उपनिर्वाचनको सन्देश

बहुप्रतिक्षित उपनिर्वाचनको परिणाम सार्वजनिक भएको छ । सत्तारुढ नेकपा र प्रमुख प्रतिपक्षी नेपाली कांग्रेस दुवैले आ–आफ्नो पक्षमा जनअभित प्रकट भएको दाबी गरिरहेका छन् । सिटका हिसाबले दुवै पार्टीको गत चुनावको भन्दा केही प्रगति देखिएकोले यस्तो दाबी स्वाभाविक पनि हो । उपनिर्वाचन भएका यी ५२ स्थानमध्ये विगतमा २७ स्थान नेकपाले जितेको थियो । अहिले २ वटा थपेर २९ पुर्याएको छ । नेपाली कांग्रेसले विगतमा १२ स्थान जितेकोमा अहिले २ वटा थपेर १४ पुर्याएको छ । सरसरर्ती हेर्दा नेकपा र नेपाली कांग्रेसको यो दावीलाई स्वाभाविक मान्नुपर्छ । तर, मत परिणामलाई सूक्ष्म ढंगले विश्लेषण गर्ने हो भने सत्तारुढ पार्टी नेकपाका लागि यो अपेक्षित परिणाम होइन । विगतमा एमाले र माओवादी अलग अलग चुनाव लड्दा पनि जितेका कतिपय स्थानमा यसपटक एउटै पार्टीका रूपमा चुनाव लड्दा पनि पराजय व्येहोर्नुपरेको देखियो । उदाहरणका लागि धरान उपमहानगर पालिकालाई लिन सकिन्छ । गत स्थानीय निर्वाचनमा धरान उपमहानगर पालिकामा एमालेले २१ र माओवादीले ११ हजार गरी ३२ हजार मत प्राप्त गरेका थिए । नेपाली कांग्रेसले १६ हजार मत प्राप्त गरेको थियो । यो उपनिर्वाचनमा नेपाली कांग्रेसले १६ हजारबाट बढाएर २६ हजार पु¥यायो भने नेकपाले ३२ हजारबाट घटाएर २४ हजारमा झा¥यो । अरू पालिकाका केही वडामा पनि यस्तै देखियो । विगतमा एक्लै चुनाव जितेका एमाले र माओवादीले यतिवेला एउटै पार्टी बनाएर चुनाव लड्दा पनि १०–१२ ठाउँमा पराजय व्यहोरेको देखियो । प्रदेशसभा तर्फका तीनवटा क्षेत्रमध्ये एउटा क्षेत्र नेकपाले गुमायो । जितेका दुई वटा क्षेत्रमा पनि गत निर्वाचनको जति मत प्राप्त गरेको देखिएन । प्रतिनिधिसभाको एक मात्र क्षेत्र कास्की २ मा भने सत्तारुढ नेकपाले सन्तोषजनक मत प्राप्त गरेको छ । तर, गत निर्वाचनको भन्दा तीन हजार कम ।

सरकारको करिब दुई वर्षको कार्यकाललाई जनताले कसरी मूल्यांकन गरेका रहेछन् ? त्यसको संकेत उपनिर्वाचनको मत परिणामले गर्ने विश्लेषण गरिएको थियो । सरकारको काम कारबाहीप्रति जनता सन्तुष्ट हुन नसकेको हो कि जस्तो देखिएको छ । तर, धरान उपमहानगर पालिकालाई अपवाद मान्दा सत्तारुढ नेकपाको भोट अरू ठाउँमा खासै धेरै घटेको छैन । करिब करिब उस्तै देखिन्छ । गत निर्वाचनमा एमाले र माओवादीको लोकप्रिय मत ४७ प्रतिशत थियो । यो मत अहिले पनि करिब करिब कायम रहेको देखिएको छ । त्यतिवेला नेपाली कांग्रेसको लोकप्रिय मत ३३ प्रतिशत थियो । अहिले ४० प्रतिशत पुगेको छ । यो ठूलो प्रगति हो । तर, धरान र भक्तपुरबाहेक नेपाली कांग्रेसले पनि अरू ठाउ“मा खासै मत वृद्धि गर्न सकेको छैन । धरान र भक्तपुरमा भने कांग्रेसले निकै ठूलो प्रगति गरेको छ । यसको कारण सतहमा आए पछि मात्रै यो उपनिर्वाचनको सन्देश स्पष्ट हुन्छ ।

तत्कालीन माओवादीका नेता तथा कार्यकर्ता उम्मेदवार भएको ठाउ“मा नेकपाले हारेको छ भने तत्कालीन एमालेका नेता तथा कार्यकर्ता उम्मेदवार भएको ठाउँमा नेकपाले जितेको छ । त्यसैले यो मत परिणम प्रधानमन्त्री ओलीको अलोकप्रियताभन्दा पनि भावी प्रधानमन्त्री भनिएका प्रचण्डबाट जनता सशंकित भएको संकेत हो कि भन्ने अनुमान सहजै लगाउन सकिन्छ । सत्तारुढ पार्टी नेकपाका लागि यो निकै ठूलो पाठ हो । जनताले प्रत्यक्ष भोट दिनुपर्ने स्थानमा एमाले पृष्ठभूमि भएकाहरूलाई र समानुपातिक कोटा तथा अन्य राजनीतिक नियुक्तिका पदमा माओवादी पृष्ठभूमि भएकालाई उम्मेदवारका रूपमा अघि बढाउनुपर्ने म्यान्डेट जनताले सत्तारुढ नेकपालाई दिएका छन् । साथै, प्रचण्डलाई जनताले भावी प्रधानमन्त्रीका रूपमा देख्न नचाहेको सन्देश पनि यो उपनिर्वाचनले दिएको छ ।

प्रतिक्रिया