वैज्ञानिक समाजवाद हुँदै साम्यवाद जाने

काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टीले पार्टीको विधान संशोधन गर्ने भएको छ । कार्यदिशामा देखिएको अस्पष्टतालाई सम्बोधन गर्न र वामदेव गौतमलाई उपाध्यक्ष बनाउने गरी विधान संशोधन गर्न लागिएको हो ।

नेकपाले अबको कार्यदिशा वैज्ञानिक समाजवाद हुँदै साम्यवादमा जाने उल्लेख गर्ने भएको छ । एक वर्ष अघि बसेको स्थायी कमिटी बैठकले पनि विधान संशोधनको प्रस्ताव अघि बढाएको थियो । त्यतिवेला पार्टीको राजनीतिक कार्यदिशा सामाजिक न्याय एवं लोकतान्त्रिक मूल्यसहितको समाजवादको आधार निर्माण पार्टीको तत्कालीन लक्ष्य तय गरिएको थियो ।

यसअघिको स्थायी कमिटीको निर्देशनलाई मान्दै पार्टी विधानमा केही संशोधन गरेको छ । त्यो संशोधनका विषयमा स्थायी कमिटीको निर्देशनको अतिरिक्त यसअघि सचिवालय बैठकमा नै भएका कतिपय निर्णयहरूलाई पनि आधार बनाई संशोधन प्रस्ताव तयार गरिनेछ । यो प्रस्ताव स्थायी कमिटी र आवश्यकताअनुसार केन्द्रीय कमिटीमा पेस गरेपछि कार्यान्वयनमा जानेछ ।

‘जनक्रान्तिका उपलब्धिहरूको रक्षा गर्दै शान्तिपूर्ण, संवैधानिक र लोकतान्त्रिक बाटोबाट मुलुकको सामाजिक–आर्थिक रूपान्तरण गर्नु र राष्ट्रिय पुँजीको विकास गर्दै सामाजिक न्याय एवं लोकतान्त्रिक मूल्यसहितको समाजवादको आधार निर्माण गर्नु यस पार्टीको तत्कालीन लक्ष्य हो’, पार्टीको अन्तरिम विधानको प्रस्तावनामा लेखिएको छ । तर, यसलाई परिमार्जन गरेर अब वैज्ञानिक समाजवाद हँुदै साम्यवादमा जाने संशोधन गरिने भएको छ ।

विधान संशोधनका लागि पार्टी स्थायी कमिटिको बैठक बोलाइएको छ । मंसिरको अन्तिम दुई दिन २९ र ३० गतेका लागि बोलाइएको बैठकमा विधान संशोधन गर्ने एजेन्डा तय गरिएको छ । सोमबार पार्टी कार्यालय धुम्बाराहीमा बसेको नेकपा सचिवालय बैठकले स्थायी कमिटिको बैठकमा विधान संशोधनको प्रस्ताव लैजाने निर्णय गरेको हो । प्रवक्ता नारायणकाजी श्रेष्ठका अनुसार नेकपाले पार्टीको कार्यदिशा परिवर्तन गर्न लागेको जानकारी दिए ।

‘पार्टीको कार्यदिशा वैज्ञानिक समाजवाद स्थापना गर्दै साम्यवादको दिशातिर अघि बढ्ने भन्ने राखिनेछ,’ श्रेष्ठले भने । तत्कालीन नेपाल कम्युनिस्ट पार्टी एमाले र माओवादी केन्द्रबीच एकता हुँदा लामो समयसम्म पार्टीको कार्यदिशा के हुने भन्ने बहस चलेको थियो । एमालेले नेता मदन भण्डारीले प्रतिपादन गरेको जनताको बहुदलीय जनवाद र माओवादी केन्द्रले एक्काइसौँ शताब्दीको जनवादलाई कार्यदिशा मान्दै आएका थिए ।

यसअघि स्थायी कमिटीले गरेको निर्देशन र सविचालय बैठकले गरेका निर्णयहरूलाई बल पुग्ने गरी विधान संशोधनको तयारी पार्टीले गरेको श्रेष्ठको भनाइ छ । ‘यसअघिको स्थायी कमिटीको निर्देशनलाई मान्दै पार्टी विधानमा केही संशोधन गरेको छ । त्यो संशोधनका विषयमा स्थायी कमिटीको निर्देशनको अतिरिक्त यसअघि सचिवालय बैठकमा नै भएका कतिपय निर्णयहरूलाई पनि आधार बनाई संशोधन प्रस्ताव तयार गरिनेछ’, प्रवक्ता श्रेष्ठले भने, ‘यो प्रस्ताव स्थायी कमिटी र आवश्यकताअनुसार केन्द्रीय कमिटीमा पेस गरेपछि कार्यान्वयनमा जानेछ ।’

नेकपाले पार्टीमा उपाध्यक्षको पद पनि थप्ने भएको छ । अहिलेको विधानको धारा १८ ले दुई अध्यक्ष, दुई वरिष्ठ नेता, एक प्रवक्ता र एक महासचिवसहित ४४१ सदस्यीय केन्द्रीय समितिको व्यवस्था गरेको छ । गत साउनमा बसेको सचिवालय बैठकमा अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डले नेता गौतमलाई उपाध्यक्ष बनाउने प्रस्ताव गरेका थिए । विधानमा उपाध्यक्षको व्यवस्था नै नभएकाले अनुमोदनका लागि स्थायी समितिको बैठकमा पठाउने सहमति भएको थियो ।

नेकपाले पार्टीको सदस्यता वितरण गर्ने तयारी पनि गरेको छ । लामो समयदेखि पार्टी सदस्यता वितरण रोकिएकाले त्यसलाई खुल्ला गर्ने तयारी गरेको छ । संगठन विभागले एक कार्ययोजनासम्बन्धि प्रस्ताव प्रस्तुत गर्दै सदस्यता वितरण गर्नेलगायतका विषय उल्लेख छ । ती विषयमाथि अध्यक्षद्वयले छलफल गरेपछि अर्को बैठकमा प्रस्तुत गर्ने निर्णय भएको प्रवक्ता श्रेष्ठले बताए ।

सचिवालयको अर्को बैठक मंसिर २७ गते बोलाइएको छ । सोमबार करिब तीन घण्टा बसेको सचिवालय बैठकले विभिन्न जिल्लाहरूमा संगठनात्मक क्षेत्रमा केही समस्याहरू देखापरेको भन्दै संगठनात्मक समस्याहरूको आवश्यक छानबिन र समाधान गर्न केन्द्रीय संगठन विभागलाई जिम्मेवारी दिइएको छ ।

यसैगरी, केन्द्रीय निकायहरू, अर्थात् केन्द्रीय सल्लाहकार कमिटी, केन्द्रीय निर्वाचन आयोग, ज्येष्ठ कम्युनिस्ट मञ्च, केन्द्रीय आयोगहरू र केन्द्रीय विभागहरूको पूर्णताका निम्ति प्रमुख र उपप्रमुखहरूले सात दिनभित्र त्यससम्बन्धी प्रस्ताव महासचिवमार्फत प्रस्तुत गर्ने र यसपछि बस्ने सचिवालयको बैठकले ती सबै निकाय र विभागहरूलाई पूर्णता दिने गरी निर्णय लिने भएको छ । बैठकले पार्टीको कर्णाली प्रदेशका सचिव मायाप्रसाद शर्माले दिएको राजीनामा अस्वीकार गरेको छ ।

प्रतिक्रिया