अटोले असुल्छन् मनपरी भाडा, हुँदैन कारवाही

सुर्खेत । कर्णाली प्रदेशको राजधानी भएसँगै सुर्खेतको वीरेन्द्रनगर शहरमा चहल–पहल बढेको छ । दैनिक रुपमा चहलपहल बढेसँगै कतिपयले त वीरेन्द्रनगरलाई प्रदेश राजधानीसँगै व्यस्त शहरको रुपमा परिभाषित गरिरहेका छन् । हाल वीरेन्द्रनगरमा आवतजावत गर्नेहरुको संख्या पनि एकदमै बढिरहेको छ ।

आन्तरिक रुपमा सुर्खेत उपत्यकाभित्र यात्रा गर्नेहरु यातायातको सजिलो माध्यम अटोरिक्सा रोज्ने गर्दछन् । विभिन्न सरकारी कार्यालयको काम, व्यापार र रोजगारी गर्नेहरु वीरेन्द्रनगरका विभिन्न स्थानबाट अटोरिक्सामा आवतजावत गर्ने गर्छन । अटोरिक्साका कारण कतिले त राजगारी पनि पाएका छन्, तर पछिल्लो समय वीरेन्द्रनगरमा अटो व्यवसायीले मनपरी भाडा असुल्ने गरेको पाइएको छ ।

वीरेन्द्रनगरका विभिन्न स्थानमा जानै एक हजारभन्दा बढि भाडा असुल्ने गरेको पाइएको हो । वीरेनद्रनगर नगरपालिकाको एक वर्षअघिको तथ्यांकअनुसार वीरेन्द्रनगरमा नौ सयभन्दा बढि अटो रिक्सा रहेका छन् । पछिल्लो समय अटोरिक्सा किन्नेको संख्या बढिरहेकोले उक्त संख्या हाल एक हजार नाघिसकेको छ ।

यसअघि नगरपालिकाले अटारिक्सा व्यवस्थापन सम्बन्धि निर्देशिका पारित गरिसकेको छ । नगरपालिकाले गएको ०७५ असोजमै कार्यविधि बनाए पनि अटो रिक्सा व्यवसायीहरुले उक्त कार्यविधि अनुसार नचलेको पाइएको हो । नगरपालिकाले निकालेको निर्देशिका बुँदा नं ७ मा अटो रिक्सा चालकहरुले पालना गर्नुपर्ने नियमहरु स्पष्ट उल्लेख गरिएको छ । तर अधिकांश अटो रिक्सा चालकहरुले उक्त नियम नमानेको स्थानियहरुले गुनासो गरेका छन् ।

‘निर्देशिकामा सवारी चलाउँदा गित बजाएर चलाउन नपाइने भनिएको भएपनि उनिहरुले मज्जाले गित घन्काएर हिडिरहेका छन् । उनिहरुको कसैले अनुगमन पनि गरेको छैन । कारवाही पनि गरेको छैन, वीरेन्द्रनगर ६ का एक व्यापारीले भने ।’ कार्यविधिमा लेनअनुसार अटो चलाउनुपर्ने भनिएको छ तर सडक खाल्डाखुल्डी भएको कारण देखाउँदै क्याम्पसलाइनदेखी हटियाचोकसम्म र घण्टाघरदेखि नगरपालिका कार्यालय हुदै जाने सडकमा गलत लेन र सडक बाहिरबाट धुलो उडाउँदै अटो गुड्ने गरेको एक विद्यार्थिले गुनासो गरे । नगरपालिकाको निर्देशिकामा स्थान अनुसारको भाडादर उल्लेख गरी अनिवार्य सवारीमा टाँस गर्नुपर्ने भनिएपनि अधिकांश अटो व्यवसायीहरुले सुनुवाई गरेका छैनन् । बरु यात्रु हेरेर आफु मनपरी भाडा असुल्ने गरेका छन् ।

यसको कतैबाट अनुगमन नहुँदा उनिहरुलाई कारबाही नभएको हो । निर्देशिका अनुसार पिच सडकमा यात्रा गरेवापत प्रत्येक यात्रीमा न्यूनतम रु. २० र त्यसपछि प्रति किलोमिटर थप रु. ५ का दरले भाडादर कायम हुनेछ भने कच्ची सडकमा सवारी साधनमा यात्रा गरे वापत प्रत्येक यात्रीमा न्यूनतम रु. २० र त्यसपछि प्रति किलोमिटर थप रु. १० का दरले भाडादर कायम हुने उल्लेख गरिएको छ । तर स्थानियका अनुसार वीरेनद्रनगरमा संचालित अधिकांश अटोरिक्साहरुले यो निर्देशिका पालना नगरी मनपरी भाडा असुलिरहेका छन् ।

मनपरी भाडा असुल्नेलाई नगरपालिकाको उक्त निर्देशिकाको नियम १० को उपनियम (२) मा तत्काल ट्राफिक प्रहरीले नियमानुसार जरिवाना गर्नेछ, सो रकम तत्काल बुझाउन नसक्नेलाई २४ घण्टाभित्र सम्बन्धित नगर कार्यालयमा पठाउनुपर्नेछ । नगरले कसुर खुलाई ट्राफिक प्रहरीको पूँजीको आधारमा पहिलो पटक रु. १५००।– दोस्रो पटक रु. २०००।– तेस्रो पटक रु. २५००।– र त्यसपछि पटकै पिच्छे दोब्बर जरिवाना गरी सचेत गराउन सक्नेछ भनि उल्लेख गरिएको छ ।

‘मान्छे अनुसार भाडा माग्छन । मलाई पनि पहिले क्याम्पसरोडदेखि हटियासम्मको ४० रुपैयाँ लिन्थे । अचेल म बार्गेनिङ गर्छु । मसंग २० रुपैयाँ लिन्छन् । मसंगै यात्रा गरेका कसैसंग ५० रुपैयाँसम्म असुल्छन् ।’ दैनिकजसो अटोरिक्सामा आवतजावत गरिरहेको बताउने एक यात्रुले भने, ‘नयाँ मान्छे जस्तो देखे भने १०० रुपैयाँ भन्दा कम भाडा लिदैनन् ।’

अर्का एक व्यक्तिका अनुसार अटेरिक्साले पहिले त नयाँ मान्छे र अलि पाँच दश किमि जानुपर्ने भए रिजर्व गर्नुपर्छ भनेर पाँच सय माग्थे तर अचेल त एक हजारभन्दा कम भन्दैनन् । वीरेन्द्रनगरमा अटोरिक्साको मनपरी भाडा असुल्ने प्रवृत्तिले गर्दा स्थानियमा मार परेको छ । अटोरिक्सा सम्बन्धी निर्देशिका बनाएको नगरपालिकाले त्यसको कार्यान्वयनको अनुगमन गरेको छैन । वीरेन्द्रनगर नगरपालिकाले उक्त निर्देशिका अटो व्यवसायीले माने नमानेको ट्राफिक प्रहरीले अनुगमन गर्ने भनि उल्लेख गरेपनि त्यसतर्फ ट्राफिक प्रहरीको ध्यान गएको छैन ।

प्रतिक्रिया