गाँजाको मूल्य बढेपछि पुनः खेती सुरू

पर्सा । जिल्लाको ठोरी गाउँपालिकाका केही क्षेत्रमा सुर्तीखेतीसँगै गाँजाखेती सुरू गरिएको छ । केही वर्ष पहिले पर्सा जिल्लामा गाँजाखेती उन्मूलन भए पनि यसपटक केही स्थानमा गाँजाखेती गरिएको पाइएको छ । स्रोतको अनुसार ठोरी गापा–४ अन्तर्गत विजयबस्ती, घ्याङडाँडा, फायरलाइन लगायतका क्षेत्रमा सुर्तीखेतीसँगै गाँजाखेती गरिएको छ ।

भारतीय सीमासँग जोडिएका सो क्षेत्रमा सुर्तीखेतीको बीचमा गाँजाखेती गरिएको हो । सुर्तीका ठूलठूला पातको कारण गाँजाको बिरुवा सजिलै देख्न सकिँदैन । सो क्षेत्रमा १०औँ बिघाभन्दा बढी जग्गामा गाँजाखेती भएको स्रोतले दाबी गरेको छ । विजयबस्तीस्थित प्रहरी चौकीदेखि सय–डेढ सय मिटर टाढाको सुर्तीखेतीभित्र गाँजाखेती भइरहेको स्रोतले जनाएको छ ।

त्यसैगरी, पटेर्वासुगौली गापाको सोनवर्षा, भतौडा, मधुवन मथवल जंगल क्षेत्रमा पनि गाँजाखेती गरिएको छ । जंगल क्षेत्रको अतिक्रमित भूभागमा अवैध गाँजाखेती गरिएको त्यहाँका बासिन्दाले जानकारी गराएका छन् । प्रहरीको टोलीले गतवर्ष सुर्तीखेतीभित्र लगाइएको तीन बिघा गाँजाखेती नष्ट गरेको थियो । यसपटक सूचना पाएर पनि प्रहरीले तदारूकता देखाएको छैन ।

जिल्लाबाट गाँजाखेती उन्मूलन भएपछि छिटपुटरूपमा गाँजाखेती हुन्थ्यो । मकवानपुर र धादिङमा उत्पादित गाँजा, चरेस जंगल क्षेत्र भएर पर्साका विभिन्न स्थानमा आउने र भारत जानेक्रम जारी छ । पर्सा जिल्लामा गाँजाखेती उन्मूलन भएपछि गाँजाको मूल्य आकासिएको छ । प्रतिकिलो २० हजारभन्दा बढी भएपछि पर्सा जिल्लामा यसको खेती सुरू भएको हो । मकवानपुर र धादिङबाट गाँजा आउन नरोकिएको र कारोबारमा लागेकाहरूले मनग्य आम्दानी गरेको देखेर जिल्लामा गाँजाखेती गर्ने आँट गरिएको हो ।

प्रतिक्रिया