किन हार्यो नेकपाले ?

जसरी प्रचण्डको हैसियत यथावत् राखेर अघि बढ्दा आगामी दिन सत्तारुढ नेकपाका लागि असजिला हुँदै जाने संकेत देखिएको छ त्यसरी नै देउवाको नेतृत्व कायमै रहँदा नेपाली कांग्रेसका लागि आगामी दिन कष्टकर हुँदै जाने संकेत देखिएको छ 

सत्तारुढ नेकपाले उपनिर्वाचनका लागि टिकट वितरण गरेपछि धरान उपमहानगरपालिकाका तत्कालीन मेयर स्वर्गीय तारा सुब्बाकी श्रीमतीले प्रश्न उठाएकी थिइन् –‘ अरू क्षेत्रमा दिवंगत नेताका श्रीमतीलाई टिकट दिइयो मलाई मात्रै अन्याय गरियो किन ?’ टिकट वितरणमा दोहोरो मापदण्ड कायम गरिएको भन्दै स्वर्गीय तारा सुब्बाकी श्रीमतीले धरानमा विद्रोह गर्ने तयारी नगरेकी होइनन् तर थामथुम पारियो ।

विभिन्न ५२ स्थानमा चुनाव उपचुनाव हुन गइरहे पनि महत्वपूर्ण भनेका प्रतिनिधिसभाको काश्की–२ र प्रदेशसभाका भक्तपुर, दाङ र बाग्लुङ तथा धरान उपमहानगर पालिका हो । ९२ हजार मतदाता रहेका कारण धरान उपमहानगरपालिकाको उपचुनाव महत्वपूर्ण थियो । यी चार स्थानमध्ये भक्तपुर तत्कालीन माओवादीको भागमा प¥यो, बाग्लुङ राष्ट्रिय जनमोर्चाको भागमा प¥यो । तत्कालीन एमालेको भागमा परेका दुईवटामध्ये कास्की र दाङमा दिवंगत सांसदका पत्नीहरूलाई उम्मेदवार बनाइयो भने धरान त्यसको अपवादमा प¥यो ।

अहिले धरानमा नेकपाले बेहोरेको पराजय त्यसैको द्योतक हो कि ? भन्ने अनुमान धेरैले लगाएका छन् । डेढ दुई वर्ष अघि सम्पन्न संसदीय र स्थानीय चुनावको मत परिणम हेर्ने हो भने धरानमा नेकपाको मत करिब ३२ हजार र नेपाली कांग्रेसको मत करिब १६ हजार थियो । दोब्बरभन्दा बढी मत अन्तर भएका कारण नेकपाले सहानुभूतिका मत नभए पनि चुनाव जित्न सकिने ठहर ग¥यो । रिक्त भएका सबै महत्वपूर्ण ठाउँमा दिवंगत नेताका श्रीमतीलाई उम्मेदवार बनाउँदा गलत सन्देश जाने भएकोले पनि नेकपाले धरानलाई अपवाद बनायो ।

धरानजस्तै भक्तपुरका पनि नेकपाले निकै फराकिलो मत अन्तरले चुनाव हा¥यो । जबकि, अघिल्लो निर्वाचनमा निकै फराकिलो अन्तरले चुनाव जितेको थियो । कास्की र दाङमा अर्थात् दिवंगत नेताका श्रीमती उम्मेदवार बनाएको ठाउँमा अघिल्लोपटक भन्दा पनि फराकिलो मत अन्तरले चुनाव जित्नु तर भक्तपुर र धरानमा अर्थात् दिवंगत नेताका श्रीमती उम्मेदवार नबनाएको ठाउँमा निकै फराकिलो मत अन्तरले चुनाव हार्नुको कारणबारे विश्लेषण गर्नु जरुरी छ । मुलुकको राजनीतिका लागि त यो निकै ठूलो सन्देश हो, स्वयं नेकपाका लागि पनि निकै गहिरो सन्देश हो ।

करिब दुईतिहाइ बहुमतका साथ सरकार सञ्चालन गरेको दुई वर्ष पुग्नै लाग्दा भएको निर्वाचनमा नेकपाले आफ्नो परफरमेन्सका आधारमा जनतासँग भोट माग्ने हिम्मत गर्न सक्नुपथ्र्यो । यो अवधिमा पूर्वप्रतिबद्धता बमोजिमका यी यी काम ग¥यौँ, अब बाँकी अवधिमा यी यी काम ग¥यौँ भनेर जनतासँग भोट माग्न जानु पथ्र्यो, तर दिवंगत नेताका श्रीमतीहरूलाई अघि सारेर सहानुभूतिका मत लिने विकल्प रोज्यो । जहाँ सहानुभूतिका मत पायो त्यहाँ चुनाव पनि जित्यो, जहाँ सहानूभूतिका मत पाउने अवस्था थिएन त्यहाँ ज्यादै फराकिलो मत अन्तरले चुनाव हार्यो ।

कास्की र दाङ अर्थात् सहानूभूतिको भोट लिन दिवंगत नेताका श्रीमतीलाई उम्मेदवार बनाएका स्थानबाहेक अरू ठाउँको मत परिणम विश्लेषण गर्ने हो भने नेकपाको अवस्था धेरै नै खस्केको छ । विगतमा एमाले र माओवादी अलग अलग पार्टीका रूपमा चुनावमा होमिदासमेत जितेका स्थानमा यी दुई पार्टी एकीकरण भएपछि अझ धेरै मतको अन्तरले चुनाव जित्नुपर्ने होइन र ? तर, यस्ता दर्जनभन्दा बढी ठाउँमा नेकपाले चुनाव हारेको छ ।

