ब्याडमिन्टनमा नेपाल कास्यमा सीमित

पोखरा । जारी तेह्रौंँ दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत पोखरामा भएको ब्याडमिन्टन प्रतियोगितामा नेपाल कास्य पदकमा सीमत भएको छ । ब्याडमिन्टन कोर्टमा भएको सेमिफाइनलमा सिंगल, डबल्स र मिक्स डबल्सतर्फका सबै प्रतिस्पर्धा गुमाएपछि नेपाल कास्यमा सीमित भएको हो ।

शुक्रबारको सेमिफाइनलमा पुरुष डबल्सतर्फ नेपालका प्रिन्स दाहाल र प्रफुल्ल महर्जनको जोडी श्रीलंकाको डायस अंगोडा र बी थारिन्दुको जोडीसँग २१–११ र २१–१९ ले लगातार पराजित हुँदै सेमिफाइनलबाटै बाहिरियो । पुरुष सिंगलतर्फ नेपालका रत्नजित तामाङ भारतका आर्यमान टण्डनसँग २–१ को सेटमा पराजित भए । उनी टण्डनसँग २१–१८, १४–२१ र २१–१८ ले पराजित भएका हुन् ।

महिला सिंगलतर्फ भारतकी अस्मिता चलिदा श्रीलंकाकी अचिनी निमेसिका रत्नाश्रीलाई २१–५ र २१–७ ले लगातार पराजित गर्दै उपाधिनजिक पुगिन् । सोही इभेन्टमा भारतकी गायत्री गोपीचन्दले श्रीलंकाकी दिल्मी डायसलाई २१–१७ र २१–१४ ले लगातार पन्छाउँदै फाइनल यात्रा सुरक्षित गरे ।

मिक्स डबल्सतर्फ नेपालका विकास श्रेष्ठ र अनुमाया राईको जोडी भारतका ध्रुव कपिला र मेघना जकम्पुदीको जोडीसँग २१–१४ र २१–१३को सोझो सेटमा पराजित भए पनि काश्यमा सीमित भयो । महिला डबल्सतर्फ श्रीलंकाका टी प्रमोदिका र के सिरिमांगेको जोडीले भारतको मेघना जकमपुदी र सिक्की रेड्डीको जोडीलाई २१–१४ र २१–१८ ले लगातार पराजित ग¥यो ।

पुरुष सिंगलतर्फ भारतका श्रील वर्माले श्रीलंकाका दिनुका निसान परेराला करुणारत्नेलाई २१–९ र २१–१२ ले लगातार पराजित गर्दै फाइनल भीडन्त पक्का गरे । पुरुष डबल्सतर्फ भारतका कृष्णप्रसाद गर्ग र ध्रुव कपिलाको जोडीले पाकिस्तानको मोहम्मद अतिक र रज्जा मोहम्मद हसिनको जोडीलाई २१–१५ र २१–७ ले लगातार पराजित गरेको छ । मिक्स डबल्सतर्फ श्रीलंकाको अंगोडा र टी प्रमोदिकाको जोडीले बंगलादेशको मोहम्मद सलमान खान र उर्मी अख्तरको जोडीलाई २१–८ र २१–९ ले लगातार पराजित गर्दै फाइनल यात्रा तय ग¥यो ।
सोही इभेन्टको अर्को खेलमा श्रीलंकाका रत्नाश्री कपुरु र यू को जोडीले भारतको कुहु गर्ग र अनुष्का परिखको जोडीलाई २१–१० र २१–१८ ले लगातार पराजित ग¥यो ।

प्रतिक्रिया