हवाई क्षेत्रको सुरक्षा र गुणस्तर प्राथमिकतामाः मन्त्री भट्टराई

काठमाडौँ । डिसेम्बर ७ अर्थात अन्तरराष्ट्रिय नागरिक उड्डयन दिवस आज नेपालमा पनि विविध कार्यक्रम गरी मनाइयो । दिवसका सन्दर्भमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय, नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) ले हवाई सुरक्षाबारे गोष्ठी, प्रभातफेरी, झण्डोत्तोलनलगायत कार्यक्रम आयोजना गर्यो ।

यसै अवसरमा बिहान सिनमामङ्गलबाट त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलसम्म प्रभातफेरि गरियो । प्रभातफेरिमा पर्यटनमन्त्री योगेशकुमार भट्टराई, पर्यटन मन्त्रालयका उच्च अधिकारी, क्यानका महानिर्देशक राजन पोखरेललगायत मन्त्रालय, क्यान, विमानस्थल र नेपाल वायु सेवा निगमका कर्मचारी एवं पर्यटन व्यवसायीको सहभागिता थियो ।

अन्तरारष्ट्रिय विमानस्थलको टर्मिनल परिसरमा पर्यटनमन्त्री भट्टराईले नेपालको राष्ट्रिय झण्डा र आइकाओको झण्डोत्तोलन गर्नुभयो । सो अवसरमा मन्त्री भट्टराईले नेपालको हवाई क्षेत्रलाई सुरक्षित, भरपर्दो र गुणस्तरीय बनाउन सरकार लागिपरेको बताए ।

उनले हवाई क्षेत्रमा देखापरेको विश्वव्यापी आयाम र नेपालको बद्लिदो परिस्थितिअनुरुप मन्त्रालयले नीगिगत तथा संरचनागत सुधारका काम अघि बढाएको उल्लेख गरे । प्राधिकरणका महानिर्देशक राजन पोखरेलले आइकाओको मापदण्डअनुरुप उड्डयनको सुरक्षा, सेवा गुणस्तर अभिवृद्धिमा लागिपरेको बताए ।

सन् १९०३ डिसेम्बर ७ तारिखका दिन अमेरिकी नागरिक राइट ब्रदर्सले पहिलोपटक हवाई जहाजको यात्रा गरेको सम्झनामा यो दिवस मनाइने गरिन्छ ।

सन् १९९४ मा अन्तरराष्ट्रिय नागरिक उड्डयन संस्थाको ५०औँ वार्षिकोत्सवका अवसरमा दिवस मनाउन सुरु गरिएको हो । पछि संयुक्त राष्ट्रसंघको महासभाले पनि डिसेम्बर ७ लाई अन्तरराष्ट्रिय नागरिक उड्डयन दिवसका रुपमा मान्यता दिएको थियो । सन् १९५७ मा नेपालमा नागरिक उड्डयन प्राधिकरणको स्थापना भएको हो ।

प्रतिक्रिया