यसैगरी, तत्कालीन एमालेका नेता तथा कार्यकर्ता उम्मेदवार भएको ठाउँमा नेकपाले अधिकांश पद जितेको छ । तर, तत्कालीन माओवादीका नेता तथा कार्यकर्ता उम्मेदवार भएको ठाउँमा नेकपाले अधिकांश पद हारेको छ । यसको अर्थ हो–‘नेकपाका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डप्रति जनता अझै पनि सशंकित छन् । माओवादी पार्टीका तर्फबाट मन्त्री बनेकाहरूको परफरमेन्स जनताले रुचाएका छैनन् ।’

हुन पनि ओली सरकार अलोकप्रिय बन्नुको मुख्य कारण मेलम्ची खानेपानी आयोजना अलपत्र हुनु र माथिल्लो तामाकोसी जलविद्युत् आयोजना अन्योलमा पर्नु हो । खानेपानी मन्त्री विनामगर प्रचण्डकी बुहारी हुन् । आफ्ना घरभेटी शारदा अधिकारी (शैलुङ कन्ट्रक्सन कम्पनी) लाई ठेक्का दिनका लागि प्रचण्डले बुहारी प्रयोग गरेर मेलम्चीबाट इटालियन ठेकेदारलाई लखेटेको सन्देश जनताबीच गइसकेको छ ।

राजधानी काठमाडौं उपत्यकाका जति पनि अलपत्र परेका सडकहरू छन् ती सबैको ठेकेदार प्रचण्डका घरभेटी शारदा अधिकारी रहेको समाचार खुलस्त भइसकेको छ । भक्तपुरमा भएको उपनिर्वाचनमा त प्रचण्डका घरभेटी शारदा अधिकारीको फोटो नै टाँसेर विपक्षीहरूले प्रचार गरेका थिए । यसैगरी, जलस्रोतमन्त्री वर्षमान पुन पनि प्रचण्डका धेरै नै नजिकका हुन् । शारदा अधिकारीको शैलुङ कन्स्ट्रक्सन कम्पनीमा मन्त्री पुनले सालाको श्रीमतीका नाममा सेयर राखेको समाचार पनि उपनिर्वाचनको प्रचार प्रसारका क्रममा भक्तपुरमा खुव फैलिएको थियो ।

यसैगरी, प्रचण्डलाई परिवारवाद लादेको आरोप पनि निकै लाग्ने गरेको छ । छोरीलाई मेयर, बुहारीलाई मन्त्री बनाएका प्रचण्डले भाइलाई कांग्रेसबाट थुतेर अस्ट्रेलियाका लागि राजदूत बनाएको घटनालाई समेत उपनिर्वाचनमा जनताले स्मरण गरेको देखियो । निरंकुश सक्रिय राजतन्त्र हुँदासमेत तत्कालीन राजा वीरेन्द्रले परिवारवाद लाद्ने सहास गरेका थिएनन् । उनका भिनाजु कुमार खड्गविक्रम शाह त्रिभुवन विश्वविद्यालयमा पाँचौँ मर्यादाक्रमका जागिरे थिए ।

उपकुलपति तथा रेक्टर भन्ने योग्यता र क्षमतासमेत उनीसँग थियो । तर, परिवारवाद लादेको सन्देश जाने भन्दै राजा वीरेन्द्रले उनलाई त्रिभुवन विश्वविद्यालयमा पाँचाैँ मर्यादाक्रम भन्दा माथिल्ला पदमा अघि बढाएनन् । तर, मौका पाउनासाथ प्रचण्डले परिवारवाद लाद्ने ठूलो धृष्टता गरे । प्रचण्डको यही शैली तथा हैसियत कायम रहिरह्यो भने नेकपाका लागि आगामी स्थानीय तथा आम निर्वाचन निकै भारी हुने संकेत उपनिर्वाचनको परिणामले देखाइसकेको छ । यो मतपरिणम नेकपाका लागि आफू सच्चिने ठूलो अवसर हो । यो अवसरको सदुपयोग गर्न नेकपाको पार्टी पंक्ति चुक्ने छैन ।

यसैगरी, नेपालको राजनीतिमा सत्तारुढ नेकपाका कार्यकारी अध्यक्ष प्रचण्ड र प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको अलोकप्रियता थोरै मात्रै तल माथि होला । त्यो पनि तराजुमा राखेर जोख्दा मात्रै थाह पाउन सकिन्छ । विगतमा जितेकामध्ये ८ वटा स्थानमा यसपटक नेपाली कांग्रेस पराजित भएको छ । सत्तारुढ दलको लोकप्रियता घट्नु स्वभाविक मानिए पनि प्रतिपक्षीदलको लोकप्रियता घट्नुलाई कुनै पनि हालतमा स्वाभाविक मान्न सकिन्न ।

संसदीय राजनीतिमा सत्तापक्षको लोकप्रियताको पारो जुन अनुपातमा घट्दै जान्छ त्यही अनुपातमा प्रतिपक्षको लोकप्रियताको पारो बढ्दै जान्छ । जुन कुरा राजनीतिशास्त्रले समेत स्वीकारेको छ । तर, नेपालको सन्दर्भमा राजनीतिशास्त्रको यो नियम अपवाद बनेको छ । देउवा अलोकप्रिय छन् । जसरी प्रचण्डको हैसियत यथावत् राखेर अघि बढ्दा आगामी दिन सत्तारुढ नेकपाका लागि असजिला हुँदै जाने संकेत देखिएको छ त्यसरी नै देउवाको नेतृत्व कायमै रहँदा नेपाली कांग्रेसका लागि आगामी दिन कष्टकर हुँदै जाने संकेत देखिएको छ । नेपाली कांग्रेसको पार्टी पंक्तिले समयमै यस कुराको ख्याल गर्नु जरुरी छ ।

प्रतिक्रिया