मुख्यमन्त्री पोखरेलद्वारा विमानस्थल अनुगमन

तुलसीपुर । प्रदेश नं ५ का मुख्यमन्त्री शंकर पोखरेलले दाङको टरिगाउँ विमानस्थलको अनुगमन गरेका छन् । तुलसीपुर उपमहानगरपालिका–१२ टरिगाउँस्थित उक्त विमानस्थलको आज अनुगमन गरेका हुन् ।

कुनै समय यात्रु अभावमा अवरुद्ध भए पनि पछिल्लो समय दैनिक दुई उडान थालेकाले उक्त विमानस्थलको धावनमार्ग विस्तारको अवस्थाका बारेमा उनले अनुगमन गरेका हुन् । अहिले धावनमार्ग सानो हुँदा साना जहाज मात्रै आउने गरेकाले अब ठूला जहाज ल्याउनका लागि धावनमार्ग विस्तार गर्ने समेत प्रतिबद्धता जनाए ।

‘अहिले धावनमार्ग सानो छ, ठूला जहाज आउन सकेको अवस्था छैन’, उनले भने, ‘अब यसलाई विस्तार गरी ठूला जहाज ल्याउन आवश्यक छ ।’ उनले धावनमार्ग विस्तारका लागि केन्द्रीय सरकारले बजेटमा समेटेकाले अहिले ७५० मिटर रहेको उक्त धावनमार्गलाई एक हजार २०० मिटर बनाउने समेत बताए ।

स्थानीय सरकारले नियमित हवाई सेवा सरु गर्न महत्वपूर्ण भूमिका निर्वाह गरेको उल्लेख गर्दै उनले अब प्रदेश र केन्द्रीय सरकारले नियमित हवाई सेवा सुरु गर्ने गरी कार्यक्रम अघि बढाउने प्रतिबद्धता व्यक्त गर्नुरे । साथै नियमित हवाई सेवालाई थप सहज बनाउनका लागि इन्धन डिपो स्थापना गर्नसमेत पहल थाल्ने उनले बताए । त्यस अवसरमा प्रदेशसभा सदस्य बिमला ओली, उपमहानगरपालिकाका प्रमुख घनश्याम पाण्डे लगायतको टोलीले अनुगमन गरेको थियो ।

प्रतिक्रिया