किरात धर्मगुरु लिङदेनको जन्मोत्सव मनाइयो

इलाम । किरात धर्मगुरु मुहिङगुम अङसीमाङ आत्मानन्द लिङ्देन ‘सेइङ’ को ६६औँ जन्मोत्सव तथा मुहिङगुम अङसीमामाङ साँवा पवित्रहाङमा लिङदेनको नुमाङमाङगेन्ना सेवा विभिन्न कार्यक्रमका साथ शुक्रबार सम्पन्न भएको छ ।

किरात धर्मावलम्बीहरूको आस्थाको केन्द्र इलामको माङसेबुङ गाउँपालिका–५ स्थित माङसेबुङमा विभिन्न कार्यक्रम गरी लिङदेनको ६६औँ जन्मोत्सव मनाइएको हो । जन्मोत्सवको अवसरमा आत्मानन्द कप खेलकुद प्रतियोयोगिता, सावायेहाङ नोमाङगेन्ना सेवा, नाहेन लाक्मा र विविध साहित्यिक तथा सांस्कृतिक कार्यक्रमको गरिएको छ ।

११ देखि १७ मंसिरसम्म आत्मानन्द कप खेलकुद प्रतियोयोगिता सञ्चालन गरिएको थियो । आत्मा–पवित्र हक्चात यक्थुमको आयोजनामा सञ्चालित खेलकुदमा फुटबल, म्याराथुन, धनुषकाँण, छेलो, स्लो मोटरसाइकल दौडलगायतका खेल सञ्चालन गरिएको थियो ।

बुधबार उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोख्रेलबाट धर्मगुरु लिङदेनको जन्मोत्सव समारोह उद्घाटन, आत्मानन्द कपका विजेतालाई पुरस्कार वितरण, शुभकामना आदानप्रदान, धर्मगुरुद्वारा प्रवचन तथा सांस्कृतिक कार्यक्रम गरिएको थियो । कार्यक्रममा शुभकामना दिँदै उपप्रधान तथा रक्षामन्त्री पोख्रेल र पूर्वसभामुख सुवासचन्द्र नेम्बाङ लागयतका वक्ताले राष्टिय विभूति महागुरु फाल्गुनन्द लिङदेन र वर्तमान धर्मगुरु आत्मानन्द लिङ्देनले समाज सुधारका लागि गरेको कार्यको प्रशंसा गरे ।

वक्ताहरूले किरातीहरूको सुधारका लागि महागुरु र वर्तमान गुरुको योगदान अतुलनीय रहेको उल्लेख गर्दै उनीहरूले देखाएको विश्व शान्ति र मानव एकताको बाटोलाई सबैले पच्छ्याए नेपालमा स्थायी शान्ति कायम हुने विश्वास व्यक्त गरेका थिए ।

कार्यक्रममा सांस्कृतिक विभाग संयोजक किरात साम्यो साक्थिम्गेन मुजोत्लुङ पान्जुम्भोले स्वागत नृत्य प्रस्तुत गरेको थियो भने कार्यक्रममा किरात मुन्धुमी स्वर सम्रात अर्थवीर लाओतीले माङसिवाखाहुन, युमालाङ, थेबालाङ, धाननाच (यास्लाङ), केलाङ (च्याब्रङ नाच), साकेला, येबालाङ, पालाम, ख्याली, हाक्पारे समेत प्रस्तुत गरिएको थियो । सांस्कृतिक कार्यक्रममा दोस्रो फक्ताङलुङ आइडल तिर्सना नेम्बाङसहित स्थानीय कलाकारहरूको प्रस्तुती रहेको थियो ।

त्यस्तै बिहीबार किरात धर्मगुरु लिङदेनबाट विशेष आर्शीर्वचन भएको थियो । आशीवर्चन दिँदै किरात धर्मगुरु लिङदेनले शान्तिबाट मात्र विकास निर्माण सम्भव हुने बताए । ‘देशमा शान्ति चाहिन्छ, शान्तिले मात्र देश बन्छ’ उनले भने । धर्मगुरु लिङदेनले धर्मविना समाज शिक्षित र सभ्य बन्न नसक्ने बताए । जीव हत्या हिंसा गर्नु पाप भन्दै सबै काटमारको कर्मबाट मुक्त हुन आग्रह गरे । त्यस्तै मिक्तोक (उपहार) वितरण, संस्थागत धन्यवादपत्र वितरण, पुस्तक–पुस्तिका विमोचन, साहित्यिक तथा सांस्कृतिक कार्यक्रम सञ्चालन गरिएको थियो ।

