मनोबलले रोग जितेर फर्किएँ प्रधानमन्त्री

काठमाडाैं। प्रधानमन्त्री केपी शर्मा ओली मंसिर १० गते बिहान महाराजगञ्जस्थित मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट पुग्दा स्वास्थ्य अवस्था नाजुक थियो । एपेन्डिसाइटिस फुटिसकेको थियो ।

चिकित्सक तत्काल शल्यक्रिया गरिहाल्ने की के गर्ने भन्ने दोधारमा थिए । मिर्गौला प्रत्यारोपण गरेको र त्यसले पनि शतप्रतिशत काम नगरेको अवस्थामा थपिएको अर्को समस्या थियो । तत्कालै डा.अरुण सायमीको नेतृत्वमा डा. रमेशसिंह भण्डारी, डा. पलेस्वाँ लाखे जोशीलगायतको ६ जनाको टोलीले ४५ मिनेट लगाएर शल्यक्रिया गर्यो ।

उहाँले अहिले पनि सरकार र पार्टीका बैठक राख्न सक्नुहुन्छ । दुई सातापछि त मंसिर १० अघिकै अवस्थामा फर्किनुहुन्छ । २-३ महिनाभित्रै उहाँको मिर्गौलाको प्रत्यारोपण गर्न मिल्छ । तर कहाँ गर्ने र कहिले गर्ने भन्ने हामीले निर्णय गरिसकेका छैनौँ – निजी चिकित्सक सिंह

सफल शल्यक्रिया गरे पनि प्रधानमन्त्री अझै पनि खतरामुक्त भने थिएनन् । आईसियुमा निरन्तर निगरानीमा राखियो । बुधबारको दिन बिहानबाट प्रधानमन्त्री ओली केही बोल्न सक्ने अवस्थामा आएका थिए । चिकित्सकका अनुसार यो सुधार देखिनु कुनै सामान्य अवस्था थिएन । चिकित्सकीय उपचार पद्दतिभन्दा पनि प्रधानमन्त्रीमा देखिएको आत्मबलको साथ सबैभन्दा ठूलो थियो ।

प्रधानमन्त्रीको उपचारमा संलग्न चिकित्सक डा.सायमीले जोखिम मोलेर प्रधानमन्त्रीको उपचार गरिएको बताए । प्रधानमन्त्री अस्पताल आउँदा संकटको अवस्था रहेको उनको भनाइ थियो । ‘चिन्ताजनक अवस्था थियो’, उनले भने, ‘हामीले जोखिम मोलेर उपचार गर्यौ । अब मेडिकल टिम बालुवाटार गएर फलोअप गर्छौँ । अहिले प्रधानमन्त्रीको मुटु, फोक्सो राम्रो छ । अपरेसनपछि घाउ पनि ठिक हुने अवस्थामा छ ।’
हुन त प्रधानमन्त्री ओली धेरै पटक यस्तो अवस्थालाई पाखा लगाउँदै आउनु भएको छ । उहाको मनोबल र आत्मविश्वास यति ठूलो छ कि चिकित्सक नै अचम्मित हुँदै आएका छन् । १० दिन अस्पतालमा बसेका प्रधानमन्त्री ओली स्वास्थ्य भएपछि बिहीबार प्रधानमन्त्री निवास बालुवाटार फर्किएका छन् । केही दिनअघि भिडियो सन्देशसमेत प्रवाह गरेका उनलाई दाँया बाँया दुई सहयोगीले हातले साहारा दिँदै गाडीसम्म ल्याएका थिए । खैरो पेन्ट, सुन्तला रंगको ज्याकेट र कालो भादगाउँले टोपी लगाएर उही मन्द मुस्कानसहित उनी अस्पतालबाट बाहिरिएका थिए ।

