अर्जुनधारा सेमिफाइनलमा

इलाम । एएससी अर्जुनधारा झापा इलामको माङसेबुङमा जारी १२औँ संस्करणको आत्मानन्द कप फुटबलको सेमीफाइनलमा प्रवेश गरेको छ ।  शुक्रबार भएको तेश्रो क्वार्टरमा सडन डेथमा राजाबास युथक्लब सुनसरीलाई पाखा लगाउँदै अर्जुनधारा झापा सेमीफाइनलमा प्रवेश गरेको हो । सडन डेथमा झापाका गोल रक्षक सञ्जय गुरुङले उत्कृष्ट बचाउ गर्दै टिमलाई जित दिलाएका थिए । सुनसरीका गोलरक्षक पूर्ण चेम्जोङको प्रहारलाई झापाका गोलरक्षक गुरुङले उत्कृष्ट बचाउ गरेका थिए ।

निर्धारित समय गोलरहित बराबरीमा सकिएपछि सडन डेथमा विजेता निर्धारण गर्नु परेको थियो । निर्धारित समयमा दुवै टिमले पाएको दर्जनौँ अवसरलाई सदुपयोग गर्न नसक्दा सडन डेथसम्म धकेलिएको थियो । झापाको भेट अब पहिलो सेमीफाइनलमा मानेभञ्ज्याङ स्पोटिङ कलब दार्जिलिङ भारतसँग पक्का भएको छ । खेलको म्यानआफ दी म्याच विजेता झापाका गोल रक्षक सञ्जय गुरुङ घोषित भए । प्रतियोगिताअन्तर्गत शनिबार अन्तिम क्वार्टरमा मिरमिरे याक्थुङ क्लब तेह्रथुम र रेडस्टार विर्तामोड झापाबीच खेल हुनेछ ।

किराँतधर्मगुरु आत्मानन्दलिङदेनको ६६औँ जन्मोत्सवका अवसरमा आयोजित प्रतियोगितामा इलाम, झापा, सुनसरी, तेह्रथुम, र भारतको दार्जिलिङ गरी ८ टिमको सहभागिता छ । प्रतियोगिताको फाइनल १७ मंसिरमा हुनेछ ।  विजेताले नगद २ लाख १ सय ६६ रुपैयाँ र उपविजेताले नगद १ लाख १ सय ६६ रुपैयाँ पाउनेछन् । त्यस्तै सर्वाधिक गोलकर्ता, उत्कृष्टगोल रक्षक, उत्कृष्ट खेलाडी, उत्कृष्ट डिफेन्डर, उत्कृष्ट स्ट्राइकर, उत्कृष्ट मिडफिल्डर, उदयमान खेलाडी, अनुशासित खेलाडी र बेस्ट कोचरलाई पनि नगद पुरस्कार प्रदान गरिनेछ ।

प्रतियोगिताका विजेता र उपविजेता टिमलाई किराँत धर्मगुरु आत्मानन्द लिङदेनको ६६ औँ शुभजन्मोत्सवमा १८ मंसिरमा पुरस्कार वितरण गरिने आयोजकले जनाएको छ । आत्मा–पवित्र हक्चातयक्चुमको आयोजनामा हुने उक्त प्रतियोगिता सम्पन्न गर्न करिब १७ लाख रुपैयाँ खर्च लाग्ने अनुमान गरिएको छ । धर्मगुरु लिङ्देनको जन्मोत्सवमा वर्सेनि माङसेबुङमा आत्मानन्द कप खेलकुद प्रतियोगिता सञ्चालन हुँदै आएको छ ।

प्रतिक्रिया