संसद्मा कम जान्छन् मुख्यमन्त्री

संघीय मन्त्री र प्रदेशका मन्त्रीहरू जनतासँग सम्बन्धित सरोकारका विषयमा भन्दा प्रचारमुखी कार्यक्रमहरूमा बढी देखिने गरेको आलोचना बढ्न थालेको छ । यो आलोचना कर्णाली प्रदेशमा पनि वेला वेला सुनिन्छ । बितेको दुई वर्षको अवधिमा कर्णाली प्रदेशसभाको एक सय १० वटा वैठक बसेको छ ।

अहिलेसम्म भएका ति बैठकहरूसँगै चारवटा अधिवेशनमा सम्पन्न भए । प्रदेशसभा रहेर कानुन बनाउनेसम्मको जिम्मेवारीका साथ प्रदेशसभामा निर्वाचित भएका प्रदेश सभासदहरूको प्रदेशसभा बैठकमा भने उपस्थिति एकदमै न्युन हुने गरेको छ । उपस्थितिको तालिका हेर्दा मुख्यमन्त्रीको सबैभन्दा कम देखिएको छ । बैठकमा उपस्थित हुने विषयमा मुख्यमन्त्रीकै पथमा देखिएका छन् मन्त्रीहरू पनि । उनीहरू पनि बैठकमा आकलझुकल मात्रै देखिन्छन् ।

कर्णाली प्रदेशसभा सचिवालयले उपलब्ध गराएको सूचनाअनुसार प्रदेशको नेतृत्व गर्ने भन्दै निर्वाचित भएका मुख्यमन्त्री महेन्द्रबहादुर शाही आफै संसद् बैठकमा एकदमै कम उपस्थित हुने गरेका छन् । संसद्को पहिलो र दोस्रो अधिवेशाका क्रममा भएका ६५ वटा बैठकमध्ये २७ वटा बैठकमा उनी उपस्थित भएको पाइन्छ । त्यसैगरी पछिल्ला २ अधिवेशनमा पनि उनको उपस्थित निकै कम रहेको तथ्यांक छ । उनीहरूले प्रदेशसभाको गरिमालाई त्यति सारो महत्व दिएको पाइँदैन ।

संसद्को नेतृत्व गर्दे हरेक सांसदको गुनासो सुन्ने र जवाफ दिनुपर्ने मुख्यमन्त्री शाही कर्णाली प्रदेशसभाको तेस्रो र चौथो अधिवेशनका ४५ वटा बैठकमा जम्मा सातपटक मात्र संसद् बैठकमा उपस्थित भएका छन् । तयस क्रममा भएका एक सय १० बैठकमध्ये ३४ बेठकमा उनको उपस्थिति रहेको देखिन्छ । संसद्मा उनको उपस्थिति तिस प्रतिशत मात्रै रहेको छ । नेतृत्व गर्ने व्यक्ति नै संसद्को बैठकमा कम उपस्थिति भए पछि मन्त्री र सांसद पनि पातलो रूपमा देखिन्छन् ।

मुख्यमन्त्री र मन्त्रीहरूले संसद्को बैठक र बैठकमा उठ्ने प्रश्नको जवाफलाई भन्दा उद्घाटन, विमोचन, शिलान्यासजस्ता कार्यक्रमलाई महत्व दिएका कारण यस्तो भएको हो । मुख्यमन्त्री शाही कानुन निर्माणदेखि समृद्ध कर्णालीको मार्गचित्र कोर्न जनताका प्रतिनिधिहरूबीच बहस गर्ने औपचारिक थलो संसद् बैठकमा निकै कम उपस्थित हुदाँ जनताका अपेक्षा पूरा नहोला भन्ने आशंका बढेको छ ।

सांसद र मन्त्रीहरूका गुनासा सुन्ने र त्यसका उचित जवाफ दिनु पर्ने मुख्यमनत्री नै संसद् बैठकमा उपस्थित नहुनु दुःखद् पक्ष हो । कर्णाली प्रदेशसभा सचिवालयले उपलब्ध गराएको तथ्यांक अनुसार विश्लेषण गर्दा मुख्यमन्त्री शाही संसद्मा कहिलेकाहिँ मात्रै झुल्कने गर्दछन् । संसद् बैठकमा उपस्थित हुनेमध्ये सबैभन्दा कम अर्थात् पछाडिबाट प्रथम हुने मुख्यमन्त्री शाही नै हुन् ।

