बंगुरपालनबाट मनग्ये कमाउँदै

बागलुङ । अहिले गलकोट नगरपालिका–२ नरेठाँटी, तोरीखोलास्थित ‘धौलागिरि बंगुर फार्म’मा पाठापाठीसहित २०० बंगुर छन् । माउमा पोथी ४३ र भाले बंगुर पाँच छन् । मासु र पाठापाठी बेच्दा मासिक पाँच लाखसम्मको कारोबार हुन्छ । ‘फार्म’मा लगानी बढेर अहिले एक करोड ३० लाख नाघेको छ । पाँच वर्षअघि कृषि मिलीजुली सहकारीले खोलेको ‘फार्म’ व्यवसायी याम कालामगरको स्वामित्वमा आएको चार वर्ष पुग्यो ।

सहकारीले चलाउन नसकेपछि व्यवसायी काला मगरले ८६ लाखमा जग्गासहित ‘फार्म’ किनेका थिए । ‘पाँच रोपनी आफ्नै जग्गा छ, थप चार रोपनी जग्गा भाडामा लिएर बंगुरपालन गरेकी छु’, उनले भने । जग्गाको मासिक सात हजार भाडा तिनुपर्छ । ढुवानीका लागि गाडी खरिद, खोर विस्तार, जनशक्ति व्यवस्थापनलगायतमा लगानी थपिएको छ । ‘फार्म’मा कालामगर परिवारबाहेक अन्य चार जनाले प्रत्यक्ष रोजगारी पाएका छन्् । बंगुरपालन व्यवसायमा काला मगरसँगै उनकी श्रीमती शिवकला र छोरा विवेक पनि उत्तिकै खट्छिन्् ।

काला मगरले ‘फार्म’देखि झण्डै ४५ किमिको दूरीमा पर्ने सदरमुकाम बागलुङ बजारमा मासु पसलसमेत सञ्चालन गरेका छन्् । मासुका लागि बंगुर खपत हुने मुख्य बजार बागलुङ र गलकोटकै हटिया हो । पाठापाठीका लागि जिल्ला बाहिरबाटसमेत माग आउने गरेको व्यवसायी काला मगरले बताए । ‘एक महिना पुगेका पाठापाठीलाई पाँच हजार पर्छ, मासुको बजार मूल्य भने अहिले प्रतिकेजी ४६० छ’, उनले भने । एउटै बंगुरले १७ वटासम्म पाठापाठी जन्माउँदछन् । थोरैमा पनि पाँच÷छ वटा जन्मन्छन्् । एकसाथ धेरै माउ ब्याउँदा खोर भरिभराउ हुन्छ । तीन महिना २१ दिनमा बंगुर ब्याउँछ । मासु भन्दा पाठापाठी बेच्दा बढी फाइदा उठ्छ ।

‘मासिक त्यस्तै चार÷पाँच लाखसम्म आम्दानी हुन्छ’, सञ्चालक काला मगरले भने, ‘अहिलेसम्म सबै लगानीमै गएको छ, खर्च पनि उस्तै छ ।’ लगानी थप्दै गएपछि पछि मुनाफा बढ्ने उनको विश्वास छ । अहिले भएको खोर अपुग देखिएकाले थप्ने योजना छ । बंगुरको दाना, कामदार व्यवस्थापन र ढुवानीमा बढी खर्च छ । ठूलो लगानीमा बंगुरपालन सुण्रु गरे पनि सरकारी क्षेत्रबाट कुनै सहयोग नपाएको उहाँको गुनासो रहेको छ ।

प्रदेश सरकारबाट अनुदान पाउने आसमा प्रस्तावपत्र पठाए पनि कुनै सुनुवाइ नभएको उनको गुनासो छ । वडाध्यक्ष हिमबहादुर भण्डारीले नगरपालिकाबाट आवश्यक कागजातसहित अनुदानका लागि कृषि ज्ञान केन्द्रमा सिफारिस गरेको बताए । ‘हामी पनि अचम्ममा परेका छौँ, अरू साना फार्मले अनुदान पाउँदा पनि उहाँले नपाउनु दुःखद् छ’, वडाध्यक्ष भण्डारीले भने । आगामी बजेटमा वडाबाट सक्दो सहयोग उपलब्ध गराइने उनको प्रतिबद्धता छ ।

पछिल्लो समय मासु र पाठापाठीको माग बढेपछि बंगुरपालन व्यवसाय फस्टाएको छ । राम्रो कमाइका लागि किसान बंगुरपालनमा आकर्षित छन् । कम समयमै राम्रो प्रतिफल आउने हुँदा बंगुरपालन बढेको जिल्लास्थित भेटेरेनरी अस्पताल तथा पशुसेवा विज्ञ केन्द्रले जनाएको छ । बजार मागअनुसार उत्पादन बढाउनुपर्ने आवश्यकता रहेको केन्द्रका वरिष्ठ पशु विकास अधिकृत शम्भुराज पाण्डेले बताए ।

प्रतिक्रिया