त्यसैगरी शुक्रबार भक्तजनहरूलाई धर्मगुरुको हस्तबाहुलीबाट माङगेन्ना चामल वितरणसँगै कार्यक्रम समापन र बिदाइ गरिएको छ । जन्मोत्सवमा सहभागी हुन भारत, भुटान, अमेरिका, बर्मा, बेलायतबाट समेत हजारौँ किरात धर्मावलम्वीका अनुयायीहरू उपस्थित भएका थिए ।

किरात चोत्लुङ मुहिङगुम आङसी माङगेन्ना सेवा समितिको आयोजनामा अध्यक्ष केहरसिंह योङहाङको अध्यक्षतामा भएको कार्यक्रमको स्वागत सहअध्यक्ष डकेन्द्रसिंह थेगिमले गरेका थिए भने सञ्चालन महासचिव काकीराम लावती (आन्छुमे नसान) र सचिव समिता थेवेले गरेका थिए । माङसेबुङ गाउँपालिका–२ इभाङको चुक्चिनाम्बा अगौटेबारीमा २०११ मंसिर १८ मा जन्मिएका आत्मानन्द लिङदेनले राष्ट्रिय विभूति फाल्गुनन्द लिङदेनको अधुरो कार्यलाई पूर्णता दिने भन्दै धार्मिक, सांस्कृतिक तथा सामाजिक रूपान्तरणमा अभियान चलाइरहेका छन् । उनलाई सत्य, शान्ति र अहिंसाका उपासकका रूपमा किरात धर्मावलम्बीहरूले मान्ने गरेका छन् ।

माङसेबुङ क्षेत्र धूमपान मद्यपान निषेधित क्षेत्र हो । माङसेबुङ गाउँपालिका–५ को पूरै र ३ को केही क्षेत्रमा पर्ने माङसेबुङ रिङरोड क्षेत्रलाई यसअघि जिल्ला प्रशासन कार्यालय इलामको रोहवरमा स्थानीय राजीतिक दल र सरोकारवालाहरूको सहमति र उपस्थितिमा जाँडरक्सी, मासु, धूमपान, जुवातास, लागुऔषध, हुलहुज्जत तथा अश्लील कार्य निषेधित क्षेत्र घोषणा गरिएको छ । यस क्षेत्रमा पशुबध पनि निषेध छ ।

इलाम सदरमुकामबाट करिब ५० किलोमिटर पश्चिम दक्षिणमा रहेको माङसेबुङमा धर्मगुरुको आश्रयमा हजारौँ बसेका छन् । ०५० सालमा तत्कालीन प्रधानमन्त्री गिरिजाप्रसाद कोइराला त्यहाँ पुगेसँगै राष्ट्रका विशिष्ट व्यक्ति आउने क्रम सुरु भएको हो । करिव ११ हजार जनसंख्या भएको त्यस क्षेत्रमा सडक, शिक्षा, सञ्चार, स्वास्थ्यजस्ता अत्यावश्यक पूर्वाधार निर्माण हुन नसक्दा जनजीवन भने अझै कष्टकर छ । ०३४ देखि लिङदेन त्यस क्षेत्रमा बसोवास गर्दै आएका हुन् । ०५० पछि विभिन्न क्षेत्रबाट धर्मावलम्बीहरू स्थायीरूपमा आउने क्रम बढेको हो ।

धर्मको नाममा गरिने बलिप्रथा, सूर्तीजन्य र मादक पदार्थको सेवन निषेध हुनुपर्ने धर्मगुरुको मान्यताअनुसार यस धर्मका अनुयायी पनि बढ्दै गएका छन् । धर्मगुरुको प्रयासकै कारण किरात लिम्बू भाषा, साहित्य, संस्कृति र लिपी संरक्षणको यात्राले गति लिएको अनुयायीहरू बताउँछन् । गतवर्षदेखि त्यस वडामा लिम्बू भाषा सरकारी कामकाजी भाषाको रूपमा लागू भएको छ ।

प्रतिक्रिया