बाबुआमाको हत्या

रुपन्देही । रुपन्देहीको ओमसतिया गाउँपालिका–४ बालापुरका ७२ वर्षीय रामनारायण यादव र ७० वर्षीया खगना यादवको उनकै कान्छा छोरा गोरख यादवले हत्या गरेका छन् ।

२८ वर्षीय छोरा गोरख वृद्धा बुबाआमासँगै बस्दै आएका थिए । पाँच भाइमध्ये कान्छा गोरखले शुक्रबार अपराह्न एक्कासी बुबाआमालाई खुर्पा प्रहार गरी हत्या गरेको अभियोगमा रुपन्देही प्रहरीले पक्राउ गरेको रुपन्देही प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक खड्कबहादुर खत्रीले बताए ।

गोरखले प्रहार गरेको धारिलो हतियार लागेर बुबाको घटनास्थलमै र आमाको उपचारको लागि युनिभर्सलक कलेज अफ मेडिकल साईन्सेज (युसीएमएस) रानीगाउँ भैरहवा पु¥याउनेक्रममा मृत्यु भएको प्रहरीले बताएको छ । गोरखको आक्रमणमा परी उनका जेठा दाजु जोगेन्द्र यादव पनि घाइते भई युसीएमएस भैरहवामा उपचार गराइरहेका छन् ।

प्रारम्भिक अनुसन्धानमा उनको मानसिक सन्तुलन ठीक नभएको पाइएको प्रहरीले जनाएको छ । छोरा गोरखबहादुरलाई प्रहरीले नियन्त्रणमा लिएको छ । उनीमाथि थप अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया