२१ फिट अग्लो बुद्धमूर्ति

काभ्रे । स्थानीय पर्यटनको प्रवद्र्धन गर्ने लक्ष्यका साथ बुद्ध मूर्ति निर्माण गरिएको छ । ‘भ्रमण वर्ष–२०२०’ लक्षित पर्यटकीय तथा बुद्ध धर्मावलम्बीको पवित्रस्थलका रूपमा विकास गर्न चौँरीदेउराली गाउँपालिका–८ विर्तादेउरालीमा अग्लो बुद्धमूर्ति बनाइएको हो । साङ्गे च्योम्दान्दे ह्युल्सा सेवा समाजले निर्माण गरेको उक्त मूर्ति एक्काइस फिट अग्लो छ ।

बुद्ध मूर्ति स्थापनापछि स्थानीय धर्म, संस्कृति तथा पर्यटन प्रवद्र्धनमा सहयोग पुग्ने भएकाले उक्त कार्य गरिएको समाजका अध्यक्ष स्थानीयवासी राम घिसिङले बताए । उनले कला, धर्म–संस्कारलाई जगेर्ना गर्नका लागि शान्तिको प्रतीकका रूपमा बुद्धको प्रतिमा बनाइएको जिकिर गरे ।

अध्यक्ष घिसिङले भने, ‘आउँदो भ्रमण वर्षमा पर्यटक लक्षित गर्दै अगावै बुद्धमूर्ति बनाएका हौँ ।’ मूर्ति निर्माणपछि समाजले हाल प्रचारप्रसार गर्दै पर्यटकलाई घुमाउने, स्थानीय कलासंस्कृति प्रदर्शन गर्ने तयारी गर्ने, घरबास (होमस्टे) व्यवस्थापनमा लाग्ने योजना बनाएको छ । पर्यटकलाई विर्तादेउराली पु¥याउन सडक स्तरोन्नतिसँगै पुष्पलाल लोकमार्ग हुँदै जाने ट्रेकिङ रूट तयार गरिने समाजका अध्यक्ष घिसिङले बताए ।

समाजले ३२ लाखको लागतमा मूर्ति निर्माण गरेको हो । समाजले आउँदो वर्ष विर्तादेउरालीमै दृश्यावलोकन स्तम्भ र हजार सिँढी बनाउने योजना बनाएको घिसिङले बताए । उनका अनुसार बुद्धमूर्ति निर्माणपछि स्थानीय बुद्ध धर्मावलम्बीमा धर्मप्रति आस्था बढ्ने विश्वास गरिएको छ । गाउँपालिका अध्यक्ष दीननाथ गौतमले बुद्धमूर्ति गाउँपालिकाको पर्यटकीय सम्पत्तिका रूपमा विकसित भएको बताए ।

उनले भने, ‘यसले भ्रमण वर्षलाई थप ऊर्जा प्रदान गर्नेछ, हामी मूर्ति भएको स्थललाई पर्यटकीयस्थलका रूपमा विकास गर्नेछौँ ।’ वडाध्यक्ष धनबहादुर लामाले स्थानीय उत्पादनलाई समेत पर्यटनसँग जोडेर लैजान मूर्ति निर्माण कार्यले सहयोग पुग्ने विश्वास व्यक्त गरे ।

मूर्ति स्थापनाको प्रदेश ३ को उद्योग पर्यटन, वन तथा वातावरणमन्त्री अरुण नेपालले एक कार्यक्रमबीच अनावरण गरे । कार्यक्रममा काभ्रेस्थित प्रतिनिधिसभा सदस्य नवीना लामा, प्रदेश ३ का सदस्य रत्न ढकाल, पूर्वराज्यमन्त्री सूर्यमान दोङ लगायतले नेपाल सरकारले घोषणा गरेको नेपाल भ्रमण वर्ष–२०२० सफल बनाउन स्थानीय कला तथा संस्कृतिले महत्वपूर्ण सहयोग पु¥याउने धारणा राखे ।

प्रतिक्रिया