राष्ट्रपतिबाट जन्तीको स्वागत

जनकपुरधाम । राष्ट्रपति विद्यादेवी भण्डारीले सीताराम विवाह महोत्सवअन्तर्गत भारतको अयोध्याबाट आएको प्रतीकात्मक भगवान् रामको जन्तीलाई जनकपुरधाममा स्वागत र सम्मान गरेकी छन् ।

सीताराम विवाह महोत्सव–२०७६ मूल समारोह समितिद्वारा जनकपुरधामको बाह्रबिघा (रंगभूमि) मा आयोजित विशेष समारोहमा राष्ट्रपति भण्डारीले जन्तीलाई स्वागत सम्मान गर्दै प्रतीकात्मक रूपमा रहेका सीता र रामलाई टीका लगाइदिइन् । उनले प्रतिकात्मक मिथिला राजा जनककी धर्मपत्नी सुनयनालाई पनि सम्मानलाई गरेकी थिइन् ।

गोस्वामी तुलसीदासद्वारा लिखित ‘रामचरित्मानस’ अनुसार त्रेतायुगमा बाह्रबिघामा नै धनुष यज्ञ हुँदा भगवान् रामले धनुषमा ताँदो चढाउँदा शिवधनुष खण्डित भएको थियो । सो अवसरमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेशकुमार भट्टराईले सीतारामको विवाहबाट सुसंस्कारित मिथिला भूमिमा आयोजना हुने गरेको सीताराम विवाहपञ्चमी महोत्सव दुई मुलुकबीचको सेतु बन्न पुगेको बताए ।

त्रेतायुगदेखिको अवध र मिथिलाबीचको सांस्कृतिक सम्बन्ध इतिहासमा सधैँ अविस्मरणीय रहने उल्लेख गर्दै उनले नेपाल र भारतको सांस्कृतिक तहमा विकसित अटुट सम्बन्धलाई सधैँ कायम राख्नु जरुरी रहेको बताए । भूमि व्यवस्था, सहकारी र गरिबी निवारणमन्त्री पद्माकुमारी अर्यालले सांस्कृतिक र कूटनीतिक हिसाबले महत्वपूर्ण रहेको सीताराम विवाहपञ्चमीलाई उच्च सम्मान गर्नुपर्ने औँल्याइन् ।

प्रदेश–२ का मुख्यमन्त्री लालबाबु राउतले नेपाल भारतबीच त्रेतायुगदेखिको बेटीरोटीको सम्बन्धलाई निरन्तरता दिन आवश्यक रहेको औँल्याए । प्रदेश–२ का भौतिक पूर्वाधार तथा विकासमन्त्री जितेन्द्र सोनलले सीतारामको चरित्र उन्नत र संस्कारित समाजका लागि प्रेरणादायी रहेको बताए ।

अयोध्याबाट आएका प्रतीकात्मक दशरथको भूमिकामा रहेका कन्हैया दासले रामको चरित्रलाई दिगो बनाउन सीताको अहम् भूमिका रहेको बताउँदै सीतारामको आदर्श मानवीय सभ्यता र संस्कृतिका लागि शिक्षाप्रद रहेको प्रसंग उल्लेख गरे ।

नेपालका लागि भारतीय राजदूत मञ्जीभसिंह पुरीले नेपाल भारतको सम्बन्ध धार्मिक, सांस्कृतिक एवं प्राकृतिक भएको बताए । मूल समारोह समितिका संयोजक एवं जानकी मन्दिरका महन्त रामतपेश्वर दासको अध्यक्षतामा भएको सो समारोहमा जनकपुरधाम उपमहानगरपालिका प्रमुख लालकिशोर साह र जानकी मन्दिरका सहायक महन्त रामरोशन दासले महोत्सवको उपादेयता बारे प्रकाश पारेका थिए । सो अवसरमा मिथिला नाट्य कला परिषद्का कलाकारद्वारा जानकी लीला (फूलावारी प्रसंगदेखि स्वयंवर)को प्रस्तुति भएको थियो ।

प्रतिक्रिया