पिपराही सडक निर्माणमा अनियमितता भएको आशंका

लहान । प्रदेश–२ को पूर्वाधार विकास कार्यालयले भोटीय टोल–पिपराही सडक खण्डको मर्मत कार्य गर्न ढिलासुस्ति गरेको छ । पर्याप्त बजेट हुँदाहुँदै पनि उक्त सडकको मर्मत संभार गर्न पूर्वाधार विकास कार्यालयले चासो नदिएको स्थानीयको गुनासो छ ।

प्रदेश–२ सरकारको भौतिक पूर्वाधार विकास मन्त्रालय मातहतको पूर्वाधार विकासले उक्त सडक मर्मतका लागि गत आवमा २५ लाख बजेट विनियोजन गरेको थियो । सलोखरीदेखि नर्गी चोकसम्म सडक मर्मत गर्नुपर्ने देखिए पनि पूर्वाधार विकासले सलोखरीदेखि सीतापुर देवारीसम्म मात्रै मर्मत गरेको पाइएको छ ।

उक्त सडक खण्डमा प्रशस्त खाल्डाखुल्डी हुँदा यातायातका साधन चलाउन समस्या हुने गरेको छ । स्थानीय गोपाल यादव सलोखरीदेखी देवारीसम्म मर्मतको नाममा झारा टार्ने काम मात्र गरेको बताउँछन् । यादव भन्छन्, ‘मर्मत हेर्दा यस्तै पाँचदेखि ६ लाख जति खर्च भएको देखिन्छ, तर पूर्वाधारका कर्मचारी भने २५ लाख नै खर्च भइसक्यो भन्छन् ।’

त्यस्तै मिर्जापुरदेखि पटनासम्मको १३ किलोमिटर सडक खण्डको कार्य सम्पन्न भए पनि सन्तोषजनक देखिँदैन । उक्त सडक निर्माणका लागि पूर्वाधार विकासले गत आवमा ७५ लाख बजेट विनियोजन गरेको थियो । स्थानीयका अनुसार पूर्वाधार विकासले स्टिमेटअनुसार उक्त सडक निर्माण नगरेको दावी गर्छन् । स्थानीय अरूण साहका अनुसार स्टिमेटमा उक्त सडक डबल पोट ग्राबेल गर्ने भने पनि सिंगल पोट मात्रै ग्राबेल गरिएको छ । सिंगल पोट ग्राबेल पनि सन्तोषजनक छैन ।

त्यस्तै सिरहाको भगवानपुर गाउँपालिकाको मरिक टोलदेखि नेपाल–भारत सीमा सम्मको एक किलोमिटर ढलान पनि स्टिमेटअनुसार नगरिएको स्थानीयको भनाइ छ । स्थानीय अजय साहका अनुसार उक्त ढलानको स्टिमेटमा पहिला ग्राबेल अनि ग्राबेलमाथि इँटा र रड ओछ्याएर ढलान गर्नुपर्ने उल्लेख गरिए पनि सामान्य ग्राबेल गरेर ढलान गरिएको छ । यो ढलानको लागि पूर्वाधार विकासले ३० लाख बजेट विनियोजन गरेको छ ।

प्रतिक्रिया