घरवासको आकर्षण ‘लाठीनाच’

नवलपरासी । नवलपुरमा थारू समुदायले सञ्चालन गरेको घरवास पर्यटनको प्रमुख आकर्षण लाठीनाच(लठ्ठीनाच) हुने गरेको छ । लठ्ठीलाई एकार्कामा जुधाएर र घुमाएर नाचिने यो नाच यहाँ आउने पर्यटकका लागि आकर्षण बन्ने गरेको छ ।

यहाँका अमलटारी घरबास, बोटे घरबास, पिप्रहर घरबासलगायतका घरबास पर्यटन चलेको छ । थारू, बोटे, माझी र मुसहर समुदायले सञ्चालन गरेका ती घरबासमा आउने पर्यटकलाई यहाँ प्रस्तुत गरिने लाठीनाच आकर्षण बन्ने गरेको छ । यहाँ सञ्चालित घरबासमा १५÷२० जनाको लाठीनाच देखाउने युवासमूह नै छ । प्रायःजसो घरवासमा आउने पाहुनालाई यही युवासमूहले लाठी नाच देखाउने गर्छ ।

समुदायमा हराउँदै जान थालेका विभिन्न परम्परागत कलासंस्कृतिको संरक्षणमा समेत घरबास पर्यटनले भूमिका खेलेको छ । सो समुदायको परम्परागत नृत्य पर्यटक आकर्षणको केन्द्रविन्दु बन्ने गरेको छ । ‘हामीले लाठीनाच देखाउँदा पाहुनाहरूले रमाइलो मान्ने गर्नुभयो, स्वदेशी मात्र होइन विदेशी पाहुनाले समेत यो नाचमा आनन्द लिएको महसुस ग¥यौँ, यसले हामीलाई थप हौसला मिल्यो’, अमलटारी घरवास सांस्कृतिक समूहका सदस्य छन्नुराम महतोले भने, ‘त्यसपछि हामीसँगै नाच देखाउने अन्य धेरै समूह तयार भए ।’

युवाहरू अहिले विभिन्न समूह निर्माण गरी घरवासमा आउने पाहुनालाई लाठीनाच प्रस्तुत मात्रै गर्दैनन्, जिल्लामा हुने अन्य विभिन्न कार्यक्रममा पनि सहभागी हुन्छन् । हेर्नका लागि निकै मनोरञ्जनात्मक हुने हुँदा अहिले जिल्लामा हुने अन्य धेरैजसो कार्यक्रममा लाठीनाच प्रस्तुत गर्ने गरिएको छ । लाठीनाच थारू समुदायको संस्कृति संरक्षणका साथै आम्दानीको माध्यम समेत भएपछि यसमा लाग्ने युवाको समूह दिनप्रतिदिन बढ्दै गएको अमलटारी घरवासका व्यवस्थापक धनिराम गुरौंले बताए ।

घरवासमा आउने पर्यटकले रुचिका साथ नाच हेर्न खोजेपछि झण्डै लोप हुने अवस्थामा पुगेका थारू, बोटे, माझी र मुसहर समुदायको संस्कृति संरक्षणमा समेत सहयोग पुगेको उनले बताए । सो समुदायमा नाचिने झर्रा, मेडरी, ठेकरी, घैला, झाम्टा, डम्फु र झुम्रा नाच मुख्य हुन् । झर्रा, ठेकरा, मेडरीजस्ता नाचमा पनि लाठी नचाउने गरिन्छ ।

झर्रानाचमा ठूला लठ्ठीको प्रयोग हुन्छ र बलपूर्वक जुधाउने गरिन्छ । ठेकरामा सानो बाँसको लठ्ठी जुधाएर नचाउने गरिन्छ । लठ्ठीको केही भाग साना साना चिरा पारिएको हुन्छ र यसलाई जुधाउँदा आवाज निस्कने गर्छ । ठूलाठूला मादल वा ढोलकको तालमा लठ्ठी जुधाउने गरिन्छ । प्रायः थारू बस्ती जंगल छेउमा हुने हुँदा आफ्नो सुरक्षाका लागि लठ्ठीको प्रयोग गरिथ्यो ।

आफ्नो सुरक्षसहित जंगली जनावरबाट खेतीबाली जोगाउन लठ्ठीको प्रयोग गर्ने गरिएकामा सामान्य तरिकाले सुरक्षा नहुने भएपछि लठ्ठीलाई कसरी कलात्मक र रक्षात्मक रूपमा मजबुत तरिकाले खेलाउन सकिन्छ भनेर लठ्ठी खेलाउने गरिएको हो । पछि यो नाचका रूपमा विकास हुँदै गएको कावासोतीका थारु अगुवा गणेशमान महतोले बताए । उनका अनुसार पहिला रक्षात्मक रूपमा लठ्ठी चलाउन सिकाउने गरिथ्यो ।

अहिले यसलाई बाजासँग जोडेर नाच्ने गरिएको छ । बाजाको तालमा लठ्ठी नचाउँदा रमाइलो हुन थालेपछि लाठीनाचको रूपमा विकास भएको छ । ‘स्टिक डान्स’ बाट घरबासमा आउने पाहुनालाई मनोञ्जन प्रदान गर्नाका साथै आम्दानी र सस्कृतिको संरक्षणमा समेत टेवा पुगेको महतोले बताए ।

प्रतिक्रिया