नहर बने पनि सिँचाइ भएन

सिरहा । कमला नदी सिँचाइ आयोजनाले ०३६ सालमा नदीको पूर्व सिरहामा निर्माण गरिएको जमुना नहरबाट किसानका खेतमा हालसम्म सिँचाई हुन सकेको छैन ।

कोसी डाइभर्सनको कुरा गरिरहेको सरकारका मन्त्रीदेखि शीर्ष नेताहरूका ध्यान जमुना नहरसम्म पुग्न सकेका छैन । यस नहारबाट सिँचाइका लागि १२ वटा चौरमा कुलो तयार अवस्थामा रहेका छन् । तयार अवस्थामा रहेका कुलोहरूमा पनि पानी पुग्न सकेको छैन । किसानका खेतबारीमा पानी पु¥याउन प्रयास नभएको होइन । यसका लागि भुतहा कलभटमा पानी ल्याउन पुरानो जिल्ला विकास कार्यालयले करोडौँ बजेट खर्च गरिसकेका छन् ।

नहर निर्माणको वेला इन्जिनियर अरुणकुमार यादवले प्राविधिक रूपमा तयार गरेको भुतहा कलभटमा हालसम्म पनि पानी आएको छैन । किसानले पटकपटक कमला सिँचाइमा भने पनि यसका प्रमुखले हेर्न पनि आएनन् । बजेट मात्र खर्च गरी भ्रष्टाचार मात्र गरेको किसानहरूले बताउँछन् । किसानका खेतमा पानी नपुगे पनि बाँधका लागि खर्च भएको बिल भर्पाइको कागजमा पानी पुगी खेतमा पानी गएको देखाई केही व्यक्तिका जीवन हरियाली भएका छन् ।

बाँध निर्माणमा कार्य गरी धेरै हाकिम र नेता मोटाए पनि किसान अहिले पनि प्रतिनिधि र प्रदेश सभासद्देखि जिल्ला प्रशासन धाउन छोडेका छैनन् । तैपनि पानी ल्याउन कसैबाट सकारात्मक पहल हुन नसकेकोमा किसान आक्रोशित छन् । देशमा सिँचाइका लागि करोडाैँ खर्च भइरहेका छन् । प्रदेश सरकारले पनि कृषिलाई प्राथमिकतामा राखेको छ । तर, किसानले सिँचाइका लागि नेतादेखि सरकारलाई खोज्दै छन् ।

पूर्व नहर समितिलाई भंग गरिएको अवस्थाका कारण यस विषयमा अगाडि आउन कुनै किसानले नचाहेको श्री हनुमान प्राकृतिक कृषि समूहको अध्यक्ष रामचन्द्र साहुले बताए । नहर बनेको छ तर किसानका खेतीमा पानी छैन । सिँचाइ हुने ठाउँका किसान त यस्तो समस्यामा छन् भने वर्षामा भरपर्ने किसानको हालत के होला ? मलखाद पनि सहज रूपमा पाइएको छैन । सरकारले कस्तो समृद्धि खोजेको हो । देशमा समृद्धि किसानलाई समस्यामा राखेर सम्भव हुन्छ । किसानहरूको यो भनाइलाई कसले सुन्ने ?

प्रतिक्रिया