मेनरोड फराकिलो गर्ने पेसी सर्यो

वीरगञ्ज । वीरगञ्जको मेनरोड फराकिलो गर्ने विषय फेरि २९ मंसिर सम्मका लागि टरेको छ । सर्वोच्च अदालतमा मुद्दा दैनिक सूचीमा नपरेको कारण २९ मंसिरका लागि पेसी सारिएको छ ।

सडक विभागले छठपछि वीरगञ्जको मेनरोड फराकिलो गर्ने भन्दै सूचना जारी गरेपछि सोविरुद्ध सर्वोच्चमा रिट दायर गरेका निवेदकहरूको मागबमोजिम अल्पकालीन अन्तरिम आदेश जारी गर्दै सर्वोच्चले अर्को आदेश नहुन्जेलसम्मका लागि सूचना जारी भए अनुसारको कामकारबाई नगर्न÷नगराउन आदेश गरेको थियो ।

सो आदेशको सन्दर्भमा दुवै पक्षलाई अल्पकालीन अन्तरिम आदेश सम्बन्धमा छलफलका लागि बोलाएकोमा अहिलेसम्म सर्वोच्चमा सो मुद्दा दैनिक सूचीमा नपरेको कारण पेसी लम्बिँदै छ । यही कारण हो सडक विभागले कारबाही अगाडि बढाउन सकेको छैन । सर्वोच्च अदालतमा विचाराधीन सो मुद्दामा प्रत्येक पेसीअगाडि मेनरोडवासी समूह बनाएर रिट दायर गरिरहेकाले दैनिक सूचीमा नपरेको स्रोतले जनाएको छ ।

अदालतले सबै मुद्दाको एकैपटक सुनवाइ गर्ने गरी पेसी सार्दै आएको छ । अब सो मुद्दाको पेसी दुईपटकसम्म सारिने र त्यसपछि निर्णय हुन सक्ने कानुनका जानकारहरूले बताए । यता वीरगञ्जको मेनरोड फराकिलो गर्ने विषयमा आन्दोलनरत वीरगञ्ज विकास युवा संघर्ष समिति र मेनरोड फराकिलो गर्नु हुँदैन भन्ने तर्क गर्दै आएको वीरगञ्ज बचाउ संघर्ष समितिले सर्वोच्चमा मुद्दाको सुनवाइमा ढिलो हुन थालेपछि आन्दोलनलाई साम्य पारेका छन् ।

यसअघि वीरगञ्ज विकास युवा संघर्ष समितिले साप्ताहिकरूपमा विरोधका कार्यक्रम गरी अभियान सञ्चालन गर्दै आएकोमा अहिले उनीहरूको आन्दोलन सिथिल भएको छ । विरोध ¥याली, हस्ताक्षर अभियान, सिटी जुलुस, पत्रकार सम्मेलन लगायतका कार्यक्रमहरू गरेको समितिको अभियान अहिले सिथिल छ ।

वीरगञ्ज विकास युवा संघर्ष समितिले गरेको कार्यक्रमविरुद्ध वीरगञ्ज बचाउ संघर्ष समितिले पनि सोकोविरुद्ध वीरगञ्जको मेनरोड फराकिलो गर्नु हुँदैन भनेर कार्यक्रम गर्दै आएको थियो । अहिले दुवै पक्ष शिथिल भएका छन् । वीरगंज विकास युवा संघर्ष समितिका अकलेश साहले गढीमाई मेलाको कारण कार्यक्रम शिथिल भएको र तुरुन्तै विरोधका कार्यक्रम सुचारु गरिने बताए ।

प्रतिक्रिया