इटहरी ‘टेल–टेल हार्ट’

सुनसरी । अमेरिकन राइटर एडगर एलन पोले लेखेको कथालाई नाटकका रूपमा मञ्चन गरिएको छ । सुगम दुलालले नेपाली रूपान्तरण गरेको कथा ‘टेल टेल हार्ट’ लाई इटहरीको थिएटरमा प्रस्तुत गरिएको थियो ।

गत शुक्रबारदेखि बुधबारसम्म मञ्चन भएको उक्त नाटक कलालय इटहरीको आयोजनामा ‘अन्तरदेशीय साझा रंगमञ्च २०१९’ गत शुक्रबारबाट सुरु भएको कार्यक्रममा मञ्चन गरिएको थियो । भारतको पश्चिम बंगालका नाट्यकर्मीको उपस्थितिमा कलालयले उक्त कार्यक्रमको आयोजना गरेको हो । अन्तर्राष्ट्रिय रंगमञ्चलाई नेपालमा परिचित गराउने लक्ष्य राखेर कार्यक्रम आयोजना गरिएको कलालयका अध्यक्ष सोनु जयन्तीले बताइन् ।

उनले भनिन्, ‘नेपाली रंगकर्मीले बाहिरी अनुभव सिक्ने अवसरका रूपमा कार्यक्रम गरिएको हो । साथै कला र संस्कृतिको आदानप्रदान हुने भएकाले यसको महत्व विशेष रहेको छ ।’

भारतको पश्चिम बंगालबाट सुशान्त हल्दारको संयोजनमा आएको टोलीले नाटक प्रदर्शन गरेको थियो । नाटक ६ दिनसम्म मञ्चन भएको थियो । नाटकमा अति सूक्ष्मचेत भएको एउटा पात्रले गरेको हत्या आत्मसमर्पण र त्यसपछिको अवस्थालाई देखाइएको छ ।

नाटकमा एक पात्र कसरी हत्या गर्न अघि बढ्छ र त्यसपछि उसलाई कसरी अचैन बनाउँछ भन्ने विषयलाई उधिनेको छ । प्रज्ज्वल पराजुलीले निर्देशन गरेको सो नाटकको सहनिर्देशन अनुजा पौडेलले गरेकी हुन् । नाटकमा कलाकार प्रज्ज्वल दुलाल, जीवन बस्नेत, वर्षा केसी, विकास श्रेष्ठ, अनुजा पौडेल, करन प्याकुरेल, सुमन शंकर लगायतले अभिनय गरेका छन् ।

प्रतिक्रिया