आत्मबलले रोगलाई हराउँदै आएका प्रधानमन्त्री ओलीले अस्पतालबाट बाहिरिदै गर्दा संक्षिप्त प्रतिक्रिया पनि दिए । ‘म स्वास्थ्यमा सुधार भएर घर जाँदैछु,’ बाहिरिँदै गर्दा प्रधानमन्त्री ओलीले भने । अस्पतालले डिस्चार्ज गरेपछि प्रधानमन्त्री ओली बालुवाटार निवासमै आराम गर्ने भएका छन् । ओलीको उपचारमा संलग्न चिकित्सकले केही दिन अस्पतालमै राख्ने सोच बनाए पनि उनले निवासमै गएर आराम गर्ने चाहना व्यक्त गरेपछि चिकित्सकहरूले डिस्चार्ज गर्ने निर्णय गरेको बताइएको छ । चिकित्सकका अनुसार प्रधानमन्त्री ओलीले सामान्य काम गर्न सक्ने अवस्थामा छन् ।

प्रधानमन्त्रीका निजी चिकित्सक डा. दिव्यासिंह शाहले मन्त्रिपरिषद् बैठकमा सहभागी हुन सक्ने बताइन् । डिस्चार्ज भएपछि डा. सिंहले पत्रकारहरूसँग कुरा गर्दै भनिन्, ‘उहाँले अहिले पनि सरकार र पार्टीका बैठक राख्न सक्नुहुन्छ । दुई सातापछि त मंसिर १० अघिकै अवस्थामा फर्किनुहुन्छ ।’ उनले प्रधानमन्त्री ओलीको २÷३ महिनाभित्रै मिर्गौला प्रत्यारोपण गर्न सकिने बताइन् ।

‘२-३ महिनाभित्रै उहाँको मिर्गौलाको प्रत्यारोपण गर्न मिल्छ । तर कहाँ गर्ने र कहिले गर्ने भन्ने हामीले निर्णय गरिसकेका छैनौँ,’ डाक्टर सिंहले भनिन्,‘मैले व्यक्तिगतरूपमा त नेपालमै गरौँ भन्छु ।’ नेपालमा पनि मिर्गौलाको सफल प्रत्यारोपण भइरहेकाले विदेश जानु आवश्यक नभएको सिंहको भनाई छ । ‘अमेरिका र सिंगापुर सकभर जाँदैनौँ,’ उनले भनिन् । डाक्टर सिंहले दोस्रो पटक मिर्गौला प्रत्यारोपण गर्दा केही जोखिम हुने भएपनि धेरैले सफलतापूर्वक दुई-तीन पटक प्रत्यारोपण गरेको सुनाइन् । चिकित्सकहरूले प्रधानमन्त्री स्वास्थ्य अवस्था स्थिर भएपछि मात्र प्रत्यारोपणका विषयमा छलफल गर्ने बताएका छन् ।

यसैबीच दश दिनको अस्पताल बसाईमा प्रधानमन्त्री ओलीको उपचार खर्च अढाई लाख पुगेको छ । उपचार खर्च दुई लाख ५४ हजार ६ सय ८८ रुपैयाँ उठेको सेन्टरका निर्देशक डा. उत्तमकृष्ण श्रेष्ठले जानकारी दिए । सो खर्च शल्यक्रिया, आईसीयू बेड र औषधिको रहेको थियो । प्रधानमन्त्रीको उपचारमा लागेको खर्च प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले भुक्तानी गरेको स्रोतले बताएको छ ।

गत वर्ष छातीमा ‘इन्फेक्सन’ भएर ५ दिन सेन्टर बस्दा साढे २५ हजार रुपैयाँ लागेको थियो । निर्देशक श्रेष्ठले भने, ‘यो पटक अप्रेसन गरेको भएकाले उपचार खर्च बढेको हो ।’ उपचारमा संग्लग्न एक चिकित्सकका अनुसार प्रम ओली अस्पतालको सेवा सुविधाप्रति खुसी भएका छन् । अस्पतालबाट बाहिरिँदा हात हल्लाउँदै निस्केका प्रम ओलीले अस्पतालका चिकित्सकलाई धन्यवादसमेत दिएका थिए । यसैबीच, प्रधानमन्त्री ओली डिस्चार्ज हुनुभन्दा केही अगाडि राष्ट्रपति विद्यादेवी भण्डारी उनको स्वास्थ्य अवस्था बुझ्न अस्पताल पुगेकी थिइन् ।

प्रतिक्रिया