नेपाल फुटबलको फाइनलमा

काठमाडौं । नेपाल समूह विजेता बन्दै १३ औँ दक्षिण एसियाली खेलकुद (साग)अन्तर्गत पुरुष फुटबलको फाइनलमा प्रवेश गरेको छ । लिग चरणको अन्तिम खेलमा नेपालले बंगलादेशमाथि १–० को कठिन जित निकाल्दै स्वर्ण पदक नजिक पुगेको हो ।  लिग चरणमा अपराजित रहेको नेपालले अब स्वर्ण पदकका लागि अविश्वसनीय प्रर्दशन गर्दै आएको भुटानको सामना गर्नेछ । यद्यपि भुटान समूह चरणमा नेपालसँग ४–० गोल अन्तरले पराजित भएको थियो । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा आइतबार भएको लिग चरणको अन्तिम खेलमा नेपालले जित निकाल्न सफल भयो । फाइनल प्रवेशका लागि बराबरी नै पर्याप्त भए पनि शतप्रतिशत जित निकालेको हो । नेपालको जितका लागि सुनिल बल नायक सावित भए । सुनिलले पहिलो हाफको १९ औँ मिनेटमा गरेको गोल नै निर्णायक बन्यो । कप्तान सुजल श्रेष्ठको पासमा दोस्रो बार च्याप्दै हानेको बल गोलमा परिणत भएको थियो । नेपालले खेलको सुरुआतदेखि नै बंगलादेशलाई दबाबमा राखेको थियो ।

२६औँ मिनेटमा कप्तान सुजलको प्रहार गोलरक्षक अनिसुर रहमानले बचाउँदा नेपाल अग्रता दोब्बर पार्नबाट चुकेको थियो । ३०औँ मिनेटमा नेपालका गोलरक्षक विकेश कुथुले कर्नरबाट आएको बललाई पञ्च गरेर बचाइदिए । दोस्रो हाफमा बंगलादेशले नेपाललाई दबाबमा राखे पनि गोल भने गर्न सकेन । ५७औँ मिनेटमा सुनिलको प्रहार विपक्षी डिफेन्डरलाई लाग्दै दोस्रो बारबाट थोरै बाहिरिँदा नेपालले अग्रता दोब्बर बनाउनबाट चुक्यो । ६१औँ मिनेटमा बंगलादेशले बराबरीको सुन्दर मौका खेर फालेको थियो । रियादल हसनको प्रहार पोस्ट नजिकैबाट बाहिरिएको थियो ।

६५औँ मिनेटमा सुनिलको क्रसमा कप्तान सुजलको हेडर पोस्टबाट थोरै बाहिरियो । ७०औँ मिनेटमा गोलरक्षक अनिसुर रहमनले नियन्त्रणमा लिन नसकेको बललाई अभिषेक रिजालले खाली पोस्टमा गोल गर्न सकेनन् । उनको प्रहार आकासिएको थियो । नेपाल यस नतिजासँगै लिग चरणको विजेता बन्यो । लिगमा नेपालले ४ खेलमा १० अंक जोड्यो भने दोस्रो स्थानमा रहेको भुटानले ९ अंक हासिल ग¥यो । बंगलादेश ४ अंकसहित कांस्य पदकमा सिमित भयो । श्रीलंका र माल्दिभ्स २–२ अंकसाथ पुछारमा रहे । नेपालले अब मंगलबार हुने फाइनलमा भुटानको सामना गर्नेछ । नेपाल साग फुटबलको साविक विजेता पनि हो ।

प्रतिक्रिया