पेट्रोलियम पदार्थको तस्करी बढ्यो

वीरगञ्ज । पर्सा जिल्लाबाट अहिले पेट्रोलियम पदार्थको तस्करी बढेको छ । भारतमा पेट्रोलियम पदार्थ महँगो भएको कारण तस्करी बढेको हो । खुला सीमाको कारण नेपालको ग्रामीण क्षेत्रमा रहेका आयल स्टोरहरूबाट ग्यालेनमा राखेर साइकल, मोटरसाइकलबाट पेट्रोलियम पदार्थको तस्करी भइरहेको छ । भारतमा पेट्रोलको मूल्य प्रतिलिटर १ सय ३५ रुपैयाँ ५० पैसा र डिजलको १ सय ९ रुपैयाँ प्रतिलिटर रहेको कारण अहिले पेट्रोलियम पदार्थको तस्करी बढेको हो ।

नेपालमा पेट्रोल १ सय ७ रुपैयाँ ५० पैसा र डिजेल ९७ रुपैयाँ प्रतिलिटर छ । भर्खरै आयल निगमले दुई रुपैयाँ प्रतिलिटरमा वृद्धि गरेपछि यो दररेट कायम भएको हो । यसअघि पेट्रोलियम पदार्थको मूल्य दुई रुपैयाँ सस्तो थियो । विगत दुई महिनादेखि पर्सा जिल्लाका जानकीटोला, भिस्वा, दसौता, पाँडेपुर, महादेवपट्टि, सुवर्णपुर, विजयबस्ती लगायतका स्थानबाट खुलारूपमा पेट्रोलियम पदार्थको तस्करी भइरहेको छ ।

भारतीय बजार धुमाटार, भंगाहा, इनर्वा, मैनाटार र सिक्टासम्म पेट्रोलियम पदार्थको तस्करी भइरहेको छ । ठूला तस्करहरूले पेट्रोलियम पदार्थको तस्करीमा ट्याक्टरसमेतको प्रयोग गरेका छन् । ड्रममा पेट्रोलियम पदार्थ राखेर उनीहरूले खुलेआम पेट्रोलियम पदार्थ लैजाँदा पनि प्रहरी मूकदर्शक छ । पर्सा जिल्लाको ठोरी गापा–४ विजयबस्तीस्थित नेवा पेट्रोलपम्प, जगरनाथपुरको सुपुरमा पेट्रोलपम्पबाट बढी मात्रामा पेट्रोलियम पदार्थ तस्करहरूलाई दिइने गरिएको छ ।

प्रतिक्रिया