फोन गर्न दुई घण्टा हिँडेर डाँडामा

डडेल्धुराको परशुराम नगरपालिकाका जनातालाई कसैसँग मोबाइल सम्पर्क गर्नु परे दुई घण्टा पैदल हिँडेर अग्लो डाँडा जानुपर्ने बाध्यता रहेको छ । दुईघण्टा उकालो हिँडेर गाउँभन्दा माथि डाँडामा पुग्नु उनीहरूको रहर नभई बाध्यता हो । आफन्तको खबर बुझ्न र घरको कुरा जानकारी गराउनका लागि परशुराम नगरपालिकाका तीन वटा वडावासी दैनिक दुई घण्टा हिँडेर डाँडा जाने गरेको परशुराम नगरपालिका–८ का धनबहादुर जाग्रीले बताए ।

उनले भने, ‘मजस्तै यहाँका सबै व्यक्तिलाई फोन गर्न दुई घण्टा हिँडेर डाँडा चढ्नैपर्ने बाध्यता रहेको छ, के गर्नु ? आफन्तको खबर सुन्न मन लाग्छ ।’ डडेल्धुरा जिल्लाको भित्री मधेस क्षेत्रमा रहेको परशुराम नगरपालिका–८ मा पर्ने करेनी, जमरेनी र काँफलगैराका स्थानीयवासीहरूले फोन गर्नकै लागि घरबाट दुई घण्टा पैदल हिँडेरमाथि डाँडामा पुग्ने गरेको जाग्रीले बताए ।

परशुराम नगरपालिका–८ का तीन वटा गाउँमा यस्तो समस्या भएको उनले बताए । त्यो पनि घाम लागेको वेला स्काइफोन लाग्ने र अन्य वेलामा त्यसमा पनि समस्या आउने गरेको उनले भने, ‘ऐनसेल र नमस्तेको मोबाइलको नेटकर्वमा झनै समस्या देखिएको छ ।’ नेटवर्क नहुने समस्याले आजित छन् यहाँका बासिन्दा । साथमा मोबाइल भएर पनि उनीहरू चाहेको वेला आफन्तसँग सहजै कुरा गर्न सक्दैनन्, त्यसको लागि बाधक बनेको छ नेटवर्क ।

दैनिक फोनमा धेरै काम पर्छ, त्यसैले डाँडामा पुग्नु बाध्यता भएको उनको भनाइ छ । फोन नभएकाले स्थानीय सरकारका कामदेखि प्रहरी चौकीमा समेत सूचना आदान–प्रदान गर्न मुस्किल भएको छ । डडेल्धुरा जिल्ला भन्ने बित्तिकै सबैले धेरै विकास भएको जिल्लाका रूपमा बुझ्छन् । त्यसको कारण हो यस जिल्ला पूर्वप्रधानमन्त्री शोरबहादुर देउवाको हुन् । तर, आम मान्छेले सोजे जस्तो छैन यहाँ । सञ्चार क्षेत्र तथा टेलिफोन सेवा अझै पनि राम्रोसँग पुग्न नसकेको भन्दा धेरैलाई विश्वास नलाग्ला तर कुरा सत्य हो । डडेल्धुरामा परशुराम नगरपालिका स्थापना भएको तीन वर्ष बितिसक्दा पनि धेरै ठाउँमा फोन सेवा पुग्न सकेको छैन ।

परशुराम नगरपालिका–७ मलासवासीमा पनि हालसम्म फोन सेवाबाट वञ्चित हुनुपरेको छ । कञ्चनपुर सीमा क्षेत्रमा रहेको मलासका स्थानीयवासीमा यस्तै समस्या रहेको छ । फोन गर्नेका लागि डाँडा चढ्नुपर्ने बाध्यता रहेको स्थानीयको भनाइ छ ।

