चीनले दियो अमेरिकालाई कडा चेतावनी

एजेन्सी । हङकङमा जारी प्रदर्शनका सवालमा चीन र अमेरिकाबीच द्वन्द्व बढेको छ । हङकङका प्रदर्शकारीको समर्थनमा अमेरिका वैधानिक रुपमै उत्रिन थालेपछि चीनले कडा आपत्ति जनाएको छ । चीनले अमेरिकालाई चेतावनी दिदैँ हङकङका प्रदर्शनकारीमाथि समर्थन जारी राखेमा कडा जवाफी कदम उठाइने बताएको छ ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले हङकङमा भइरहेको प्रदर्शनलाई समर्थन गर्नेगरी मानवअधिकार तथा प्रजातन्त्रसम्बन्धी एक विधेयकलाई स्वीकृत गरेका थिए । उक्त कानुनअनुसार अमेरिकालाई चीनबाट हङकङ स्वायत्त रहिरहोस् भन्ने उद्देश्यले वार्षिक समीक्षा गर्ने वैधानिक बाटो खुल्नेछ ।

अमेरिकाको सो कदमपछि चिनियाँ विदेश मन्त्रालयले प्रतिक्रिया जनाउँदै अमेरिकाले तथ्यहरुलाई नजरअन्दाज गर्नुका साथै तोडमोड गरेर पेश गरेको आरोप लगाएको छ । चिनियाँ विदेश मन्त्रालयका प्रवक्ताका अनुसार अमेरिका आगजनी, तोडफोड र सामाजिक व्यवस्थालाई हानी पु¥याइरहेका हिंस्रक अपराधीहरुको खुलेआम समर्थनमा उत्रिएको छ । अमेरिका यही बाटोबाट अघि बढ्ने हो भने चीनले पनि जवाफी कदम उठाउने चीनको चेतावनी छ ।

अमेरिकी विधेयकमा के छ ?

हङकङमा सरकार विरोधी प्रदर्शन सुरुवाती चरणमै रहँदा अमेरिकामा उक्त विधेयक पेश गरिएको थियो । गत महिना लगभग सबै अमेरिकी सांसदले उक्त विधेयकको समर्थन गरेका थिए । विधेयकमा भनिएको छ, ‘हङकङ चीनको हिस्सा हो । तर, यसको कानुनी र आर्थिक व्यवस्था केही हदसम्म चीनबाट अलग छ ।’

वार्षिक समीक्षामार्फत चीनबाट हङकङको नागरिक स्वतन्त्रता हनन् भए–नभएको, हङकङमा नियमअनुसार नै शासन चले–नचलेको जस्ता विषयमा अमेरिकी दृष्टिकोण बनाउने विधेयकको मुख्य उद्देश्य हो । अमेरिकाले हङकङको स्यायत्तता कायम रहेर उसको विशेष व्यापारिक दर्जा निरन्तर रहोस् भन्ने चाहेको छ । हङकङलाई प्राप्त विशेष व्यापारिक दर्जाका आधारमा उसले चीनविरुद्धको कुनै प्रकारको प्रतिवन्ध या व्यापार शुल्क वृद्धिको मार खेप्नुपर्ने छैन ।

विधेयकले हङकङमा अहिंस्रक प्रदर्शन गरेका सबै प्रदर्शनकारीलाई अमेरिकाको प्रवेषाज्ञा लिन अनुमति दिन्छ ।विश्लेषकहरुका अनुसार अमेरिका र चीनबिच भइरहेको व्यापार युद्धपछि यो अर्को तनावपूर्ण विषय हो । यसले व्यापार युद्ध अन्त्यका लागि भइरहेको प्रयासलाई पनि प्रभावित पार्न सक्छ ।

चीनको विदेश मन्त्रालयले बेइजिङस्थित अमेरिकी राजदूतलाई बोलाएर चीनको आन्तरिक मामिलामा हस्तक्षेप नगर्न चेतावनी दिएको छ । हङकङ सरकारले पनि अमेरिकी विधेयकले गलत सन्देश जाने टिप्पणी गरेको छ । हङकङमा भइरहेको प्रदर्शनमा आवद्ध अभियन्ता जोशुआ वाङ्गले भने अमेरिकी कानुन हङकङका सबै नागरिकका लागि ठूलो उपलब्धि भएको बताए ।

प्रतिक्रिया