भारतमा ‘ब्ल्याक विडो’

न्युयोर्क । हलिउड अभिनेत्री स्कारलेट जोहान्सनको नयाँ चलचित्र ‘ब्ल्याक विडो’ अमेरिकाभन्दा पहिले भारतमा प्रदर्शन हुने भएको छ ।

‘एभेन्जर्स’ को चर्चित पात्र ब्ल्याक विडोको कथामा आधारित यो चलचित्र आगामी ३० अप्रिलमा भारतमा सार्वजनिक हुने भएको हो । हिन्दी, अंग्रेजी, मलायम, तमिल, तेलेगु र कन्नड गरी ६ भाषामा यो चलचित्र सार्वजनिक हुने निर्माण पक्षले जनाएको छ ।

‘ब्ल्याक विडो’ मा नताशा रोमानोफको विगतलाई देखाइएको छ । यो चलचित्र ‘एभेन्जर्सः एन्डगेम’ पछि मार्भलको नयाँ काम हो । ‘आइरन म्यान’ अर्थात् रोबर्ट डाउनी जुनियर र अरू सुपरहिरो पनि ‘ब्ल्याक विडो’ मा देखाइएको छ ।
डिज्ने भारत, स्टुडियो इन्टरटेनमेन्टका प्रमुख बिक्रम दुग्गलले केही वर्षयता मार्भल फिल्मले भारतीय मनोरञ्जन क्षेत्रमा निकै प्रभाव पारेको

बताएका छन् । उनले भने, ‘चाहे आइरन म्यान होस्, क्याप्टेन अमेरिका लगायतले यहाँका दर्शक तानेका छन् । अझ नयाँ सुपरहिरो ब्ल्याक प्यान्थर, डक्टर स्ट्रेन्ज र क्याप्टेन मार्भल समेत लोकप्रिय छन् ।’ उनले ‘ब्ल्याक विडो’ त भारतमा धेरै चर्चित भएको जनाएका छन् । उनका अनुसार चलचित्रमा नतासा रोमानोफ जासुस, व्यवसायिक हत्यारा र एभेन्जर भए पनि उनको पात्र रहस्यमयी छ ।

उनले थपे, ‘फ्यानहरू उनको कथा जान्न चाहन्छन् । भारतीय फ्यानले अमेरिकाभन्दा पहिल्यै उनको कथा थाहा पाउनेछन् । यो हाम्रो लागि खुसीको कुरा हो ।’

प्रतिक्रिया