धरानमा कांग्रेसका तिलक राई विजयी

सुनसरी । धरान उपमहानगरको प्रमुख पदमा नेपाली कांग्रेसका तिलक राइले ऐतिहासिक जित दर्ता गरेका छन्। २०४६ सालपछाडि भएका जस्तोसुकै चुनावमा बामपन्‍थीले जित्दै आएको धरानमा योपटक भने प्रमुख पदमा काङ्ग्रेसले ऐतिहासिक बाजी मारेको हो।

मेयर पदमा निर्वाचित भएका तिलकले २६ हजार ७ सय ९ मत ल्याए भने नेकपाका प्रकाश राईले २३ हजार ९ सय १४ मत ल्याएका हुन्। ९२ हजार ८ सय ५३ मतदाता भएको धरानमा ५९।४९ प्रतिशत मत खसेको थियो। मेयरमा निर्वाचित तिलक राई २०७४ सालको चुनावमा एमालेका तारा सुब्बासँग ४ हजार ८ सय ७३ मतले पराजित भएका थिए।

अघिल्लो चुनावमा १६ हजार १ सय २ मत पाएका तिलकले यो पटक भने बढी मत पाएका हुन्। मतगणना भएको सुरुवाती चरणमा मात्र झिनो मतले लिड गरेका प्रकाश राई त्यसपछि निरन्तर तिलक राईको पछि नै परेका थिए। साविक चुनावमा वामपन्‍थी समूहले जितेका ९ वटा वडामा कांग्रेसले बढी मत पाएको छ।

प्रतिक्रिया