रसाद चतुर्वेदीलाई सरुवा गर्ने प्रयास असफल भएको छ ।

सिरहाको मुख्य तस्करी हुने लहानदेखि ठाडी भन्सार, कचनारी, झाझपट्टीलगायतको ठाउँमा समेत कडाई रहँदा डिएसपी रिजाललाई लहानका केही उच्च व्यापारीले रिझाउन पुगेका थिए । डिएसपी रिजाल व्यापारीहरूको कुरामा सहमत नभई झन् कडा गरेका थिए ।

सीमाक्षेत्रको कारोबार तथा अवैध मालसमान आयात निर्यात गर्न जिल्ला उद्योग वाणिज्य संघले लहानको गोधुली होटल, बाटिका टुरिजम, उद्योग वाणिज्य संघ लहानमा पटकपटक छलफल कार्यक्रम गरे । त्यस छलफलमा नेपाली कांग्रेसका सांसद, सीमाक्षेत्रका जनप्रतिनिधि, उद्योगी व्यापारीले एउटै आवाज उठाएका थिए । सीमाक्षेत्रको कारोबार खुला गर्नुपर्छ । यस कारोबारको लागि एसपी चतुर्वेदी र डिएसपी रिजाल नै बाधक रहेको ठहर गरेका थिए ।

छलफलपछि एक टोली सत्तापक्षका नेताहरूलाई रिझाएर संघीय सरकारलाई यिनीहरूलाई सरुवा गर्न गराउन आग्रह गरेका थिए । एसपी चतुर्वेदीको सरुवाको हल्ला चले पनि इलाका प्रहरी कार्यालय लहानका डिएसपी भेषराज रिजालको काज सरुवा भएको छ । उता, डिएसपी रिजालसँग सम्पर्क गर्दा ‘किन सरुवा भयो मलाई थाहा छैन’ बताए । यता, केही नेताहरू, मेयर, वडाध्यक्षहरू र अवैध कारोबार गर्ने कारोबारी भने खुसी भएका छन् ।

प्रतिक्रिया