पुस्तकमा कुमालेको चर्चा

प्रसिद्ध कलाकार कालु कुमाले (जन्म वि.सं. १९९०) को जीवनी, कृतित्व र व्यक्तित्व समेटिएको पुस्तक प्रकाशनमा आएको छ । नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानबाट प्रकाशित ‘क्रोधकला शिरोमणि कालु कुमाले’ पुस्तकमा नेपाली मूर्तिकला तथा कुमालेको योगदानलाई केलाइएको छ । जनस्तरबाट ‘क्रोधकला शिरोमणि’ को उपाधिप्राप्त कुमालेको जीवनी, व्यक्तित्व तथा कृतित्व समेटिएको ग्रन्थमा नेपालको मूर्तिकलाको सन्दर्भ र कलाकार कुमालेको उदयलाई सविस्तार चर्चा गरिएको छ ।

नेपाली कला क्षेत्रमा अरनिकोदेखि नै अन्तर्राष्ट्रिय रुपमा चर्चामा आएको हो । नेपाली कलालाई अन्तर्राष्ट्रिय स्तरसम्म फैलाउन र यसको प्रवद्र्धनमा कुमाले दिएको चर्चालाई पुस्तकमा समेटिएको छ । त्यस्तै, कालु कुमालेले हालसम्म जे जस्तो साधना गर्नुभयो सो बारेमा झण्डै तीन दर्जन लेखरचना ग्रन्थमा समावेश गरिएको छ । तीनवटा अंग्रेजी माध्यमका रचना छन् भने अन्य लेखहरू नेपाली तथा नेपाल भाषाका रहेका छन् ।

जम्मा २२४ पृष्ठमा रहेको अन्तर्राष्ट्रिय जर्नल साइजको ग्रन्थमा कलाकार कुमालेद्वारा सिर्जना गरिएका कलाकृतिको चित्र÷तस्बिरहरू पनि समावेश गरिएको छ । ग्रन्थमा क्रोधकलाका विविध पाटालाई केलाउादै नेपाली परम्परागत मूर्तिकलाका क्षेत्रमा कुमालेले बनाउनुभएका मूर्तिका बारेमा चर्चा गरिएको छ । यस ग्रन्थको सम्पादकहरू क्रमशः धर्मराज शाक्य, भरत ढकाल, देवेन्द्र थुम्केली, डिल्लीराम भट्टराई, राकेश अवाले तथा डा. प्रमोद जयसवाल रहनुभएको छ । आवरण चित्र राजन काफ्ले र भित्री सज्जा अग्निराज पौडेल ‘अराप’ ले तयार पार्नुभएको हो ।

पुस्तकमा मदन चित्रकार, प्रो. गोविन्दनारयण ज्यापू, रागिनी उपाध्याय, राधेश्याम मुल्मी, धर्मराज शाक्य, केशव राज खनाल, लालकाजी लामा, डा. रीजी अवाले, यज्ञरत्न धाख्वा, मिनबहादुर शाक्य, सुमित्रा कार्की लगायतका लेखकका लेखरचना रहेका छन् । यसका अतिरक्ति कालु कुमाले तथा उहाँका कृतिहरूका बारेमा सूचना प्रस्तुत गरिएको छ । यसका साथसाथै उहाँले प्राप्त गर्नुभएका सम्मान तथा पुरस्कारको तथ्य तथ्यांकलाई राखिएको छ । त्यसैगरी विभिन्न पत्रपत्रिका, पुस्तक र परिचय कोशमा समावेश उहाँ बारेका विविध टिप्पणी, विश्लेषण र सूचना आदि रहेका छन् ।

आर्कषक कलेवरमा छापिएको यो ग्रन्थमा प्रयोग भएको कागज उच्चस्तरको रहेको छ । प्रत्येक लेखरचनामा कलाकार÷मूर्तिकार कालु कुमालेसँग लेखक रहेको तस्बिरसमेत समावेश गरिएको छ । कला क्षेत्रका श्रद्धेय व्यक्तित्व कुमालेको बारेमा सविस्तार चर्चा मात्र गरिएको छैन राष्ट्रिय र अन्तर्राष्ट्रिय व्यक्तित्व बनाएवापत् जीवन छँदै थप ऊर्जा पनि थपिदिएको छ । अथक साधक, कलाप्रेमी परिवार, विज्ञ सम्पादकहरू र राज्यको आधिकारिक निकाय नेपाल ललितककला प्रज्ञा प्रतिष्ठानको प्रकाशनमा कलापारखी सामु आएको यस ग्रन्थमा नेपाललाई अन्य देशमा चिनाउने सक्ने प्रतिभाशाली व्यक्तित्वलाई अतिशयोक्ति नगरी सपाट ढंगले चिनाइएको छ ।

अन्त्यमा प्रसिद्ध कलाकार भीम शाक्यले भनेजस्तै कालु कसैसँग झैझगडा नगर्ने, कहिल्यै नरिसाउने, बढी नबोल्ने र हँसिलो शान्त स्वभावको व्यक्तित्व हुनुहुन्छ । उहाँमा थपिँदै गएको इतिहास निर्माणको पक्ष र पाटाहरूले कला पारखीलाई हौस्याएको छ । उहाँको कला श्रम र सिपको संगममात्र नभएर उहाँको व्यक्तित्व क्रोधकलाको सगरमाथाकै रुपमा स्थापित भइ नै सकेको छ । ग्रन्थले कुमालेको जीवन तथा कृतिको चर्चासँगै नेपाली मूर्तिकलाको इतिहासलाई उत्खनन् गर्ने काम गरेको छ ।

प्रतिक्रिया