‘राइज अप’ प्रदर्शनी हुँदै

अमेरिका । लसएन्जल्सका युवाको समूहले निर्माण गरेको ‘राइज अप’ वृत्तचित्र प्रदर्शन हुने भएको छ । ३० नोभेम्बरदेखि १ डिसेम्बरसम्म हुने चौथो संस्करणको ‘ग्लोबल नेपाली फिल्म अवार्ड’ कार्यक्रममा उक्त वृत्तचित्र प्रदर्शन हुने भएको हो । सन्फ्रान्सिस्कोस्थित बर्कलीको युसी थिएटरमा प्रदर्शनी हुने उक्त वृत्तचित्रमा सन्देश थापा र नेपाली मुलकी दिब्ना थापाको मुख्य अभिनय छ ।

युनिभर्सिटी अफ क्यालिफोर्निया लसएन्जल्समा अभिनय अध्ययनरत् तथा मोेडलिङका प्रशिक्षार्थी थापा र बेभेर्ली हिल्समा दुईवर्षे अभिनय कोर्स पूरा गरी केही अन्तर्राष्ट्रिय विज्ञापनमा समेत अभिनय गरिसकेकी थापाले वृत्तचित्रलाई जीवन्त बनाएका छन् । उक्त वृत्तचित्रको एस राज प्रोडक्सनमा सन्जय कार्कीको छायांकन रहेको छ । शंकरराज वाग्लेले निर्देशन गरेको वृत्तचित्रमा बर्निन २०२० को फिल्ड अर्गानाइजर सुस्मिक लामाले संयोजन गरेकी छन् । त्यसैगरी वृत्तचित्रमा पेन्सिलभेनिया निवासी युवा साजन लामा, मिस नेपाल क्यालिफोर्नियाका सेकेन्ड रनरअप अनिसा ओली, आशुतोष ओली, लसएन्जल्स निवासी मोडल तथा युवा व्यवसायी श्याम सेढाई, सामाजिक अभियन्ता टेक वाइबा लामा, साउथ एसियन नेटवर्ककी सामाजिक कार्यकर्ता नुतन काफ्ले र सामाजिक अभियन्ता विष्णु राउत, निरता कार्की र इरानी कलाकार डोरिन टविवियनको अभिनय रहेको निर्देशक वाग्ले जानकारी दिए ।

वृत्तचित्रको कथावस्तु सञ्चारकर्मी डोल्मा लामाले लेखेकी हुन् । उनले महिला हिंसाका घटनालाई पर्दामा उतार्ने तथा सामाजिक सञ्जालमार्फत जनचेतना जगाउने उद्देश्यले वृत्तचित्र निर्माण गरेको बताइन् । यस समूहले अन्तर्राष्ट्रिय डायस्पोरामा घटिरहेका वास्तविक घटना तथा सामाजिक विकृतिसँग जोडिएका विषयलाई जनचेतना जगाउन विभिन्न भिडियो निर्माण गर्दै आइरहेको छ ।

उक्त अवार्ड कार्यक्रम नेपाली चलचित्र समाज, गोल्डेन स्टेट मुभि मेकर, हिमालय फाउन्डेसन कर्पोरेसन लगायतका अन्य विभिन्न संस्थाको संयुक्त आयोजनामा हुन लागेको हो । नेपाली चलचित्र उद्योगका ख्यातिप्राप्त कलाकार लगायत नयाँ प्रतिभाशाली कलाकार उपस्थित हुने उक्त कार्यक्रमलाई ‘आफ्नै नाम, शान र पहिचान’ का रूपमा चिनाउने कोशिस गरिएको छ । अवार्ड कार्यक्रमलाई नेपाली कलाकारको कुम्भमेलाको रूपमा समेत हेरिएको छ । नेपाल तथा अमेरिकामा रहेका कलाकारको जमघट हुने ‘ग्लोबल नेपाली फिल्म अवार्ड’ ले नेपाली चलचित्रको अन्तर्राष्ट्रियरूपमा प्रवद्र्धन हुने आयोजकले जनाएको छ । त्यस्तै, अमेरिकामा बसोबास गर्ने चलचित्रकर्मी र नेपालबाट कलाकार, निर्माता तथ निर्देशकको उपस्थिति अवार्डमा ‘नेपाली सिनेमा भिलेज टु ग्लोब’ नारासहित नेपाली चलचित्रकर्मीलाई सम्मान, पुरस्कार र प्रोत्साहन गर्ने आयोजक यज्ञलाल श्रेष्ठले बताए ।

प्रतिक्रिया