स्वर्णमा गौरिकाको ह्याट्रिक

काठमाडौं । १७ वर्षीया गौरिका सिंहले दक्षिण एसियाली खेलकुद (साग) मा तेस्रो स्वर्ण पदक जित्दै नयाँ इतिहास रचेकी छन् । सागको एकै संस्करणमा तीन स्वर्ण जित्ने कीर्तिमान कायम गरेकी हुन् ।

गौरिकाकै प्रर्दशनका कारण सागमा नेपालले ३४ वर्षपछि पहिलो पल्ट स्वर्ण पदक जितेको थियो । सातदोबाटोस्थित हिटिङ स्टिमको नयाँ इन्डोर स्विमिङ हलमा गौरिकाले चार सय मिटर फ्रिस्टाइलमा जित हासिल गर्दै तीन स्वर्ण जित्न सफल भएकी हुन् । उनले निर्धारित दुरी ४ मिनेट २५ दशमलव २८ सेकेन्डमा पूरा गर्दै भारतकी सिवांगी शर्मालाई पछि पारिन् ।

सिवांगीले ४ मिनेट २६ दशमलव २२ सेकेन्डमा दुरी पुरा गरिन् । तेस्रो स्थान हासिल गरेकी श्रीलंकाकी रामुदी नुदाराले ४ मिनेट ४१ दशमलव ९१ सेकेन्डमा दुरी पूरा गरिन् । १३ औँ सागमा गौरिकाको तेस्रो स्वर्ण हो । यसअघि उनले २ सय मिटर ब्याकस्ट्रोक र २ सय मिटर रिलेमा पनि स्वर्ण जितेकी थिइन् । जारी सागमा यो नेपालले जितेको ४५ औँ स्वर्ण पदक हो ।

गौरिकाले १ सय मिटर ब्याकस्ट्रोकमा रजत र ४ बाइ १ सय मिटर फ्रीस्टाइल रिलेमा कांस्य हात पारेकी थिइन् । उनले आइतबार ५० ब्याकस्टोकमा भने रजतमै चित्त बुझाउनु पर्यो । यसअघि उनले सय मिटर ब्याकस्टोकमा पनि रजत नै जितेकी थिइन् । आइतबार गौरिकासहितको नेपाली टिमले ८ सय मिटर फ्रिस्टायल रिलेमा कांस्य जितेको छ । यसअघि नेपाली महिला टिमले चार सय मिटर फ्रिस्टायल रिलेमा पनि कांस्य जितेको छ । आइतबारसम्ममा गौरिकाले पदक संख्या ७ पु¥याएकी छिन् ।

सन् २०१६ मा भारतमा भएको सागमा उनले ४ पदक जितेकी थिइन् । जसमा १ रजत र ३ कांस्य समावेश थिए । गौरिकाले सागमा समग्रमा ३ स्वर्ण, ३ कांस्य र ५ रजत जित्दै इतिहास कोरिसकेकी छिन् । यससँगै गौरिकाले नेपाली खेलकुदको इतिहासमा एकै संस्करणमा सर्वाधिक सफल खेलाडी बन्ने कीर्तिमान कायम गरेकी छिन् । समग्रमा सर्वाधिक सफल खेलाडी भने तेक्वान्दोका दीपक विष्ट रहेका छन् । उनले सागमा ४ स्वर्ण जितेका छन् ।

प्रतिक्रिया