सिद्धार्थमा विद्यार्थीका चित्र

काठमाडौं । विद्यार्थीमा रहेको सिर्जनशील क्षमतालाई बाहिर ल्याउने उद्देश्यका साथ कला प्रदर्शनी सुरु भएको छ । काठमाडौंमा सञ्चालित निजी विद्यालयहरूको संस्था क्वालिटी काठमाडौं स्कुल्सले विद्यार्थीको सामूहिक चित्रकला प्रदर्शनी आयोजना गरेको छ । बबरमहलस्थित सिद्धार्थ आर्ट ग्यालरीमा भएको प्रदर्शनीमा १८ विद्यालयका ५४ विद्यार्थीका कलाकृति राखिएको छ । मंसिर १६ गतेबाट सुरु भएको हो ।

विश्वमा प्रचलित प्रगतिशील शिक्षण पद्धति अपनाएर अध्यापन गराउँदै आएका २५ विद्यालय सम्मिलित उक्त संस्थाले हरेक वर्ष कला प्रदर्शनीको आयोजना गर्दै आएको छ । प्रदर्शनीमा संस्कृति, सम्पदा, प्रकृति, समाज र मानवीय जीवनका विविध पक्षलाई कलात्मक रूपमा विद्यार्थीले क्यानभासमा उधिनेका छन् ।

अक्षरा स्कुल काँडाघारीकी विद्यार्थी प्रज्ज्वलिका थापाले आफू प्रदर्शनीमा भाग लिन पाउँदा निकै उत्साहित भएको बताइन् । उनले भनिन्, ‘ग्यालरीमा आफूले बनाएका कलाकृति प्रदर्शनी हुँदा निकै उत्साह र कलात्मक माहोल पाउने भएकाले यो एक किसिमले सिर्जनात्मक पक्षलाई बुझ्ने राम्रो अवसरका रूपमा मैले लिएकी छु ।’

उनले ‘गो ग्रिन बिथ अ ड्रिम’ शीर्षकमा चित्र बनाएकी छन् । ‘मानिसको मन मस्तिष्कमा जबसम्म पर्यावरणसम्बन्धी चेतना पस्दैन तबसम्म हाम्रो पृथ्वी दुषित् भइरहन्छ’ भन्ने भावलाई चित्रमा उतारेको उनले जानकरी दिइन् । प्रदर्शनी २२ गतेसम्म सञ्चालन हुने आयोजकले जनाएको छ ।

प्रतिक्रिया