सिडियोले नै घुस लिएपछि…

दोलखा । दोलखाका प्रमुख जिल्ला अधिकारी खगेन्द्रप्रसाद रिजालले सार्वजनिक अपराधका मुद्दामा प्रतिवादीसँग घुसको रकम लिएको रहस्य खुलेको छ । मुद्दा छिन्ने अधिकार पाएका प्रजिअले एक स्थानियको मुद्दामा एक लाख रुपैयाँ रकम लिएर दश हजारको मात्रै रसिद काट्न लगाएको तथ्य सार्वजनिक भएपछि घुस लिएको रहस्य खुलेको हो ।

प्रजिअ रिजालले दोलखाको मेलुङ गाउँपालिका–४ का कुमार लामा मोक्तानसँग सार्वजनिक मुद्दामा एक लाख रुपैयाँ मागेर दश हजार रुपैयाँ मात्रैको नगदी रसिद दिएका थिए । सिडियोले रकम मागेको कुरा पीडित लामाले बताएपछि सञ्चारकर्मी उनको कार्यकक्षमा पुगेका थिए । ४० वर्षीय लामा प्रतिवादी रहेको अभद्र व्यवहार र कालिञ्चोक गाउँपालिका १ का २८ वर्षीय ईन्द्र पाख्रिन र उनका ५१ वर्षीय पिता उदिम तामाङ प्रतिवादी रहेको सार्वजनिक सुरक्षा विरुद्धको मुद्दाका अभियुक्तहरूलाई थुनछेक बहसका क्रममा धरौटीमा रिहा गरेका थिए । तर, प्रजिअ रिजालले बुधबार ९० हजार र ३५ हजारका दरले दुबै अभियुक्तका परिवारबाट १ लाख २५ हजार रुपैयाँ घुस लिएका छन् ।

पीडितले सञ्चारकर्मीलाई खबर गरेपछि सिडिओ कार्यालय पुगेको टोलीसँग उनले रकम लिएको स्वीकार गरेका छन् । ‘कहिलेकाँही मुद्दा छिन्ने अधिकारीले पीडितका निम्ति समेत क्षतिपूर्ति दिलाउन पहल गर्नुपर्दो रहेछ’ संचारकर्मीसँग उनले भने, ‘यी दुवै मुद्दामा पीडितहरूका निम्ति क्षतिपूर्ति रकम दिलाउन त्यो रकम लिएको हुँ, अरू गलत नियत केही पनि छैन ।’

लामालाई २४ दिनअगाडि सार्वजनिक कसुर मुद्दामा जिल्ला प्रहरी कार्यलय दोलखाले नियन्त्रणमा लिएको थियो । थुनछेक बहसपछि लामाकी श्रीमती रेणु तमाङले बुधबार प्रहरीको हिरासतमा रहेका आफ्ना श्रीमानलाई छुटाउन एक लाख रुपैयाँ प्रजिअ रिजाललाई दिएपनि र दश हजारको मात्रै नगदी रसिद दिएको पीडित परिवारले बतायो । ९० हजार रकम फिर्ता नपाएपछि लामाकी श्रीमतीले बाँकी रकम खै भन्दै बिहीबार बिहान होहल्ला गरेपछि उनले नै निजी निवासमा लगेर बाँकी रकम फिर्ता दिएका थिए ।

उनले दोलखाका कालिञ्चोक गाउँपालिका–१ का उदिम तमाङ र ईन्द्र बहादुर तमाङबाट पनि मंगलबार सार्वजनिक सुरक्षा कसुरको थुनछेक बहसमा चौध हजारको नगदी रसिद दिएर ३५ हजार रुपैयाँ लिएको तथ्य बाहिर आएको छ । पत्रकारहरूलाई भेटेर पीडितहरूले आपूmले सामान्य मुद्दामा पनि सिडियो कार्यलय जस्तो ठाउँमा घुस दिनु परेको भन्दै दुखेसो पोखे । त्यसैगरी अर्का कालिञ्चोक १ का दुई स्थानीयहरूको पनि रकम फिर्ता गरेको स्वीकारेका छन् । कानुनका ज्ञाताहरूले मुद्धा छिन्ने अधिकारीले त्यसरी सोझै पीडितलाई क्षतिपूर्ति भराईदिन्छु भनेर प्रतिवादीबाट आफैँले रकम असुल्नु भ्रष्टाचार रहेको बताएका छन् ।

प्रतिक्रिया