विभिन्न विभागीय मन्त्रालयको जिम्मेवारी सम्हालेका र उक्त क्षेत्रको विकास र समृद्धिका लागि खटिएका भनिएका कर्णाली प्रदेशका मन्त्रीहरू पनि प्रदेशसभामा उपस्थिति सन्तोषप्रद देखिँदैन । मुख्यमन्त्रीसँगै मन्त्रीहरूसमेत उद्घाटन, विमोचन, शिलान्यास जस्ता अनौपचारिक कार्यक्रममा भाषण र आश्वासन दिन नै व्यस्त देखिन्छन् । भाषणले समृद्धि आउने भए कर्णाली कायापलट नै बनाइदिने थिए यहाँका मन्त्रीहरूले ।

तर, कानुन निर्माणदेखि सांसदहरूका गुनासा सुन्न र मन्त्रालयअन्तर्गतका विकास निर्माणको जिम्मा लिएका मन्त्रीहरू नै औपचारिक थलो संसद् बैठकमा कम उपस्थित हुने गरेका छन् प्रदेशको आन्तरिक मामिला तथा कानुनमन्त्री नरेश भण्डारी मन्त्रीहरूमध्ये सबैभन्दा कम संसद् बैठकमा उपस्थित भएका छन् । उनी एक सय १० बैठकमध्ये जम्मा ७१ वटा बैठकमा मात्रै उपस्थित भएका छन् । यस्तै, भने उद्योग पर्यटन बन तथा वातावरण मन्त्री नन्दसिंह बुढा पनि ७१ वटा बैठकमा उपस्थित भएका छन् ।

भूमि व्यवस्था कृषि तथा सहकारीमन्त्री विमला केसी र पूर्व भौतिक पूर्वाधारमन्त्री खड्गबहादुर खत्री ७४ वटा बैठकमा उपस्थित भएका छन् । सामाजिक विकासमन्त्री दल रावलको उपस्थिति अलि बढी देखिन्छ । यस्तै, ७६ दिन उपस्थित भएका सांसद यामलाल कँडेल र ७९ पटक उपस्थित भएका सांसद गोपाल शर्मालाई उछिन्दै मन्त्री रावल ८१ पटक उपस्थित भएका हुन् । आर्थिक मामिला तथा योजनामन्त्री प्रकाश ज्वालालगायत ५ जना सांसद, अन्य मन्त्रीभन्दा बढि अर्थात ८४ बैठकमा उपस्थित भएका छन् ।

प्रदेशमा सरकाको मात्रै होइन प्रतिपक्ष दलको अवस्था पनि उस्तै छ । संसद्ेखि सडकसम्म सरकारले गरेका गलत कामको आलोचना र खबरदारी गर्नुपर्ने प्रतिपक्ष नेपाली कांग्रेसका संसदिय दलका नेता जीवनबहादुर शाही पनि उतिसारो संसद्मा जाँदैनन् । अहिलेसम्म भएका एक सय १० वटा बैठकमध्ये उनी २५ वटा बैठकमा गयल छन् ।

कर्णाली प्रदेशसभा सचिवालयले उपलब्ध गराएको तथ्यांक हेर्दा अधिकांश महिला सांसद संसद्मा नियमित उपस्थिति भएको देखिन्छन् । अघिल्ला दुई अधिवेसनका ६५ वटा बैठकमा एक दिन पनि नछुटाएर प्रत्येक बैठकमा उपस्थिति भएकी थिइन् सांसद सोशिला शाही । उनी पछिल्ला दुई अधिवेशनमा केही दिन संसद्मा हाजिर नभए पनि अघिल्ला दिनमा उनको उपस्थिति राम्रो छ । उनी जम्मा ९९ वटा बैठकमा उपस्थित भएकि छन् । संसद्का चार अधिवेशनमा भएका एक सय १० बैठकमध्ये सबैभन्दा धेरै उपस्थित हुने सांसद पनि महिला नै हुन् ।

