काउन्सिलमा अमाल्गम

काठमाडौं । कलामार्फत सांस्कृतिक सम्बन्धलाई जनस्तरसम्म पु¥याउने लक्ष्यका साथ पाँच दिने प्रदर्शनी सुरु भएको छ । नेपाल आर्ट काउन्सिलमा अर्पितम कला मन्दिर पश्चिम बंगालको आयोजनामा भएको प्रदर्शनीमा पाँच दर्जन बढी कलाकारका कलाकृति राखिएको छ ।

प्रदर्शनीको उद्घाटन गर्दै नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानका कुलपति केके कर्माचार्यले कलाका माध्यमबाट सांस्कृतिक सम्बन्धलाई मजबुत बनाउन मद्दत मिलेको बताए । उनले विभिन्न देशका कलाको शैली र अवस्था बुझ्न प्रदर्शनी निकै महत्वपूर्ण हुने भएकाले आयोजकले राम्रो काम गरेको धारणा व्यक्त गरे । कुलपति कर्माचार्यले भने, ‘प्रदर्शनीमा राखिएका कलामा संस्कृति, प्रकृति, समाज र मानवीय संवेदनाका विविध पाटोलाई प्रस्तुत गरिएको छ ।’

संस्कृति र प्रकृतिको सुन्दर संयोजन कलाकृतिमा रहेको कलाकार तथा लेखक तीर्थ निरौलाले बताए । उनले कलाकार आफ्नो भूगोल, संस्कृति तथा चिन्तनलाई कलात्मक रुपमा कलामा प्रस्तुत गरेको विचार व्यक्त गरे । ‘अमाल्गम अफ आर्टिस्टस्’ शीर्षकमा गरिएको उक्त प्रदर्शनीमा नेपाल, भारत, बंगलादेश, अमेरिका तथा जर्मनीका कलाकारका कलाकृति राखिएको सहभागी भारतीय कलाकार गौतम दासले जानकारी दिए ।

दासका अनुसार प्रदर्शनीमा कलाकारले विविध विषय र शैलीमा बनाइएका कलाकृति राखिएको छ । उनले भने, ‘कला मानिसको सबैभन्दा सिर्जनशील काम हो । यसले आनन्दमात्रै होइन मानिसलाई सचेत र सबल बनाउन मद्दत पनि गर्दछ । पछिल्लो समय यस क्षेत्रप्रति आममानिसको रुचि बढ्दै गइरहेको छ ।’ कलाकार दासले समाजलाई गतिशील बनाउन र सम्बन्धलाई मजवुत राख्न कला र कलाकारको भूमिका विशेष रहने भनाइ राखे ।

कलाकार तथा मिथिला येँ आर्ट ग्यालरीका सञ्चालक श्यामसुन्दर यादवले प्रदर्शनीमा कलाकारले आफ्नो मौलिक विषयलाई सुन्दर ढंगले संयोजन गरेको बताए । उनले देश र समाजलाई चिनाउन कलाकारले रङ र कुचीका माध्यमबाट विशिष्ट भूमिका निर्वाह गरेको विचार व्यक्त गरे ।

प्रदर्शनीमा नेपालबाट दीपेन्द्रमान बनेपाली, डिबी राई, विनोदकुमार गुप्ता, भारतबाट गौतम दास, उत्तम मन्ना, तपस दास, गोपिन्द्र कुमार आनन्द, मनिष कुमार राय, विजय रक्षित, इश्वानी दास, अर्पिता मुखर्जी, संजय घोष, अरिजित सरदार, उषारञ्जन मण्डल, निशित कुमार प्रमानिक, स्वप्ना माल्भेदा, सागर मुखर्जी, अर्चना मुखर्जी, निता दिप बाजपेयी, दीपान्शी बाजपेयी, केया सेट, सुनिल बर्मन, सुबोध दास, सोमा माजी, मोनिता सहाय, पपिया मल्लिक, अभिषेक कुमार पटवा, सौरभ घोष, सौम्य धारा, रितोम धारा, नरेन्द्र कुमार, कञ्चन दास, सौम्यजित मेते, ताजनिन रहमान, संगीता कुमारी, विजय मल्लिक,सौरभ भान्जा, अर्नब सरदार, अंकित रन्जन, अमेरिकाबाट जिम माथेउ, बंगलादेशबाट महफुजा ब्युटी, मोरसालिना लभ्ली, सुल्ताना पुटुल, जाकिया फर्दौस, एबि नुसरत जहान तथा फातेमा बेगम रिना, जर्मनीबाट महसा इसापोर लगायतका कलाकारका कलाकृति राखिएको छ ।

प्रतिक्रिया