‘झिँगेदाउ’ मा आँचल

काठमाडौं । ज्ञानेन्द्र देउजाको निर्देशनमा बनिरहेको चलचित्र ‘झिँगेदाउ’ मा अभिनेत्री आँचल शर्मा ग्रामीण महिलाको भूमिकामा देखिएकी छन् । निर्माण युनिटले हालै सार्वजनिक गरेको तस्बिरमा आँचललाई गाउँले भूमिकामा प्रस्तुत गरिएको छ ।

उनको सिउँदोमा सिन्दुर, घाँटीमा हरियो पोते लगाएकी आँचल रातो साडी र गुन्युचोलीमा देखिएकी छन् । तस्बिरमा उनले हातमा हँसिया र पिठ्युमा घाँसले भरिएको डोको देख्न सकिन्छ । उनको यो गेटअपले दर्शकलाई कौतुहलता जगाएको छ ।

चलचित्रका बारेमा उनले भनिन्, ‘फिल्ममा विवाहित महिलाको भूमिकामा प्रस्तुत भएकी छु । पहिलो पटक फरक भूमिका पाएकी छु । दर्शकका लागि मेरो भूमिका नौलो स्वाद हुनसक्छ ।’ गाउँले जीवन र महिलाको भूमिकालाई चलचित्रले उठान गरेको निर्देशक देउजाले बताए ।

चलचित्रमा अभिनेत्री आँचल ‘बुलबुल’ का अभिनेता मुकुन्द भुसालको जोडीका रूपमा प्रस्तुत भएकी छन् । ‘झिँगेदाउ’ अहिले भकुन्डेवेसी आसपासका स्थानमा छायांकन भइरहेको निर्माण पक्षले जनाएको छ । यो चलचित्र साहित्यकार भीमनिधि तिवारीको कथामा बन्न लागेको हो । चलचित्रका निर्मातासमेत रहेका निर्देशक देउजाले चलचित्रले नेपाली ग्रामीण समाजको कथालाई कलात्मक रूपमा उठाएको बताए ।

कपनगढी सिनेमा प्रालिको ब्यानरमा निर्माण भइरहेको यस चलचित्रको गीतमा अर्जुन पोखरेलले संगीत, विष्णु कल्पितको छायांकन रहेको छ । यसअघि निर्देशक देउजाले ‘मुना मदन’, ‘रक्षक’, ‘करुक्षेत्र’, ‘देवर बाबु’, ‘हामी ट्याक्सी ड्राइभर’ लगायतका चलचित्र निर्देशन गरिसकेका छन् ।

प्रतिक्रिया