यस्तै डडेल्धुरा जिल्लाको अर्को गाउँपालिका आलिताल गाउँपालिका–२ गाङ्खेतमा पनि स्काइबाहेक कुनै फोेन नेटवर्क टिप्दैन । त्यो पनि बेलुकी ४ बजेपछि अवरुद्ध हुने गरेको आलिताल गाउँपालिका–२ का स्थानीय पदमबहादुर विकले बताए । यस्तै आलिताल गाउँपालिका–३ भित्रीसैनमा पनि कुनै पनि फोन सेवा सञ्चालन छैन ।

उक्त क्षेत्रका बासिन्दाले फोन गर्नका लागि करिब १० किलोमिटर पैदल हिँडेर बजार क्षेत्रमा पुगेर मात्र फोन गर्ने गरेको स्थानीयको भनाइ छ । यस्तै नवदुर्गा गाउँपालिका–४ मा पर्ने चलकट्टेमा स्मार्ट सेल कम्पनीका सेटले मात्र फोन सेवा सञ्चालनमा छ । स्मार्ट सेलका पनि कतिखेरै नेटर्वक हुन्छ कतिखेरै हुँदैन । आफूहरूलाई जरुरी परेको वेला कुरै गर्न नपाउने गरेको स्थानीयको गुनासो छ । यस्तो समस्या रहेको नवदुर्गा गाउँपालिका–४ का स्थानीयवासी गणेश कैनीले बताए ।

यस्तै डडेल्धुरा जिल्लामा रहेका सातवटा स्थानीय तह रहेका भए पनि धेरै ठाउँमा राम्रोसँग फोन नेटवर्क नभएको अमरगढी नगरपालिकाबाहेकका अन्य स्थानीय तहमा राम्रोसँग टेलिफोन नेटवर्क नहँुदा टेलिफोन सेवा अवरुद्ध हुँदै आएको छ ।
अमरगढी नगरपालिकामै टेलिफोन छैन

डडेल्धुरा सदरमुकाम अमगरढी नगरपालिका डडेल्धुरासँग जोडिएका बजारलगायतका १९ वटा साविक गाविसका अन्य ठाउँका टेलिफोन लाइनसमेत १६ वर्ष बितिसक्दा पनि जोडिएका छैन । नेपाल टेलिकमले सुरक्षाको अवस्था देखाउँदै तत्कालीन माओवादी द्वन्द्वकालीन अवस्थामा बन्द गरिएका मार्च र भिएचएफ टेलिफोन लाइन हालसम्म सञ्चालन नभएको स्थानीयवासीको भनाइ छ ।

डडेल्धुरा जिल्लाको सदरमुकाममा रहेको अमरगढी नगरपालिकाका पोखरा बजार, अनारखोली बजार र आइतबजारमा सञ्चालनमा रहेका टेलिफोन लाइन हालसम्म सञ्चालनमा नरहेको नेपाल टेलिकम डडेल्धुरा शाखाले जनाएको छ ।

२०५८ सालमा द्वन्द्वकालीन अवस्थामा सुरक्षाको अवस्था देखाउँदै बन्द गरिएका टेलिफोन लाइन हालसम्म बन्द अवस्थामै छन् । द्वन्द्व समाधान भएको लामो समय भयो तर, टेलिफोन समस्याको सामाधान भने भएन । नगरपालिकामा पहिले सदरमुकाममा टेलिफोन लाइन थिए र जनतालाई गाउँबाटै भए पनि टेलिफोन सेवाको पहुँचमा थिए तर, लामो समय बितिसक्दा पनि टेलिफोन लाइन नजोडिएको अमरगढी नगरपालिका–७ का स्थानीय कमल साहुले बताए ।

अमरगढी नगरपालिका–७ पोखरा बजार र अनारखोली बजार क्षेत्रमा द्वन्द्वकालीन अवस्थामा बन्द गरिएको टेलिफोन लाइन सुचारु हुन नसकेको नेपाल टेलिकम डडेल्धुरा शाखाका निमित्त प्रमुख शिवराज बोहाले बताए । तर, बन्द भएको टेलिफोन लाइन कहिले सुचारु हुन्छ भन्ने बारेमा उनी पनि जवाफ दिने सक्ने अवस्थामा छैनन ।

प्रतिक्रिया