प्रदेशसभा सदस्य मिनासिंह रखाल सबैभन्दा बढी एक सय सातवटा बैठकमा उपस्थित भएकी छन् । उनी तीनवटा मात्रै बैठकमा मात्रै उपस्थित छैनन् । यस्तै, राजबहादुर शाही सभामुख भएका कारण सबै बैठकमा उपस्थित हुने गरेकाले उपसभामुख पुष्पा घर्ती भने ९० वटा बैठकमा मात्र उपस्थित छन् । सांसद अमृता शाही एक सय ६ दिन, पदमा खड्का एक सय ५, देवी वली एक सय ४ वटा बैठकमा उपस्थित छन् ।

यसैगरी सांसद गणेशप्रसाद सिंह एक सय ३ पटक, झोवा लामा विक एक सय ३, अम्बरबहादुर थापा एक सय एक, सुशीलकुमार थापा एक सय एक र रातो कामी एक सय तीनपटक उपस्थित भएका छन् । यस्तै, राजु नेपाली एक सय एक, गुलावजंग शाह ९८, विन्दमान विष्ट ९८, कुर्मराज शाही ९६, पदमबहादुर रोकाय ९५ र चन्द्रबहादुर शाही ९४ वटा संसद् बैठकमा उपस्थित भएका छन् । भने दिनबन्धु श्रेष्ठ ९३, ठम्मर विष्ट ९३, करवीर शाही ९१ यज्ञबहादुर बिसी ९१, कौशीलावती खत्री ८९, वीरबहादुर शाही ८८, हिमबहादुर शाही ८८, कृष्णा शाह ८७ बैठकमा उपस्थित हुँदा सिताकुमारी नेपाली ८६, दानसिंह परियार ८२, धर्मराज रेग्मी ८२ र बद्मी क्वारी बोहोरा ८२ वटा प्देशसभा बैठकमा उपस्थित भएका छन् ।

धेरैपटक बोल्ने सांसद अम्बरबहादुर थापा
प्रदेशसभामा हालसम्म भएका चारवटा अधिवेशनका क्रममा एक सय १० पटक बैठक भएका छन् । बैठकमा शून्य समय, विशेष समय र अन्य छलफलहरूमा बोल्ने प्रदेशसभा सदस्यहरूले समय लिएर बोल्ने गर्छन । यस्तै, मन्त्रीहरूले विशेष अवस्थामा र संसद्लाई जवाफ दिने वेला मात्र बोल्ने भएकाले धेरैपटक बोल्दैनन् । दैलेखबाट कर्णाली प्रदेशसभा सदस्यमा निर्वाचित भएका अम्बरबहादुर थापा प्रदेशसभामा सबैभन्दा बढीपटक वोलेका छन् । हालसम्म उनले ३८ पटक बोलेका छन् भने सबैभन्दा कम डोल्पाका वीरबहादुर शाहीले बोलेका छन् । उनले हालसम्म जम्मा १२ पटक प्रदेशसभामा बोलेका छन् ।

प्रमुख प्रतिपक्षि दल नेपाली कांग्रेसका संसदीय दलका नेता जिवनबहादुर शाहीले विभिन्न समयमा २९ पटक बोलेका छन् । यसरी समग्रमा हेर्दा कर्णाली प्रदेशसभामा निर्वाचित मुख्यमन्त्री, मन्त्री, सांसद र प्रमुख प्रतिपक्षको ध्यान संसद्भन्दा बाहिरी कार्यक्रमा बढी हुने गरेको देखिन्छ । जनताका सरोकारका विषयलाई गम्भिर रूपमा संसद्मा उठाउने र जनताका पक्षमा काम गर्नेभन्दा अतिथि बन्ने भाषण गर्ने कुरालाई महत्व दिएको पाइन्छ । यस्ता कुराले जनताका अपेक्षा पूरा गर्न नसकिने हुँदा आफ्नो पदीय जिम्मेवारीअनुसार काम गर्नुपर्ने यहाँको जनताको सुझाब रहेको छ ।

प्रतिक्रिया