राष्ट्रिय महत्वका विषय कार्यान्वयन गर्न आग्रह

हेटौँडा । प्रदेश नं ३ को प्रदेशसभा सचिवालयका प्रमुख सचिव रामशरण घिमिरेले प्रदेशसभाको बैठकमा प्रस्तुत हुने विभिन्न विधेयक र शून्य तथा विशेष समयमा बोल्ने प्रदेशसभाको सदस्यले उठाएको राष्ट्रिय महत्वको विषयलाई कर्मचारीले शिष्टतापूर्वक कार्यान्वयन गर्न सरकारबीच सहकार्य गर्न आग्रह गर्नुरेका छन् ।

प्रमुख सचिव घिमिरेले प्रदेशसभा सचिवालयद्वारा स्थानीय कर्मचारीलाई संसदीय अभ्यासका साथै सचिवालयमा सुव्यवस्थित ढङ्गबाट विधेयक दर्ता र बैठक सञ्चालनमा आइपर्ने समस्यालाई निकास दिने उद्देश्यले आयोजित दुईदिने प्रशिक्षण कार्यक्रमलाई आज समापन गर्दै सो कुरा बताएका हुन् ।

उनले प्रदेशसभाका सभामुख, उपसभामुख, सत्तारूढ संसदीय दल, प्रतिपक्षीलगायत अन्य दलसँग पनि कार्यसूचीअनुसार छलफल गरी बैठकलाई अगाडि बढाएको र प्रदेशसभाका सदस्यबाट आइपरेका समस्यालाई तत्काल सहजीकरण गरी जनतालाई छिटोछरितो सेवा उपलब्ध गराउनेतर्फ प्रशिक्षण उपयोगी भएको बताए ।

उक्त प्रशिक्षणमा स्रोत व्यक्तिद्वय लवप्रसाद गौतम र ठाकुर बरालले संसद् सचिवालयले आफ्नो नियमावली अनुसार कार्य परामर्श समितिको बैठकले अनुमोदन गरेअनुरुप कार्यसम्पादन गर्नुपर्ने र सांसदले अभिव्यक्त गरेको राष्ट्रिय महत्वको साथै दैविक प्रकोपबाट पीडित नागरिकलाई तत्काल उद्धार गर्नुपर्ने कार्यको सूचनालाई प्रदेश सरकारमा पुर्याउनेतर्फ केन्द्रित हुनुपर्ने बताए ।

प्रशिक्षण कार्यक्रममा प्रदेशसभा सचिवालयका प्रमुख सचिव, सहसचिव, कानून अधिकृत, प्रशासकीय अधिकृत र सहायक कर्मचारी गरी ३७ जना प्रतिनिधिको सहभागिता रहेको सचिवालयका कानून अधिकृत परासर खरेलले जानकारी दिए ।

प्रतिक्रिया