प्रहरीअगाडि नै मदिरा बिक्री

वीरगञ्ज । इलाका प्रहरी कार्यालय, पटेर्वासुगौली अन्तर्गतका क्षेत्रमा अवैधरूपले मदिरा उत्पादन, बिक्री वितरण भइरहँदा पनि प्रहरी मूकदर्शक भएर बसेको छ ।

वीरगञ्ज महानगर, पर्सागढी नगरपालिका, जगरनाथपुर, सखुवाप्रसौनी, पटेर्वासुगौली र जीराभवानी गापा क्षेत्र ओगटेको इप्रका पटेर्वासुगौलीले ठूलो परिमाणमा अवैध मदिराभट्टी सञ्चालन हुँदा पनि कारबाही गर्न सकेको छैन । यी क्षेत्रमध्ये सबैभन्दा बढी पर्सागढी नपाको झबराहामा अवैध मदिराभट्टी सञ्चालित छ । पाँच सयभन्दा बढी घरधुरीमा ८० प्रतिशतभन्दा बढीले अवैध मदिराभट्टी सञ्चालन गरेका छन् ।

इप्रका पटेर्वा सुगौलीमा प्रहरी निरीक्षक दीपक चोरवार आएदेखि अवैध मदिरा भट्टीविरुद्धको अभियान ठप्प छ । प्रनि चोरवारले अवैध मदिराभट्टी नियन्त्रण सम्बन्धमा छापामारी गर्न सम्बन्धित वडाका जनप्रतिनिधिको स्वीकृति अनिवार्य भएको र वडाध्यक्षहरूले छापामारीको स्वीकृति नदिँदा आपूmले सोविरुद्धको काम कारबाही गर्न नसकेको सफाइ दिएका छन् । उनले पटकपटक वडाध्यक्षहरूलाई पत्राचार गरी सो सम्बन्धमा सहयोग गर्न आग्रह गरेको तर सहयोग नपाएको बताए । उनले वडाध्यक्षहरूलाई पटकपटक ताकेता गर्दै आएको दाबी गरे ।

इप्रका पटेर्वासुगौलीअन्तर्गत वीरगञ्ज महानगरको २९, ३१, ३२ वडा पर्छन् भने पर्सागढी नपाको ९ वटा वडा, सखुवाप्रसौनी गापाको १ देखि ४, जगरनाथपुर गापाको १, ३, ४, पटेर्वासुगौली गापाको १ देखि ५, जीराभवानी गापाको १ देखि ३ वडा पर्छन् । यी सबै ठाउँमा अवैध मदिराभट्टी सञ्चालन छन् । यसअघि अवैध मदिराभट्टीविरुद्धको अभियान जिप्रका पर्साले सञ्चालन गर्दा ठूलो परिमाणमा इप्रका पटेर्वासुगौलीले अवैध मदिराभट्टी नष्ट गरेको थियो तर अहिले अभियान अगाडि बढाइएको छैन । अवैध मदिराभट्टीबाट उत्पादित मदिरा भारत जाने गर्छ । बिहारमा मदिरा निषेधित भएकोले अहिले पर्सा जिल्लामा अवैध मदिराभट्टी सञ्चालन बढेको छ ।

प्रतिक्रिया