प्रचण्डको चीन भ्रमण स्थगित

काठमाडौं । सत्तारुढ नेकपाका अध्यक्ष पुष्पकमल दाहालको चीन भ्रमण स्थगित भएको छ । भ्रमणको एक साताअघि प्रचण्ड आफैँले तत्काल चीन नजाने बताएका हुन् । यद्यपि उनले भ्रमणको मिति केही समय सार्न आग्रह गरेका छन् ।

चिनियाँ कम्युनिस्ट पार्टीको निम्तोमा अध्यक्ष दाहाल नेतृत्वको ६० सदस्यीय टोली मंसिर २४ गते चीन भ्रमण जाने कार्यक्रम तय भएको थियो । प्रचण्ड स्वयंले पनि राजधानीमा आयोजित एक कार्यक्रममै आफू चीन भ्रमणमा जान लागेको जानकारी गराएका थिए । तर, स्रोतका अनुसार सोमबार कार्यवहाक चिनियाँ राजदूतसँगको भेटमा उनले आफू तत्काल चीन भ्रमणमा आउन नसक्ने जानकारी गराएका छन् । उनले अर्का अध्यक्ष एंव प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्य र पछिल्लो समय पार्टी सञ्चालनमा लिएको जिम्मेवारीका कारण देखाएका छन् ।

तर, चिनियाँ पक्षले भने भ्रमण स्थगित नगर्न आग्रह गरेको बुझिएको छ । प्रचण्डले यसअघि चिनियाँ राष्ट्रपति सी जिनपिङको नेपाल भ्रमणका बेला भएका सहमति कार्यान्वयनका लागि आफ्नो चीन भ्रमण सहयोगी बन्ने बताएका थिए । दाहालको भ्रमणका क्रममा नेकपाका अन्य नेता–कार्यकर्ताले चिनियाँ कम्युनिस्ट पार्टी सञ्चालन, सरकार सञ्चालन, प्रशिक्षण लगायत विषयमा चिनियाँ नेताको अनुभव लिने कार्यक्रम थियो । पार्टीका अन्य शीर्ष नेताहरूले पनि प्रधानमन्त्रीको स्वास्थ्यस्थितिलाई हेरेर भ्रमण स्थगित गर्न दाहाललाई सुझाव दिएका थिए ।

प्रतिक्रिया